Header Ads

ज्योतिषशास्त्रमा वृष्टि विचार

खुमाकान्त रेग्मी
सह–प्राध्यापक
जनता विद्यापीठ, बिजौरी, दाङ ।

अत्रं जगतः प्राणाः प्रावृट्कालस्य चात्रामायत्तम् ।
यस्मादतः परीक्ष्यः प्रावृट्कालः प्रयत्नेन । । (बृहत्संहिता, अ.२१, श्लो.१)
संसारको प्राण अत्र हो, त्यो अत्र वर्षाऋतुको अधीनमा छ । अतः यत्नपूर्वक वर्षाऋतुको परीक्षा गर्नु पर्दछ । गीतामा पनि यज्ञ, वर्षा, अत्र र जीवको परस्पर अन्योन्याश्रय सम्बन्ध रहेको कुरा उल्लेख भएको छ –
अत्राद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्मसमुवः । । (गीता, अ.३, श्लो.१४)
    यसकारणले वृष्टिको अभावमा मानवादिको सृष्टिको कल्पना असम्भव छ । जस्तै– “कलावत्रगताः प्राणाः” । अन्न उत्पादन गर्न वृष्टिको समय ज्ञान हुनु अत्यावश्यक छ । वर्षाको ज्ञान भयो भने तदनुरूप कृषिवालीको योजनाद्वारा उत्पादनमा बृद्धि हुन सक्दछ । ज्योतिषशास्त्रको ऋतु विज्ञान शाखामा भावी वृष्टि, अल्पवृष्टि, अतिवृष्टि, हावा, हुरी, दुर्दिन आदिको परिज्ञान गर्नको लागि अनेकानेक विधिहरू वर्णन गरिएका छन् । ती सबै विधिहरूको उपयोग सूक्ष्मरूपमा भएको पाइँदैन । केही सामान्य विधिहरू हाम्रा पञ्चाङ्गकार तथा ज्योतिषीहरूले प्रयोग गरेको पाइन्छ । यहाँ हाम्रा पूर्वज ज्योतिर्विद्हरूद्वारा वर्णित, वृष्टि–ज्ञान गर्ने विधिको प्रकाश पार्ने प्रयास गरिएको छ ।

वृष्टिमा सूर्यको भूमिका –
    सूर्य पृथ्वीमा स्थित जललाई जुनरूपमा आफ्नो किरणगत उष्माद्वारा वाष्पमा परिवर्तित गरेर आकाशमा सर्वत्र सञ्चयन गर्दछ त्यसलाई वाष्पीकृत जल या मेघ भनिन्छ । समुद्र, नदीहरू, तलाउ एवम् झरनाहरूको जल तथा अन्य सबै प्रकारका जलहरूलाई सूर्यका किरणहरूले अनवरत वाष्पीकरण गरिरहन्छन र वाष्पीकृत जलको संचयन अन्तरिक्षमा अनवरत भइरहन्छ । वायुद्वारा त्यो जल वाष्पको रूपमा विभिन्न स्थानमा फैलिन्छ । वर्षा ऋतुमा यही सङ्कलित जलवाष्प पानीको रूपमा, उँचा पर्वतहरूमा बरफको रूपमा समय–समयमा पृथ्वीमा वर्षिन्छ । जति जल पृथ्वीमा वर्षन्छ, त्यतिनै वाष्पमा परिणत पनि हुन्छ ।
गर्भ लक्षणकालको ज्ञान –
    मार्गशुक्ल प्रतिपदादेखि जब चन्द्रंमा पूर्वाषाढा नक्षत्रमा रहन्छ त्यस समयदेखि गर्भको लक्षण विचार गर्नु पर्दछ –
मार्गशिरः सितपक्षप्रतिपत्प्रभृति क्षपाकरे∙षाढाम् ।
पूर्वां वा समुपगते गर्भाणां लक्षणं ज्ञेयम् । । (बृ.सं.,अ.२१ श्लो.६)
वायु, सेतो बादल, बिजुली,गर्जना र अल्पवृष्टि आदिद्वारा मेघले गर्भधारण गर्दछ भन्ने बुझ्नुपर्दछ ।

गर्भ लक्षणद्वारा वृष्टि समयको विचार –
    चन्द्रमा जुन नक्षत्रमा रहँदा मेघको गर्भधारण भएको छ त्यो दिनदेखि चान्द्रमानले १९५औं दिनमा त्यही नक्षत्र आउँदछ र त्यसै दिन मेघको वृष्टि हुन्छ भनेर वराहमिहिरले लेखेका छन् –
यन्नक्षत्रमुपगते गर्भश्चन्द्रे भवेत्स चन्द्रवशात् ।
