साहित्यशास्त्रमा रस सम्प्रदायको सैद्धान्तिक परम्परा
कृष्णप्रसाद कोइराला
उप-प्राध्यापक
पिण्डेश्वर विद्यापीठ
१. विषयप्रवेश
एउटा प्रसिद्ध वैदिक सूक्ति छ – ती परमात्मा नै रसरूपी आनन्द हुन्।(१) रस संस्कृत भाषाको ‘रस्’ धातुमा ‘अ’प्रत्यय गाँसिएर व्युत्पन्न शब्द हो। यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर्न मिल्ने पदार्थ तत्त्व हो। रसको प्रायोगिक क्षेत्र विविध छन्, दार्शनिक सन्दर्भमा विभिन्न किसिमले रस प्रयुक्त हुन्छ, त्यहाँ यसलाई पदार्थको गुणका रूपमा प्रयोग गरिएको पाइन्छ, आयुर्वेदमा रसलाई अमिलो, पिरो, तितो, टर्रो, गुलियो नुनिलो आदि छ किसिमका स्वादका रूपमा चर्चा गरिन्छ, व्यावहारिक परिप्रेक्ष्यमा रुचि र सन्तुष्टिका सन्दर्भमा यसको प्रयोग हुन्छ भने खाद्यपदार्थका प्रसङ्गमा झोलिलो तरल पदार्थको द्योतन रसले गर्दछ। यी विभिन्न प्रायोगिक सन्दर्भमा रसको उपयोग भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ।
साहित्यमा शास्त्रीय रूपमा रसको विवेचना गर्ने प्रथम आचार्य भरतमुनिलाई मानिन्छ। उनले काव्यको आवश्यक तत्वका रूपमा रसको प्रतिष्ठा गर्दै शृङ्गार, हास्य, रौद्र, करुण, वीर, अद्भुत, बीभत्स र भयानक आदि आठवटा भेदलाई स्पष्टतः उल्लेख गरेका छन् तथा विद्वान्हरू उनैले शान्त नामक नवौं रसलाई पनि स्वीकृति दिएको बताउँदछन्। यिनै हुन् – नवरस। उनले आफ्नो ‘नाट्यशास्त्र’मा रसोत्पत्ति विषयको चर्चालाई यसरी सूत्रबद्ध गरेको पाइन्छ – विभाव, अनुभाव र सञ्चारीभावको संयोगले यी विभिन्न रसको निष्पत्ति हुन्छ वा हृदयको स्थायीभावले विभाव, अनुभाव र सञ्चारीभावको संयोग प्राप्त गर्दा रस रूप निष्पन्न हुन्छ।(२) त्यसैले रसका चारवटा अङ्ग मानिन्छन्– स्थायीभाव, विभाव, अनुभाव र सञ्चारीभाव। प्रत्येक रसको स्थायीभाव बेग्लाबेग्लै छ। त्यसैको विभावादि संयोगले परिपूर्ण हुने निर्विघ्न–प्रतीति–ग्राह्य अवस्थालाई नै रस भनिन्छ।
१.१ आचार्य भरतमुनि र उनको नाट्यशास्त्र
आचार्य भरतमुनि नाट्यशास्त्रका प्रणेता हुन्। यिनको जन्मसमय सम्बन्धमा मतमतान्तर छ, यद्यपि यिनलाई इशापूर्व ५०० र ईशाको १०० को बीचमा मानिन्छ। यिनी असाध्य प्रतिभाशाली थिए। यिनको ‘नाट्यशास्त्र’ संस्कृत नाट्य र काव्यशास्त्रको आदिग्रन्थ हो। यसमा नाट्यशास्त्र, सङ्गीतशास्त्र, छन्दशास्त्र, अलङ्कार, रस आदिको साङ्गोपाङ्ग प्रतिपादन गरिएको छ। ‘नाट्यशास्त्र’ आफ्नो विषयको आधारभूत ग्रन्थ मानिन्छ। भरतमुनिद्वारा रचित नाट्यशास्त्रको पूर्णरूप अहिले उपलब्ध छैन, अहिले उपलब्ध हुने नाट्यशास्त्रमा क्षेपकहरू थपिएको विश्वास गरिन्छ। पूर्वीय साहित्यशास्त्रका वर्तमान समयमा प्राप्त हुने वा उपलब्ध ग्रन्थका साक्ष्यका आधारमा साहित्यको यस परम्पराका प्रतिष्ठापक आदि आचार्य भरतमुनि नै हुन् भन्ने तथ्य निर्विवाद छ, यद्यपि उनको एउटा मात्र ग्रन्थ ‘नाट्यशास्त्र’ उपलब्ध अवस्थामा छ। हुन त नाम सुन्दा यो ग्रन्थ नाट्य विषयक पो हो कि झैं लाग्दछ, तर यो विविध कलाको विश्वकोष नै हो भन्दा अत्युक्ति हुँदैन। आचार्य भरतमुनि स्वयं स्वीकार्दछन् – त्यस्तो ज्ञान, शिल्प, विद्या, कला, योग र कर्म छँदैछैन जुन यस नाट्यग्रन्थमा उल्लेख नभएको होस्।(३)
भरतमुनिको समयका विषयमा विद्वान्का माझमा प्रशस्त मतमतान्तर छ। कतिपयले त यिनलाई काल्पनिक व्यक्तित्व समेत मानेको देखिन्छ। तर विविध प्रमाणलाई नियाल्दा यिनी एकजना ऐतिहासिक पुरुष नै हुन् भन्ने आधार छन्। उनको उल्लेख मत्स्यपुराणमा समेत भएको छ, भनिन्छ – स्वर्गलोकमा लक्ष्मीस्वयंवर नाटिकाको मञ्चन आचार्य भरतमुनिको निर्देशनमा भएको थियो, जसमा प्रसिद्ध अप्सरा उर्वशीले लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् र अभिनयका क्रममा पुरुरवालाई देखेर उर्वशी उनीप्रति मोहित हुन पुगेकी थिइन्। उनको यस त्रुटिका कारण भरतमुनिले कुपित भई दुबैलाई श्राप दिएका थिए। महाकवि कालिदासले‘विक्रमोर्वशीयम्’ नाटकमा यस घटनाको सङ्केत गर्दै आचार्य भरतमुनिको समुल्लेख गरेका छन्।(४) यसबाहेक उद्भट, भट्टलोल्लट, श्रीशङ्कुक, भट्टनायक, अभिनवगुप्त, कीर्तिधर, राहुल, भट्टयन्त्र र हर्षवार्तिक जस्ता विशिष्ट आचार्यहरूले यिनको ‘नाट्यशास्त्र’ ग्रन्थको टीका पनि गरे। यी तथ्य देख्दादेख्दै ‘नाट्यशास्त्र’का प्रणेता भरतमुनि एकजना काल्पनिक व्यक्तित्व हुन् भन्नु विसङ्गतिपूर्ण हुन्छ। ऐतिहासिक दृष्टिगोचरका निमित्त आवश्यक तत्त्वहरू, जस्तै व्यक्तिको जन्मसमय, पुख्र्यौली पृष्ठभूमि, शिक्षादीक्षा आदिका विषयमा भने कुनै समाग्री उपलब्ध छैनन्। उपलब्ध फुटकर साक्ष्य र प्रमाणका आधारमा अनुमान गर्दै अधिकांश विद्वान् भरतमुनिको जीवनकाल ईशापूर्व ५०० वर्षदेखि ईशाको प्रथम शताब्दीको बीचमा रहेको धारणामा सहमत छन्। यिनले रचना गरेको नाट्यशास्त्रमा ६००० श्लोक उपलब्ध छन्, यसै ग्रन्थलाई ‘षट्साहस्री संहिता’ पनि भनिन्छ। तर ‘द्वादशसाहस्री संहिता’ नामको उल्लेख पनि भरतमुनिकै ‘नाट्यशास्त्र’का निमित्त हुने भएकाले यसमा प्रारम्भमा १२००० श्लोक भएको अनुमान गर्न सकिन्छ। आचार्य शारदातनयद्वारा रचित ‘भावप्रकाशन’ नामक ग्रन्थमा यसबारेमा उल्लेख गरेका छन्।(५) उनले ‘नाट्यशास्त्र’ ग्रन्थलाई ‘नाट्यवेद’ भनेको देखिन्छ। आचार्य शारदातनयले ‘द्वादशसाहसी्र संहिता’का रचयिता वृद्धभरत (नन्दीकेशर) लाई र ‘षट्साहस्री संहिता’ का रचयिता आचार्य भरतलाई मानेका छन्। नाट्यशास्त्रको हाल उपलब्ध संस्करण अर्थात् ‘षट्साहस्रीसंहिता’ मा ३६ अध्याय छन्।
२. रससिद्धान्त
रस, छन्द, अलङ्कार, ध्वनि आदि पूर्वीय काव्यशास्त्रका अनिवार्य र निर्विकल्प अवयव हुन्। काव्य चिन्तनको पूर्वीय परम्परामा रससिद्धान्त सर्वाधिक चर्चित र पुरानो सिद्धान्त मानिन्छ। वेदमा ब्रह्मको चर्चाका क्रममा रस शब्दको उल्लेख गरिए तापनि, राजशेखर, कृतिधर आदि केही आचार्यले नन्दीकेशरबाट रसको आविष्कार भएको भने तापनि रसका आधिकारिक र प्रामाणिक अधिष्ठाता भरतमुनि नै हुन्। उनले ‘नाट्यशास्त्र’को विवेचनाका क्रममा व्यक्त गरेको रससूत्र नै रससिद्धान्तको आधारतत्त्व हो। श्रव्यकाव्य पढ्दा वा सुन्दा एवं दृश्यकाव्य हेर्दा वा सुन्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, त्यसैलाई काव्यमा रस भन्ने गरिन्छ। रसद्वारा जुन भावको अनुभूति हुनपुग्छ त्यसलाई रसको स्थायीभाव भन्ने गरिन्छ। रसको अर्थ हो – निचोड, सारतत्त्व वा मुख्यभाव। काव्यमा जुन आनन्द प्राप्ति हुन्छ, बास्तवमा त्यही नै काव्यको रस हो। काव्य रसास्वादनबाट प्राप्त आनन्द