पञ्चनवते दिनशते तत्रैव प्रसवमायाति । । (पूर्वत्ः श्लो.७)
    गर्भ प्रसव कालको बारेमा समाससंहितामा पनि यस्तै मत लेखिएको छ । यदि गर्भ शुक्लपक्षमा भए कृष्ण पक्षमा, कृष्ण पक्षमा भए शुक्ल पक्षमा, दिनमा भए रात्रिमा, रात्रिमा भए दिनमा, पूर्वसन्ध्यामा भए पश्चिम सन्ध्यामा, पश्चिम सन्ध्यामा भए पूर्व सन्ध्यामा प्रसव हुन्छ । त्यस्तै प्रकारले यदि गर्भकालमा मेघ पूर्वदिशामा भए प्रसवकाल पश्चिममा एवं वायुको पनि गर्भ र प्रसवकालमा पूर्वादि दिग्वैपरीत्यमा हुने कुरा बुझ्नु पर्दछ ।

गर्भ सम्भवासम्भवलक्षण –
गर्भ स्थितिकालमा वायु, मेघ, चन्द्र, सन्ध्या, उत्पातरहित ग्रहहरूको स्थिति, मनुष्य र पशुपक्षीमा प्रसन्नता र चराचरमा समेत शुभ लक्षण देखिएमा गर्भ पुष्ट हुनेछ । यदि गर्भकालमा उल्कापात, विद्युत, इन्द्रधनुष र ग्रहण आदिको दर्शन एवं ऋतुस्वभाव विपरीत आदि लक्षण देखिएमा गर्भको हानि हुन्छ । गर्भहानिको लक्षण देखिएमा अर्को गर्भकालीन समयको लक्षणद्वारा वृष्टिज्ञान गर्नु पर्दछ ।


















वृष्टि–विज्ञान सारणीबाट वर्षाकाल जान्ने विधि –
    दिसम्बर, जनवरी, फरवरी, मार्च र अप्रैल यी महिनाका तारिखहरूमा जुन–जुन तारिखमा जहाँ–जहाँ वर्षा हुन्छ त्यसको हिसाबले नै वर्षाऋतुमा जुलाई, अगस्त, सितम्बर, अक्टुबर तथा १५ नवम्बरसम्मका महिनाहरूमा त्यहाँ–त्यहाँ प्रायः वर्षा हुने गर्दछ । जस्तै कुनै ठाउँमा १ जनवरीमा वर्षा भयो भने त्यस ठाउँमा १४ जुनमा वर्षा हुन्छ । यस्तै प्रकार कुनै ठाउँमा शीतकालमा ३१ जनवरीमा वर्षा भयो भने वर्षाकालमा त्यो ठाउँमा १४ अगस्तमा वर्षा हुन्छ । एवम् १८ फरवरीमा शीतकालमा वर्षा भएको ठाउँमा वर्षाकालमा १ सितम्बरमा वर्षा हुन्छ । वर्षा ज्ञानको लागि शीतकालमा हुनेवाला वर्षाको तारिख र समय टिपेर राख्ने र वर्षाकालमा वर्षा हुने तारिख र समयको मिलानगरी प्रत्येक वर्ष विचार गर्नाले वर्षाको यथार्थ तारिख र समय ज्ञान गर्न सकिन्छ ।
ग्रहहरूको राशिसंक्रमण, उदय, अस्त आदिद्वारा वृष्टि विचार –
(क)     ग्रहहरूको उदय, अस्त, राशिसंक्रमण, क्रान्ति परिवर्तन र युतिको समय तथा पक्ष क्षय, अमावस्या र पूर्णिमामा तथा अयन संक्रान्ति वा आद्र्रामा सूर्य प्रवेश गर्दा प्रायः वर्षा हुने गर्दछ –
    प्रायो ग्रहाणामुदयास्तकाले समागमे मण्डलसंक्रमे च ।
    पक्षक्षये, तीक्ष्णकरायनान्ते वृष्टिर्गते∙र्के नियमेन चाद्र्राम् । ।
                (अच्युतानन्द झा, (सम्पादक) बृहत्संहिता, पृ.१६१)
(ख)     मंगले राशि संक्रमण गर्ने समयमा चन्द्रमा जलचर राशि–(कर्क, मकर र मीन) मा भएमा वर्षाऋतुमा मेघ पृथ्वीमा शीघ्र वर्षा गर्दछ ।
(ग)     बृहस्पति र बुधको राशि संक्रमणको समयमा, शनिको वक्री, मार्गी, राशिसंक्रमण, उदय र अस्तको समयमा र शुक्रको उदय र अस्त हुने समयमा अयन संक्रान्ति वा आद्र्रामा सूर्य प्रवेश गर्दा मेघले चाढै नै चारै तर्फ वर्षा गर्दछ ।
मतान्तर –
    उदयास्तगतः शुक्रो बुधश्च वृष्टिकारकः ।
    चलत्यङ्गारके वृष्टिस्त्रिधा वृष्टिः शनैश्चरे । ।
    बुध र शुक्रको उदित अस्तको अवस्थामा मंगलले राशि संक्रमण गर्दछ र शनिको त्रिधा गति (वक्री–मार्गी संक्रमण अथवा उदयास्त संक्रमण) को समयमा वृष्टि हुन्छ । एवम् –
    चलत्यङ्गारके वृष्टिरुदये च बृहस्पतौ ।
    शुक्रास्तसमये वृष्टिस्त्रिधा वृष्टिः शनैश्चरे । ।
मंगलले राशि संक्रमण गर्दा बृहस्पतिको उदय, शुक्रास्त र शनिको उक्त तीन प्रकारको सञ्चार भयो भने वर्षा हुन्छ ।
(घ)     वारिपूर्णा महीं कृत्वा पश्चात्सञ्चरते गुरु ।
     शुक्रे वास्तमिते मन्दे त्रिविधो∙पि प्रजायते । ।
    बृहस्पतिको राशि संक्रमण पछि, शुक्र र शनि अस्त हुनुभन्दा पहिला पृथ्वीमा वर्षा हुन्छ ।
(ङ)     शुक्रस्यास्तमये वृष्टिरिज्ये चोदयमागते ।
     सञ्चरत्यवनीसूनौ वृष्टिर्मन्दे त्रिधा मता । ।
    शुक्रको अस्तमा सामान्य वृष्टि, बृहस्पतिको उदयमा मध्यम, मंगल र शनिको सञ्चारमा उत्तम यसरी तीन प्रकारले वर्षा हुन्छ ।
(च)     क्रूर ग्रह अतिचारी भएमा थोरै र शुभग्रह वक्री भएमा धेरै वर्षा हुन्छ ।
(छ)     यदि बुध वक्री भएर शुक्रलाई छाडी पछि फर्केमा पाँच–सात दिन वर्षा
हुन्छ ।
(ज)     उदय र अस्त भइरहेको ग्रहलाई बृहस्पतिको पूर्ण या त्रिपाद दृष्टि भयो भने अवश्य वर्षा हुन्छ ।
(झ)     सूर्यागे्र च यदा शुक्रस्तदा वृष्टिः सुशोभना ।
    सूर्यको अगाडि शुक्र र पछाडि बृहस्पति भएमा राम्रो वर्षा हुन्छ ।
(ञ)     बुध र शुक्रको उदय र अस्तको समयमा चन्द्रमा जलचर राशिमा एवं अमावस्या र पूर्णिमा तथा संक्रान्तिको समय प¥यो भने प्रायः वृष्टि हुन्छ ।
(ट)     शुक्रले नक्षत्र प्रवेश गर्ने समयमा शुक्रदेखि चन्द्रमा ४, ७ र ८ राशिमा वा चन्द्रमा जलराशिको भई शुक्रदेखि ५, ७ र ९औं भएमा राम्रो वर्षा हुन्छ ।
(ठ)     शनिबाट त्रिकोण या केन्द्रानुवर्ती सौम्यग्रह जलराशिमा भएमा अथवा शुक्रदृष्ट भएमा राम्रो वर्षा हुन्छ ।
(ड)     सूर्य आद्र्रा नक्षत्रमा आउँदा, चन्द्रमा, मङ्गल र बृहस्पति सप्तनाडीचक्रको एउटै नाडीमा परे भने पृथ्वी जलप्लावित हुन्छ । वर्षाकालमा चन्द्रमा मंगल र बृहस्पति एक राशिमा भएमा मेघले राम्रो वर्षा गर्दछ । गुरु मंगलको राशिनक्षत्र योग (मतान्तरले प्रति योग) चतुर्मासमा वृष्टि रोेग्दछ, किन्तु वसन्तादि अन्य ऋतुमा यही योग (प्रति योग) वृष्टि गर्दछ । यस्तै प्रकारले वर्षा ऋतुमा बुध, बृहस्पति र शुक्रमा कुनै दुईओटाको युति होस् र तेस्रोको तिनीहरूमा दृष्टि रह्यो भने उत्तम वर्षा, दृष्टिको अभावमा केवल युति भएमा सामान्य वृष्टि हुन सक्दछ । उक्त योग गर्नेवाला ग्रहको साथ सूर्य हुनु हुँदैन । जुन समयमा सूर्यले ग्रहलाई नाघेर अगाडि बढ्द छ त्यो ग्रहको अगाडि तीन राशिसम्म कुनै ग्रह नहोस् अथवा सूर्यलाई नै नाघेर ग्रह अगाडि गयो भने सूर्यको पछाडि तीन राशिमा कुनै ग्रह नभएमा यी दुबै स्थितिमा वृष्टि हुन्छ ।