अर्थात् रस लौकिक नभएर अलौकिक वा आत्मिक हुन्छ। रस पूर्वानुभूति होइन, यो त तात्कालिक अनुभव हो। यद्यपि काव्य, नाटक वा चलचित्रमा प्रस्तुत हुने विषयवस्तुको जानकारी पहिले नै हुनसक्छ, ज्ञात वा देखेसुनेको हुनसक्छ, तैपनि काव्य, नाटक वा चलचित्र हेर्दा केही नौलोपनको आभास र अनुभूति हुन्छ, नयाँ आस्वादनले पुराना अनुभूति हराउँदै जान्छ, तात्कालिक अनुभूतिमात्र चरममा पुगे झैं लाग्दछ। रसको यही अपूर्वरूप अप्रमेय र अनिर्वचनीय मानिन्छ।
रस काव्यको आत्मा हो र रसिलो वाक्य नै काव्य हो।(६) रमणीय र आलङ्कारिक काव्यत्वको अनुभूति जसले मानव हृदयमा कुनै न कुनै भावलाई वा संवेदनालाई जागृत गराउन सक्छ त्यो नै रस हो। अथवा, भनौं साहित्यबाट प्राप्त हुने मानसिक सन्तुष्टिको नाम नै रस हो। रस अन्तस्करणको त्यो शक्ति हो, जसका बलले इन्द्रियहरू क्रियाशील हुन्छन्, मनले कल्पना गर्दा, स्वप्नका अनुभूति स्मृतिका रूपमा जीवन्त रहन्छन्। रस आनन्दको प्रतीक हो र यही आनन्द नै विशालताको र विराटपनको अनुभव पनि हो। यो आनन्द नै अन्य समस्त अनुभवको अतिक्रमण पनि हो। व्यक्तिविशेष इन्द्रिय–संयम हुनसक्छ र ऊ विषयविमुख पनि बन्न सक्छ, तर उसले ती विषयप्रतिका भाव पन्छाउन सक्दैन। रसका रूपमा जुन वस्तुको निष्पत्ति हुन्छ, त्यही बास्तवमा भाव हो। रसानुभूति भएपछि भाव रहंदैन, केवल रसमात्र शेष रहन्छ, भावना रूपान्तरित हुन्छ। रस सूत्रको व्याख्या बुझ्न स्थायीभाव, विभाव, अनुभाव र सञ्चारी भावको जानकारी हुनु आवश्यक छ।
२.१.१. स्थायीभाव
भावनाको भण्डार मनमा अनगिन्ती संवेगात्मक भावहरू अनुभव, वासना एवं संस्कारका रूपमा सँगालिएका हुन्छन्। यी भावहरू धेरैजसो सुसुप्त अवस्थामा रहेका हुन्छन्। जुन भावहरू स्थायी रूपमा मनलाई आबद्ध गरेर रहेका हुन्छन्, ती स्थायी हुन्। अर्को शब्दमा सामाजिक (भावक र प्रेक्षक)को अन्तस्करणमा जुन मनोविकार वासना वा संस्कारका रूपमा सधैं रहिरहन्छ, जुन कहिल्यै दमित हुँदैन, त्यसैलाई स्थायीभाव भन्दछन्। स्थायीभाव मानवमनमा बीजका रूपमा चिरकालसम्म स्थिर र अविचलित भएर बसेको हुन्छ। यसलाई संस्कार अथवा भावनाको द्योतक मानिन्छ। स्थायीभाव यति समर्थ र बलियो हुन्छ, यसले अन्य भावलाई आफूमा विलीन गर्दछ। विशेषतः काव्य पढ्दा अथवा नाटक वा चलचित्र हेर्दा पाठक र दर्शकमा एक किसिमको आनन्दको अनुभव पनि हुन्छ। यही भाव रसरूपमा परिणत भएको हुन्छ। त्यही स्थायीभाव नै रस हो। भरतमुनिले स्थायीभावलाई आठवटा मानेका छन् भने उत्तरवर्ती धेरैजसो विद्वान्हरूले यसलाई नौ वटा हुन्छ भनेका छन्। कालान्तरमा भक्ति र वात्सल्यलाई पनि छुट्टै रसका रूपमा मान्नेहरूले स्थायीभावलाई ११ वटासम्म पुर्याएको देखिन्छ।(७)
२.१.२. विभाव
भावहरूलाई उत्पन्न गर्न अथवा बिउँझाउने सामग्रीलाई विभाव भनिन्छ। विभावको अर्थ हो, कारण। यसले स्थायीभावलाई आस्वाद्य तुल्याउँदछ। विभावलाई रसको उत्पत्तिमा आधारभूत तत्त्वका रूपमा लिइन्छ। विभाव दुई किसिमका हुन्छन्– आलम्बन विभाव र उद्दीपन विभाव।
२.१.२.१. आलम्बन विभाव
जुन मुख्य भाव वा वस्तुका कारणले भावको उद्गम हुन्छ त्यसलाई आलम्बन भनिन्छ, वा जुन वस्तु देखेर त्यससम्बन्धी भावहरू उत्पन्न हुन्छन्, त्यस वस्तुलाई आलम्बन विभाव भन्दछन्। यस अन्तर्गत विषय र आश्रय पर्दछन्। चरित्र वा पात्रप्रति कुनै पात्रको भाव जागृत हुनुलाई विषय र जुन पात्रमा भाव जागृत हुन्छ त्यसलाई आश्रय भनिन्छ।