वर्षाकालमा आद्र्रादेखि स्वातीसम्म सूर्य रहँदा, यदि चन्द्रमा शुक्रदेखि सप्तम स्थानमा अथवा शनिदेखि ५, ७ र ९औं भावमा हुन्छ र चन्द्रमालाई शुभ ग्रहले देख्दछन् भने त्यो समयमा अवश्य वर्षा हुन्छ । वर्षाकालमा पनि बुध र शुक्रको बीचमा सूर्य हुनु, मंगल सूर्यभन्दा अगाडि हुनु र चन्द्र पापाक्रान्त हुनु वृष्टि अवरोधक योग हुन् ।             (ख–ड, ज्योतिष रहस्यबाट उद्धृत)
सप्तनाडी चक्रको आधारमा वृष्टिविचार –
सप्तनाडी चक्र
नक्षत्र    नाडी    स्वामी
कृ.    वि.    अनु.    भ.    चण्डा    शनि, नपुं
रो.    स्वा.    ज्ये.    अश्वि.    वायु    सूर्यः, पुरुषः
म.    चि.    मू.    रे.    दहना    भौम, पुरुष
आद्र्रा    ह.    पू.षा.    उ.भा.    स्यौम्या    गुरु, पुरुष
पुन.    उ.फा.    उ.षा.    पू.भा.    नीरा    शुक्र, स्त्री
पुष्य    पू.फा.    अभि.    श.    जला    बुध, नपुं
आश्ले    मघा    श्र.    ध.    अमृता    चन्द्र, स्त्री

आकाशीय नक्षत्रमण्डलका २८ नक्षत्र– (अभिजित सहित) लाई प्राचीन आचार्यहरूले ७ नाडीहरूमा विभाजित गरेका छन् । ती नाडीहरूको नाम र स्वामी प्रत्येक नाडीका अन्तर्गतका नक्षत्रका साथ चक्रमा दिइएको छ । दुई या अधिक ग्रह जब कुनै एक नाडीमा एकत्रित भए भने ती ग्रहहरूद्वारा त्यो नाडीको वेध हुन्छ । एक नाडीका नक्षत्रहरू मध्ये जुनसुकै नक्षत्रमा ग्रहहरू भए पनि ती ग्रहहरू एक नाडीमा योग भएको मानिन्छ । यदि दुई वा अधिक पापग्रह अथवा दुई वा अधिक शुभग्रह चण्डा नाडीमा परे भने धेरै हुरी (वायु), वायुनाडीमा विशेष वायुवेग र दहना नाडीमा पृथ्वीमा चारैतर्फ महादाह एवम् नाडीको अनुरूप जस्तै – स्यौम्यामा शुभ, नीरामा जल, जलामा जल र अमृतामा शुभफल ग्रहयोग प्रदान गर्दछन् ।
सौम्यानाडीमा यदि दुई आदि ग्रह रहे भने मध्यम फल दिन्छन् । नीरा नाडीमा भएमा मेघवाहक (मेघाडम्बर गर्ने वाला) हुन्छन् । चन्द्रमा यदि जला नाडीमा आयो भने वृष्टिकारक हुन्छ । चन्द्रमाको नाडी– (अमृता)मा एउटा पनि कुनै ग्रह रह्यो भने वर्षाकालमा वृष्टिकारक नै हुन्छ । ग्रहहरू आफ्नो–आफ्नो नाडीमा आए भने आफ्नो–आफ्नो फल दिन्छन् । अन्य नाडीमा अन्यनाडीको समान फल दिन्छन् । किन्तु मंगल प्रत्येक नाडीमा उसको नाडीको समान नै फल दिन्छ ।
विशेष यो थाहा पाउनु पर्दछ कि कुनै पनि एक ग्रह केवल आफ्नो नाडीमा फलकारक हुन्छ । जब दुईभन्दा अधिकग्रह कुनै नाडीमा आए भने त्यस नाडीको फल दिन्छन् । तर मंगल एक्लै हरेक नाडीमा त्यो नाडीको अनुरूप फल दिन्छ ।
चन्द्रमा जुन नाडीमा हुन्छ त्यसैमा यदि अरु ग्रह मिश्रग्रहहरू (शुभ र पापग्रहहरू) भन्दा भिन्न ग्रहहरूले बेधित भयो भने त्यो दिन उत्तम वृष्टि हुन्छ । एक नाडीमा ४–४ नक्षत्र हुन्छन् । यस कारण नाडीका कुनै एक या अलग–अलग नक्षत्रहरूमा पनि ग्रह रहनाले “वेध” मानिएको छ ।
कुनै नाडीका ४ नक्षत्रहरू मध्ये कुनै एक नक्षत्रमा चन्द्रमा रहोस् तथा उही नक्षत्रमा क्रूर र सौम्य ग्रह भएमा त्यसै दिन वर्षा हुन्छ । एक नक्षत्रमा त्रूmर–ग्रह र सौम्य–ग्रह भएमा जति समयमा ती ग्रहहरूको साथमा चन्द्रमाको अंशात्मक योग रहन्छ तबसम्म महावृष्टि हुन्छ । जुन नाडीमा केवल पापग्रह या शुभग्रह रहन्छ । त्यस नाडीमा चन्द्रमाको संचार भएपछि अत्यल्प वृष्टि हुन्छ या दुर्दिन हुन सक्दछ । जुन नाडीमा उसको स्वामी ग्रह रहन्छ त्यो नाडीमा अक्षीण चन्द्रले युक्त वा दृष्ट भएमा वर्षा हुन्छ । यदि अमृता नाडीमा सौम्य र त्रूmर ग्रहहरूको साथ चन्द्रमाको योग भएमा एक, तीन या सात दिनमा, दुई, चार या पाँच पटक जलवर्षा हुन्छ ।
यस्तै प्रकारले जलनाडीमा सौम्य र क्रूरग्रहहरूको साथ चन्द्रमा भएमा दुईप्रहर, एक दिन या पाँच दिनसम्म वर्षा हुन्छ । नीरा नाडीमा क्रूर र सौम्य ग्रहहरूको साथ चन्द्रमाको योग भएमा एक प्रहर, डेढ दिन अथवा तीन दिनसम्म वर्षा हुन्छ । एक नक्षत्रमा चन्द्रमा र ग्रहहरूको योग हुँदा, जुन दिन अंशतुल्य चन्द्रमा जबसम्म रहन्छ तबसम्म धेरै वर्षा हुन्छ ।
दुईओटा पुरुष ग्रहहरूको परस्पर वेध हुँदा चारैतर्फ केवल हावा चल्दछ । स्त्री ग्रह र पुरुष ग्रहको परस्पर वेधमा वर्षा हुन्छ । दुई नपुंसक ग्रहहरूको वेध हुँदा दुर्दिन (आकाश धूल धूसरित अथवा धूम सदृश बादलहरूले आच्छादित) हुन्छ ।
त्रिनाडी चक्रद्वारा वृष्टि–विचार –       
त्रिनाडी–चक्र
कृतिका    भरणी    अश्विनी
रोहिणी    मृग.    आद्र्रा
आश्ले.    पुष्य    पुन.
मघा    पू–फा.    उ.फा.
स्वाती    चित्रा    हस्त
विशाखा    अनु.    ज्येष्ठा
उ.षा.    पू.षा.    मूल
श्रवण    धनि.    शत.
रेवती    उ.भा.    पू.भा.
पाताल    भूमि    स्वर्ग
                    (ज्यो.र.पृ.७९)
त्रिनाडी चक्रमा ९–९ नक्षत्र स्वर्ग, भूमि र पातालमा रहन्छन् । यदि सबै (शुभ र पाप) ग्रह कुनै एक नाडीमा एकत्रित भए भने अधिकमात्रामा शीघ्र वृष्टि र लगातार वृष्टि भइरहन्छ । यदि बलवान् बृहस्पति र सूर्य एक नाडीमा भए भने सुवृष्टि हुन्छ । पुरुषग्रहको योगमा जलाधिक्यको भय रहन्छ । स्त्री र नपुंसकग्रहको योग भयो भने हिमपात हुने सम्भावना रहन्छ । स्वर्ग नाडीमा पाप र शुभग्रहको योग भएमा शीघ्र ठूलो वर्षा हुन्छ । केवल पापग्रह स्वर्गनाडीमा र शुभग्रह भूमिनाडीमा अथवा एउटै नाडीमा शुभ र पाप दुबै ग्रह आए भने वर्षाकारक हुन्छन् । स्वर्गनाडीमा पापग्रह र पातालनाडीमा शुभग्रह भएमा वृष्टिको अभाव हुन्छ । यदि पाताल नाडीमा पापग्रह र स्वर्गनाडीमा शुभग्रह हुँदा पनि मेघ पृथ्वीमा जलवर्षा गर्दैनन् ।

सूर्य र चन्द्रमाको नक्षत्रको आधारमा वृष्टि–विचार –
                नक्षत्र–सज्ञाबोधक चक्र
चन्द्र, पुरुष    अश्वि.,भ.,कृ.,पू.षा., उ.षा., श्र.,ध., उ.भा.,रे.