२.१.२.२. उद्दीपन विभाव
स्थायीभावलाई जागरुकता प्रदान गर्न सहायक कारणलाई उद्दीपन विभाव भनिन्छ। उदाहरणका रूपमा वीर रसको स्थायीभाव उत्साहका निम्ति सामुन्ने उभिएको शत्रु आलम्बन विभाव हो भने शत्रुसङ्गै रहने सेना वा मतियार, युद्धका सरसामाग्री, बाजागाजा, शत्रुका क्रियाकलाप दर्पोक्ति, गर्जना, तर्जना, शस्त्र सञ्चालन आदि उद्दीपन विभाव हुन्। जुन कुरा देखेर वा सुनेर भावहरू झन् उत्तेजित हुन पुग्छन्, त्यो उद्दीपन विभाव हो। त्यस्तै रामायणको कथामा रामका लागि सीता आलम्बन हुन् भने सीतासँग वनविहार अथवा खेलवाड गरेका ठाउँहरू र उनलाई सम्झाउने अन्य साधनहरू पनि शोक स्थायीभावका उद्दीपन हुन्। उद्दीपन विभाव पनि आलम्बनगत (विषयगत) र बाह्य (बर्हिगत) गरी दुई किसिमका हुन्छन्।
२.१.३. अनुभाव
आलम्बन र उद्दीपन सामग्रीबाट भावको अनुभव भएपछि देखापर्ने चेष्टादि कार्यहरू अनुभाव हुन्, अथवा रति, हास, शोक आदि स्थायीभावलाई प्रकाशित वा व्यक्त गर्न लगाउने आश्रयको चेष्टा नै अनुभाव हो। यो चेष्टा भावजागृतिपछि आश्रयमा उत्पन्न हुने गर्दछ, त्यसैले यसलाई अनुभाव भनिएको हो। जुन वस्तुले भावको अनुगमन गर्दछ त्यसैको नाम हो, अनुभाव। आलम्बन एवं उद्दीपनका माध्यमबाट आ–आफ्ना कारणले उत्पन्न, भावलाई बाह्य रूपमा प्रकाशित गराउने जेजस्ता चेष्टाहरू हुन्छन्, तिनैलाई काव्य, नाटक आदिमा निबद्ध अनुभाव भन्ने गरिन्छ। जस्तै – विरहबाट व्याकुल नायकद्वारा सुँक्कसुँक्क गर्नु, मिलनका अवसरमा आँसु, पसिना, रोमाञ्चकता, अनुराग आदि उपस्थित हुनु, रिसाउँदा (क्रोध जागृत हुँदा) हातहतियार चलाउनु, कठोर वचन बोल्नु, आँखा राताराता पार्नु आदिलाई अनुभाव भन्दछन्। इच्छित र अनिच्छित गरी अनुभाव दुई किसिमको हुन्छ। इच्छित अनुभावलाई साधारण अनुभाव वा बाह्य अनुभाव र अनिच्छित अनुभावलाई सात्विक अनुभाव वा आन्तरिक अनुभाव पनि भनिन्छ। इच्छित अनुभाव चारकिसिमका (आङ्गिक, वाचिक, आहार्य र सात्विक) र अनिच्छित अनुभाव आठ किसिमका (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, वेपथु (कम्प), वैवण्र्य, अश्रु र प्रलय) हुन्छन्।
२.१.४. सञ्चारी भाव
सञ्चारी शब्दको अर्थहुन्छ – सँगसँगै हिंड्नु वा सञ्चरणशील हुनु। सञ्चारी भाव स्थायीभावका साथमा सञ्चरित हुन्छ। सञ्चारी भावलाई व्यभिचारी भाव पनि भन्ने गरिन्छ। अनगिन्ती मनका संवेगहरू जुन क्षणक्षणमा देखिने र लोप हुने प्रवृत्तिका हुन्छन्, तिनीहरूलाई व्यभिचारी अथवा सञ्चारी भाव मानिन्छ, अथवा स्थायीभावलाई परिपुष्ट तुल्याउन थोरै समय उपस्थित भएर तुरुन्त विलुप्त हुने भावलाई व्यभिचारी भाव वा सञ्चारी भाव भन्दछन्। यिनीहरू पानीका तरङ्ग झैं अस्थिर हुने हुनाले यिनले स्थायीभावलाई आस्वादन अवस्थामा पुर्याउन सहयोगमात्र गर्न सक्छन्। यस भावमा प्रत्येक स्थायीभावका साथमा त्यस अनुकूल भई हिंड्ने सामथ्र्य हुन्छ, त्यसैले यसलाई व्यभिचारी भाव समेत भनिएको हो। सञ्चारी अर्थात् व्यभिचारी भाव ३३ किसिमको हुन्छ – निर्वेद, ग्लानि, शङ्का, असूया, मद, श्रम, आलस्य, दीनता, चिन्ता, मोह, स्मृति, धृति, व्रीडा, चापल्य, हर्ष आवेग, जडता, गर्व, विषाद, औत्सुक्य, निद्रा, अपस्मार (छारेरोग), स्वप्न, प्रबोध, अमर्ष (असहनशीलता), अवहित्था (भावलाई दमन गर्ने), उग्रता, मति, व्याधि, उन्माद, मरण, त्रास र वितर्क।
यसरी सामान्य रूपमा विभाव, अनुभाव र सञ्चारीभावलाई रसरूपी स्थायीभावका क्रमशः कारण, कार्य र सहकारी वा सहायक भाव मानिन्छ।
३. रस सम्प्रदाय
रससिद्धान्तका आदि प्रवर्तक आचार्य भरतमुनिद्वारा प्रणीत नाट्यसूत्रका परवर्ती व्याख्याता र आचार्यले मुख्यतः चारवटा रससिद्धान्तको व्याख्यालाई विकसित गरे। ती हुन् – उत्पत्तिवाद, अनुमितिवाद, भुक्तिवाद र अभिव्यक्तिवाद। आचार्य भरतमुनिको सूत्रमा(८) प्रयुक्त निष्पत्ति शब्दको चारवटा भिन्नभिन्न व्याख्या गर्ने क्रममा भट्टलोल्लटको उत्पत्तिवाद (स्थायीभावसँग विभावको उत्पाद्य–उत्पादक सम्बन्ध, अनुभावको स्थायीभावसँगको अनुमेयानुमापक सम्बन्ध र व्यभिचारी भावको स्थायीभावसँगको पोष्यपोषक सम्बन्ध), नैयायिक श्रीशङ्कुकको अनुमितिवाद (विभावादिको स्थायीभावसँगको अनुमेयानुमापक सम्बन्ध), भट्टनायकको भुक्तिवाद (स्थायीभावसँगको विभावादिको भोज्यभोजकसम्बन्ध) र अभिनव गुप्तको अभिव्यक्तिवाद (विभावादिको स्थायीभावसँगको व्यङ्ग्यव्यञ्जक सम्बन्ध) जस्ता मत प्रचलित छन्।
३.१. आचार्य भट्टलोल्लट
आचार्य अभिनवगुप्तले ‘अभिनवभारती’ नामक ग्रन्थमा भट्टलोल्लटको उल्लेख भरतमुनिको नाट्यसूत्रको आदरणीय टीकाकार आचार्य का रूपमा गरेको पाइन्छ। यिनको जन्मकाल तथा ग्रन्थ आदि अप्राप्य छन्। ‘अभिनवभारती’, ‘ध्वन्यालोक’ आदिमा यीसँग सम्बन्धित केही फुटकर विचारहरू प्राप्त हुन्छन्, जुन विचारबाट यिनको विद्वत्ता र सिद्धान्तका बारेमा जानकारी प्राप्त हुन्छ। ‘काव्यप्रकाश’ नामक ग्रन्थको सङ्केत टीका र श्रीशङ्कुक आदि आचार्य द्वारा गरिएको खण्डनबाट यी श्रीशङ्कुकभन्दा पूर्ववर्ती हुन् भन्ने अनुमान गर्न सकिन्छ। श्रीशङ्कुकको समय ईश्वीसन् ८५० मानिन्छ, त्यसैले यिनको समय पनि त्यसै बिन्दुको छेउछाउ अर्थात् नवौं शताव्दीका प्रथम चरणतिर ठहरिन्छ। यी भारतको कस्मिरका थिए। भरतमुनिको रसपरक सिद्धान्तको व्याख्या गर्ने सर्वप्रथम विद्वान् भट्टलोल्लट नै हुन्। रसनिष्पत्तिका बारेमा यिनको स्वतन्त्र मत साहित्यजगत्मा प्रख्यात छ। यी मीमांसक र अभिधावादी थिए। यिनको मतमा शब्दको प्रत्येक अर्थको प्रतिपत्ति अभिधाबाट ठीक त्यसरी नै हुन्छ, जसरी एउटै बाणले कवचलाई छेड्दै शरीरभित्र प्रवेश गरी प्राण हरण गर्दछ। यिनको दृष्टिमा महाकाव्यको मुख्य रस र त्यसका विभिन्न अङ्गमा पूर्ण सामञ्जस्य हुनु आवश्यक छ। यी रसको स्थिति रामादि अनुकार्य पात्रहरुमा हुन्छ भन्दछन्, नटहरू र सामाजिक (भावक र प्रेक्षक)हरूमा हुँदैन भन्दछन्। औचित्यसमर्थक आचार्यहरूमा यिनको महत्वपूर्ण स्थान छ। यिनको कथनानुसार अर्थ समुदायको अन्त्य हुँदैन, तर काव्यमा रसपूर्ण अर्थको निबन्ध हुन्छ, नीरसको होइन। कुनै पनि सरस वर्णनमा यदि प्राकृत रससँग सामञ्जस्य छैन वा राख्दैन भने त्यसको विस्तार गर्न आवश्यक छैन भन्छन्, यिनी। महाकाव्यमा यमक र चित्रकाव्यको निबन्धन कविको अभिमानको परिचायक हुनसक्छ, त्यसले काव्यको मुख्य रसको अभिव्यञ्जना गर्दैन। अलङ्कार सम्प्रदायका अर्का अनुयायी आचार्य उद्भटले भरतमुनिद्वारा