सूर्य,स्त्री    पू.फा., उ.फा., हस्त, चि., स्वा.
चन्द्र, स्त्री    आद्र्रा, पुन., पुष्य, आश्ले., म.
सूर्य, पुरुष    रो., मृग., मू., शत., पू.भा.
सूर्य, नपुंसक    वि., अनु., ज्ये.
                        (ज्यो.र.,पृ.८०)
    सूर्य र चन्द्रमाको नक्षत्रको आधारमा वर्षा ज्ञानहेतु नक्षत्रहरूलाई स्त्री, पुरुष र नपुंसक संज्ञामा विभक्त गरिएका छन् । ती मध्ये केही सूर्यका र केही चन्द्रमाका नक्षत्र मानिएका छन् । वर्षाकालका आद्र्रादि १० नक्षत्र मुख्य मानिएका छन् । सूर्य नक्षत्र र चन्द्रमा रहेको वर्तमान नक्षत्रको चक्रबाट संज्ञा ज्ञान गरी निम्नानुसार
फल निश्चित गर्नु पर्दछ । जस्तै ः सूर्य–सूर्य योग – वायु प्रवाह । चन्द्र–चन्द्र योग – अवृष्टि । सूर्य–चन्द्र योग – दिनमा भए सामान्य, रातीमा भए विशेष वर्षा ।
पुरुष–पुरुष योग – गर्मी हुन्छ । नपुंसक–नपुंसक योग – अत्यन्त गर्मी या हावा चल्ने हुन्छ । स्त्री–स्त्री योग – धेरै वायु या बादल । स्त्री–पुरुष योग – वर्षा ।
उदाहरण – वर्तमानको दिन नक्षत्र चित्रा, चित्रा नक्षत्र सूर्यको नक्षत्र र स्त्री संज्ञक भयो । त्यो दिन सूर्य यदि पुनर्वसुमा प्रवेश गरेको रहेछ भने यो नक्षत्र चन्द्रमाको र स्त्री संज्ञक हो । उपर्युक्त योगफल अनुसार, वर्तमानकालीन सूर्य र चन्द्रमाका नक्षत्र सूर्य र चन्द्रमाको वर्ग परेकाले दिनमा योग भए सामान्य र रात्रिमा भए विशेष वर्षाको योग बनेको भए पनि ती दुबै नक्षत्र स्त्री संज्ञक भएकाले वायु या बादल कारक भए । यसरी विचार गर्दा स्त्री–पुरुष र सूर्य–चन्द्रको योग बनेको भए अवश्य वर्षा हुने थियो ।
कुकुर, गाई, मौरी (मधुमक्षिका) र कमिलाको शुकनद्वारा वृष्टि विचार –
१.     वर्षाकालमा अर्थात् मृगशिरा देखि स्वाति नक्षत्रसम्म सूर्य रहँदा–यदि कुकुर घाँस या भूसको थुप्रोमा चढी त्यहाँबाट देवालयमा चढेर अथवा घरमा चढेर माथि मुख गरी रोयो भने जति ऊँचा स्वरले रुन्छ त्यति नै वर्षा हुन्छ । अन्य नक्षत्र स्थित सूर्यमा अन्यान्य अशुभ फल हुन्छन्, जस्तै ः मृत्यु अधिक हुनु, आगो लाग्नु, रोगको आक्रमण हुनु, आदि । किन्तु वर्षाकालमा अशुभ फल नभएर वृष्टि हुन्छ ।
२.     वर्षाकालमा एक पटक वर्षा भई बन्द भयो, तब यदि कुकुर पानीमा गोलो चक्कर लगाई पानीलाई धेरै जोरले हल्लायो भने अथवा घुम्दै पानी पियो भने १२ दिनभित्र वर्षा हुनेछ ।
३.    हिंडिरहेको गाईलाई निष्कारण कुकुरले रोकी अगाडि जान दिएन भने उसै दिन एक प्रहर भित्रै ठूलो वर्षा हुन्छ । यस्तै प्रकारले मौरीहरू झुण्डमा आई गाईलाई रोक्नमा सफल भए भने उसै दिन एक प्रहर भित्र मौरीहरूको सानो ठूलो झुण्ड अनुसार वर्षा पनि सानो ठूलो हुनेछ ।