निर्दिष्ट स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारीजस्ता चारवटा वृत्तिभन्दा भिन्न न्यायवृत्ति, अन्यायवृत्ति, र फलवृत्तिको प्रतिपादन गरेको प्रसङ्ग उल्लेख गर्दै भट्टलोल्लटले उद्भटको तीव्र आलोचना गर्दै उनीद्वारा निरूपित न्यायवृत्ति, अन्यायवृत्ति, र फलवृत्तिलाई स्वीकारेको देखिंदैन र उनको त्यस व्याख्यालाई कल्पनामात्र ठहर्याउँदछन्। यिनले ‘शकलीगर्भ’नामक ‘नाट्यशास्त्र’का अर्का आचार्यको पनि खण्डन गरेका छन्। शकलीगर्भले उद्भटका तीनवटा वृत्तिको त खण्डन गरेका छन् तर भरतमुनिको वृत्ति चतुष्टयीलाई मान्दै ‘आत्मसंवित्ति’ नामको एउटा पाँचौं वृत्तिको सिर्जना गरेका छन्। भट्टलोल्लटका तीनवटा पद्यलाई राजशेखर, हेमचन्द्र तथा नमिसाधुले उद्धृत गरेका छन्, जुन पद्य औचित्य विचारका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्। राजशेखरले यी पद्यलाई काव्यमीमांसामा ‘इति आपराजितिः यदाह’ भनी भट्टलोल्लटलाई आपराजितिको नामले उद्धृत गरेका छन् र हेमचन्द्रले काव्यानुशासनमा यिनैमध्ये दुई पद्य उद्धृत गरी भट्टलोल्लटकै नामको सङ्केत गरेका छन्। यसबाट के थाहा पाइन्छ भने यिनको एउटा नाम आपराजिति पनि थियो। सम्भवतः यी अपराजितका पुत्र थिए। ‘ध्वन्यालोक’को टीकामा यिनलाई प्रभाकर भनिएको पाइन्छ।(९)
३.१.१. आचार्य भट्टलोल्लटको रससूत्रसम्बद्ध व्याख्या
आचार्य भट्टलोल्लटले आचार्य भरतका उपर्युक्त सूत्रमा आएको संयोग शब्दको तीन किसिमका अर्थ पहिल्याएका छन् – विभावको संयोगले उत्पाद्य–उत्पादक सम्बन्ध, अनुभावको संयोगले गम्य–गमक भाव सम्बन्ध र व्यभिचारी भावको संयोगले पोष्य–पोषक भाव सम्बन्ध। यी तीनैवटा अर्थका सन्दर्भमा निष्पत्ति शब्दको पनि तीनवटै अर्थ बताइएको छ – स्थायीभावहरूसँग विभावहरूको संयोग हुँदा उत्पाद्य–उत्पादक भाव सम्बन्धद्वारा रसको निष्पत्ति अर्थात् उत्पत्ति हुन्छ, अनुभावहरूको संयोग हुँदा गम्य–गमक भावको सम्बन्ध हुने हुँदा रसको निष्पत्ति अर्थात् प्रतीति हुन्छ र व्यभिचारी भावहरूको संयोग हुँदा पोष्य–पोषक भावको सम्बन्धबाट रस–निष्पत्ति अर्थात् रसको पुष्टि हुन्छ। यसलाई यसरी स्पष्ट्याउन सकिन्छ –
क) स्थायीभाव र विभाव – उत्पाद्य–उत्पादक सम्बन्धद्वारा रसको उत्पत्ति
ख) स्थायीभाव र अनुभाव – गम्य–गमक सम्बन्धद्वारा रसको प्रतीति
ग) स्थायीभाव र व्यभिचारिभाव – पोष्य–पोषक सम्बन्धद्वारा रसको पुष्टि
आचार्य मम्मटले आचार्य भट्टलोल्लटको मत सङ्क्षेपमा यसरी उल्लेख गरेका छन् – भट्टलोल्लट आदि आचार्य अनुसार ललना (स्त्री – यहाँ नायिका) आलम्बन विभाव एवं उद्यान आदि उद्दीपन विभावहरुका कारण रति आदि उत्पन्न हुन्छ, भाव, कटाक्ष, भुजाक्षेप आदि कार्यभूत अनुभावहरूबाट प्रतीति योग्य र सहकारी–रूप निर्वेद आदि व्यभिचारीभावद्वारा पुष्ट गरिएको, मुख्य रूपले अनुकार्यरूप राम आदिमा र तिनको रूपको अनुकरण गर्नाले नटमा प्रतीयमान (रति आदि स्थायीभाव) रस निष्पन्न हुन्छ।(१०) उपर्यक्त विवरणका आधारमा आचार्य भट्टलोल्लटको यस मतसम्बद्ध निम्नाङ्कित बुँदाहरू स्थापित हुन पुग्छ :–
क. विभावलाई रति आदि स्थायीभावहरू सक्रिय तुल्याउने कारण मानिएको छ।
ख. अनुभावलाई कार्यभूत मानिएको छ।
ग. व्यभिचारी भावलाई स्थायीभाव सक्रिय बनाउन सहायक (सहकारी) भनिएको छ।
घ.स्थायीभावको विभावसँग उत्पाद्य–उत्पादक सम्बन्ध, अनुभावसँग गम्य–गमक सम्बन्ध र व्यभिचारी भावसँग पोष्य–पोषक सम्बन्धद्वारा रसको उत्पत्ति, प्रतीति र पुष्टि हुन्छ।
ङ.त्यस रसको उत्पत्ति, प्रतीति र पुष्टि अनुकार्य रूप राम आदिमा हुन्छ, राम आदिको अनुकरण गर्नाले नट(अभिनेता)मा रस प्रतीयमान (आरोपित) हुने गर्दछ।
आचार्य भट्टलोल्लट एकजना मीमासंक हुन्, त्यसैले यहाँ यसलाई यदि उत्तर–मीमांसा (वेदान्त) का दृष्टिले अवलोकन गर्ने हो भने डोरीमा सर्पको भ्रम उत्पन्न हुनाले सर्पको अभावमा पनि सर्पको प्रतीतिले भय स्थायीभावको उत्पत्ति हुन्छ। यसरी नै राम आदिको अभिनय गर्ने नट (अभिनेता) को अभिनयलाई देखेर तिनमा राम आदिको भावको आरोपण हुनाले सामाजिक (भावक र प्रेक्षक)मा रसको उत्पत्ति, प्रतीति र पुष्टि हुन्छ।
३.२. आचार्य श्रीशङ्कुक
आचार्य श्रीशङ्कुकले रसको उपस्थिति सामाजिक (भावक र प्रेक्षक)मा हुन्छ भनी प्रमाणित गरेका छन्। राजतरङ्गिणी नामक ग्रन्थमा उल्लेख भएअनुसार श्रीशङ्कुक पनि भारतको कस्मिरी विद्वान् थिए र अजितापीडनामक राजाको शासनकालमा यी विद्यमान थिए। यी न्याय दर्शनका आचार्य हुन्। यिनले ‘भुवनाभ्युदय’ नामक महाकाव्यको रचना गरेका थिए, जसमा मम्मट र उत्पलको भयङ्कर युद्धको वर्णन गरेका छन्, जुन युद्धमा मारिएका योद्धाहरूको शवले वितस्ता नदीको प्रवाह रोकिएको प्रसङ्ग उल्लेख गरिएको छ। राजतरङ्गिणीका रचनाकारले यिनलाई सम्मान गरेका छन्।(११) श्रीशङ्कुकको समय ईश्वीसन् ८५० तिर मानिन्छ। शाङ्र्कधरपद्धति र जल्हणको ‘सूक्तिमुक्तावली’मा श्रीशङ्कुकलाई मयूरको पुत्र भनिएको छ। विक्रमादित्यका सभाका नवरत्नहरुमा पनि एउटा शङकु वा शङ्कुक नाम प्राप्त हुन्छ, तर यी दुबै नाम भरतमुनिको ‘नाट्यशास्त्र’का व्याख्याता, रसनिरूपणमा अनुमितिवादका प्रतिष्ठापक एवं ‘भुवनाभ्युदय’ महाकाव्यका रचयिता श्रीशङ्कुक होइनन्, फरक हुन्।
३.२.१. आचार्य श्रीशङ्कुकको रससूत्रसम्बद्ध व्याख्या
श्रीशङ्कुक भरतमुनिको ‘नाट्यशास्त्र’का अर्का विशिष्ट व्याख्याता हुन्। हुन त यिनको व्याख्या मूल रूपमा प्राप्त छैन, तर ‘अभिनवभारती’मा त्यसको उल्लेख छ। भरतमुनिको रससूत्रलाई यिनले जुन व्याख्या गरेका छन् त्यो अनुमितिवाद नामले प्रसिद्ध छ। सामाजिक (भावक र प्रेक्षक)मा रसानुभव नमान्ने सिद्धान्त भट्टलोल्लटको उत्पत्तिवादको खण्डन यिनैले सर्वप्रथम गरेका हुन्। यी नटमा राम आदिको चित्रतुरग न्यायको माध्यमबाट रसलाई अनुमेय (अनुमानद्वारा बोध्य) मान्दछन्। यिनले विभाव आदि साधन र रसरूप साध्यमा अनुमाप्य–अनुमापक भावको कल्पना गरेका छन् र रसको आस्वादन अनुमानद्वारा अनुमेय वा अनुमितिगम्य बताएका छन्। यिनले रसको उपस्थिति सामाजिक (भावक र प्रेक्षक)मा हुन्छ भन्ने मानेका छन्। चित्रतुरग न्यायबमोजिम यिनले गरेको विवेचनाअनुसार नट साँच्चै राम त होइन, त्यो त चित्रमा अङ्कित घोडा जस्तै हो। जसरी घोडाको चित्रलाई देखेर त्यसको अनुभव हुन्छ, त्यसरी नै नटको अभिनयात्मक रूपलाई देखेर सामाजिक (भावक र प्रेक्षक)मा अनुभूति हुन्छ। यिनको सिद्धान्तका आधारमा रसका सम्बन्धमा यस्तो तथ्य उपस्थित हुन्छ –