४.     वर्षाकालमा कमिलाहरू यदि आफ्नो अण्डा लिएर माथितिर गए भने वर्षा हुन्छ, तर तलतिर लागे भने वर्षिरहेको पानी रोकिन्छ ।                         (१–४ ज्यो.र.पृ.७३)

विभिन्न भू–भागको वृष्टिविचार –
    भारतवर्षलाई मध्यस्थित कल्पना गरेर भारतीय उपमहाद्वीप तथा अन्य देशहरूका मध्य, पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर र ईशान्यका भू–भागलाई क्रमशः कृतिका आदि तीन–तीन नक्षत्रमा कूर्म चक्रानुसार विभक्त गरिएको छ । जस्तै –
१.     भारतवर्षको मध्यभाग – (मध्यप्रदेशका आस–पासका प्रदेश, नागपुर, जवलपुर, भोपाल र उत्तरप्रदेशको दक्षिण–पश्चिमका स्थान आदि) का नक्षत्र–कृतिका, रोहिणी र मृगशिरा ।
२.     पूर्व भाग – (उडिसाको पूर्वीभाग, बंगाल, त्रिपुरा, मणिपुर, बर्मा आदि) का नक्षत्र – आद्र्रा, पुनर्वसु र पुष्य ।
३.     आग्नेय कोण – (श्रीकाकुलम्, बिशाखापट्टनम्, पुरी, भुवनेश्वरम्, पूर्वी बंगालको खाडी, अन्दमान–द्वीप समूह, निकोबारद्वीप समूह, इण्डोनेशिया, आस्ट्रेलिया, न्युजलैंड र वियतनामा आदि) का नक्षत्र आश्लेषा, मघा र पूर्वाफाल्गुनी ।
४.     दक्षिण भागमा पर्ने – (आन्ध्रप्रदेश, तमिलनाडू, कर्णाटक र केरलको दक्षिण–पूर्वी भाग, श्रीलंका र हिन्दमहासागर आदि) देशका नक्षत्र उ.फा., हस्ता र चित्रा ।
५.     भारतवर्षको नैऋत्यभागमा पर्ने – (गोआ, महाराष्ट्रको दक्षिण–पश्चिम भाग, केरलाको उत्तर–पश्चिम भाग, कर्नाटकको दक्षिण–पश्चिम भाग, अरब, दक्षिण–अफ्रिका, अंगोलिया, सोमालिया र केन्या आदि) देशका नक्षत्र – स्वाती, बिशाखा र अनुराधा) ।
६.     पश्चिम भागमा पर्ने – (महाराष्ट्रको उत्तर–पश्चिम भाग, गुजरात, इराक, इरान, नाइजेरिया, लीविया, अल्जिरिया, चाड र माली आदि पश्चिमी देश) का नक्षत्र – ज्येष्ठा, मूल र पूर्वाषाढा ।
७.     वायव्य–कोणमा पर्ने – (बीकानेर, हरियाणा, श्रीनगर, पञ्जाब, जम्मू–कश्मीरको पश्चिमोत्तर भाग, पाकिस्तान, अपगानिस्तान र युरोप आदि) देशका नक्षत्र – उ.षा., श्रवण र घनिष्ठा ।
८.     भारतवर्षको उत्तर–दिशामा पर्ने – (उत्तर प्रदेशको उत्तरी भाग, हिमाचल प्रदेश, जम्मू–कश्मीरको उत्तरपूर्वी भाग, नेपालको पूर्वी भाग बाहेक सबै भाग, चीनको तिब्बत तथा सोवियत संघ र मंगोलियाको पश्चिमोत्तर भाग) देशका नक्षत्र – शत., पू.भा. र उ.भा. ।
९.     ईशान–कोणमा पर्ने – (नेपालको पूर्वी भाग, असामको पूर्वोत्तरी भाग, अरुणाञ्चल प्रदेश, भूटान, दार्जिलिंग, सिक्किम, चीनको पूर्वोत्तर भाग तथा सोवियत संघको र मंगोलियाको दक्षिण–पूर्वी भाग) देशका नक्षत्र – रेवती, अश्विनी र भरणी ।     (१–९, बृहत्संहिता, कूर्मविभागाध्याय) ।
जुन–जुन भू–भागका नक्षत्रहरू ज्योतिषशास्त्रमा वर्णित सर्वतोभद्र चक्रादि अनुसार त्रूmरग्रह विद्ध, त्रूmरयुक्त र दृष्ट हुन्छन् ती प्रदेशहरू अशुभ ग्रहको स्वभावानुकूल नानाप्रकारका अनिष्ट र अनावृष्टि आदि अशुभ फलले ग्रसित हुन्छन् । यस्तै प्रकारले जुन–जुन नक्षत्र अशुभ ग्रहहरूले अदृष्ट, अयुत र वेधरहित भएर शुभग्रहहरूले वेध आदिद्वारा सम्बन्ध राखेका हुन्छन् ती नक्षत्रहरू सँग सम्बन्धित भू–भागमा शुभ ग्रहानुकूल सुवृष्टि, सुभिक्ष, क्षेम, आर्थिक उन्नति, राजनीतिक शुभ र आरोग्यादि शुभफल प्राप्त हुन्छन् । (पूर्ववत्)
आधुनिक मत अनुसार वृष्टि विचार –
आधुनिक मतमा वायुलाई नै वर्षाको मुख्य कारक बताइएको छ । वायुबाट उठेको वाष्पीकृत वायुगतिद्वारा नै वर्षा हुन्छ । यस वायुद्वारा हुने वर्षालाई तीन प्रकारले वर्गीकरण गरिएको छ ।
१.     संवाहनीय वृष्टि –
दिनमा अत्यधिक ऊष्मा भए पछि पृथ्वी तात्दछ, जसले गर्दा वायु तातो भै फैलिन्छ । वायु हलुको भएकाले माथितिर उठ्दछ । वायु जति माथि उठ्दै जान्छ त्यति वायुको तापक्रम घट्दै जान्छ र वायु शीतल हुन्छ । एवम् सापेक्षिक आद्र्रता बढ्न थाल्दछ । यसरी वायु चाँडैनै संतृप्त हुन्छ र पुनः माथि उठे पछि संघनन् प्रारम्भ हुन्छ । यस कारण संघनन्को गुप्त ऊष्मा वायुमा मिल्दछ । जसले गर्दा वायु फेरि माथि उठ्दछ । अन्ततः वायु त्यो सीमासम्म पुग्दछ र ताफक्रम उसको समान हुन्छ । यी अवस्थाहरूमा संघनन्को पछि कपासी वर्षा मेघको निर्माण हुन्छ, र तीव्र वर्षा प्रारम्भ हुन्छ ।
२.     पर्वतीय वृष्टि –
ऊष्ण एवम् आद्र्र हावाहरू जब पर्वतीय भागले अवरुद्ध हुन्छन् र त्यसैको सहयोगमा माथि उठ्दछन् र तापक्रम कम हुन थाल्दछ । जसले वायुको सापेक्षित आद्र्रता बढ्न थाल्दछ र एक निश्चित उंचाइमा पुगेपछि हावा संतृप्त हुन्छ र संघनन् प्रारम्भ हुन्छ, एवम् वृष्टि हुन शुरु गर्दछ ।
३.    चक्रवातीय वृष्टि –
चक्रवातीय वृष्टि शीतोष्ण कटिबन्ध क्षेत्रमा हुन्छ । जहाँ धु्रवीय शीतलता तथा भारी हावा, एवम् हलुको र तातो हावा हुन्छ । जब तातो र चिसो हावा एक आपसमा ठोकिन्छन् तब तातो र कम घनत्व भएको हलुको वायुको शीतलता तथा गह्रुको वायु माथि उठ्दछ एवम् माथि उठेको वायु स्थिर हुन्छ र सुस्त–सुस्त संघनन् प्रांरम्भ हुन्छ । अन्ततः वर्षा प्रारम्भ हुन्छ ।

सन्दर्भग्रन्थ सूची
१.     वराहमिहर, बृहत्संहिता, चौखम्बा विद्याभवन, वाराणसी, ई.१९८८ ।
२.     जोशी, केदारदत्त (सम्पादक), मुहूर्त चिन्तामणि (पीयूषधारा), वाराणसी, मोतिलाल बनारसीदास, द्वि.सं.१९८८ ।
३.     गुप्त, जगजीवनदास, ज्योतिष–रहस्य, वाराणसी, मोतीलाल, बनारसीदास, ई.१९९६ ।
४.     शुक्ल, उमाशंकर (संस्कर्ता), बृहज्ज्यौतिषसार, वाराणसी, ठाकुरप्रसाद पुस्तक भण्डार, कचौडीगली, वाराणसी ।
५.     गुप्ता, आर.डी. नेपाल राष्ट्रिय एटलस, न्यूदिल्ली मैप कम्पनी १०२७५, मानकपुरा, ई.१९८३ ।
Powered by Blogger.