चित्रतुरग न्यायको अर्थ हुन्छ – घोडाको चित्रलाई देखेर घोडाको अनुमान गर्नु। यी अनुमानगत प्रतीतिलाई न सत्य भन्न सकिन्छ, न मिथ्या, न संशयग्रस्त र न सादृश्यरूपी नै मान्न सकिन्छ। त्यसैले यस प्रतीतिलाई ती चारवटा बुद्धिगत सम्यक, मिथ्या, संशय र सादृश्य प्रतीतिहरुभन्दा भिन्न र विलक्षण भनिएको हो। यसरी नै नट (अभिनेता)मा रामादि बुद्धि सम्यक, मिथ्या, संशय र सादृश्यभन्दा बाहेक बेग्लै हुन्छ। यसअतिरिक्त अनुमितिवादमा राम–सीता आदि विभावको अनुभाव र व्यभिचारी भावको संयोगले नटादिको अभिनयले लिङ्गादिको अनुमान हुन्छ, तर ती लिङ्गादि यथार्थ हुँदैनन् र न त स्मित, कटाक्ष आदि अनुभाव नै बास्तविक हुन्छन्, अर्थात् चित्रतुरगन्यायका आधारमा सीतारामरूपी नटमा यथार्थ, स्मित, कटाक्ष आदि हुँदैन, जसरी यथार्थ रूपमा साक्षात् रामसीतामा थियो होला। यी सबै कृत्रिम हुन्। त्यसैले यसरी सीतारामरूपी नटमा एउटा अनुमानित रसको प्रतीति हुन्छ। यिनी नाटयशास्त्रको सूत्रमा प्रयुक्त संयोग शब्दको अर्थ गम्य–गमक भाव–सम्बन्ध मान्दछन्। उक्त अनुमानित रसको प्रतीतिको आधार पनि भावक हुँदैन, तर भावकलाई केवल त्यसको अनुमान हुन्छ। सामान्यतया अनुमानादि प्रमाणबाट हुने ज्ञान परोक्षज्ञान मानिन्छ, किनभने प्रत्यक्ष प्रमाणद्वारा नै अपरोक्षको प्रतीति हुन्छ। तर रसको अनुमान अन्य अनुमानभन्दा भिन्न र अपरोक्ष हुन्छ। त्यसै कारणले त्यस अनुमित रसलाई सामाजिक (भावक र प्रेक्षक)ले आस्वादन गर्दछ। यिनको सामाजिक (भावक र प्रेक्षक)ले गर्ने रसास्वादनसम्बद्ध धारणा सामाजिक (भावक र प्रेक्षक)को वासना र रस–प्रतीतिमा विलक्षण अपरोक्ष कल्पना हो, किनभने अनुमानित रस न त कृत्रिम रामादि नटहरुमा हुन्छ र न त सामाजिक (भावक र प्रेक्षक)मा, यो त वासनाको कारणले सामाजिक (भावक र प्रेक्षक)ले त्यसको अनुमान गर्दछ।
३.३. आचार्य भट्टनायक
आचार्य भट्टनायक मूलतः मीमांसक हुन् र यिनको समय ईशाको दसौं शताब्दी मानिन्छ। यी आनन्दवर्द्धनभन्दा पछिका हुन्। काव्यशास्त्रमा यिनको एउटा मात्र ग्रन्थ ‘हृदयदर्पण’ छ, तर त्यो पनि अनुपलब्ध छ। यी ध्वनि–सम्प्रदायका कट्टर विरोधी हुन्। एउटा मीमांसकका निमित्त वेद नै परम प्रमाण हो र उसका लागि सबै किसिमको अर्थ अभिधार्थमा नै अन्तर्भाव हुन्छ। त्यसैले आचार्य आनन्दवर्द्धनद्वारा ‘ध्वन्यालोक’मा प्रतिपादित ध्वनिसिद्धान्तको अति नै सशक्त ढङ्गले यिनले आफ्नो पुस्तक ‘हृदयदर्पण’मा विरोध गरेका छन्। जबकि यिनको मतको खण्डन आचार्य अभिनवगुप्तले ‘ध्वन्यालोक’मा लोचननामक टीका लेख्दा त्यति नै सशक्त रूपले गरेको देखिन्छ। यस तथ्यबाट थाहा पाइन्छ, आचार्य भट्टनायक आचार्य अभिनवगुप्तभन्दा पहिलेका हुन्। ईशाको एघारौं शताब्दीका आचार्य महिमभट्ट पनि आचार्य भट्टनायक जस्तै एक जना मीमांसक थिए। उनले आफ्नो ग्रन्थ व्यक्तिविवेकमा आचार्य भट्टनायकद्वारा रचित ‘हृदयदर्पण’ प्राप्त गर्न नसकेको पीडाको उल्लेख गरेका छन्। उनी भन्दछन् – अहिलेसम्म ‘हृदयदर्पण’ नामक ग्रन्थलाई देख्दै नदेखी मेरी बुद्धिरूपी नायिका अलङ्कार सज्जामा लागेकी छ, यसले कसरी थाहा पाओस् अलङ्कार सज्जामा कुनै दोष छ वा छैन ?, अर्थात् उक्त ग्रन्थको अभावमा मेरो आफ्नो ग्रन्थ व्यक्तिविवेकमा भएका कमजोरी कसरी पत्तो पाउने होला ? उक्त विवरणबाट एघारौं शताब्दी अघिदेखि नै ‘हृदयदर्पण’ अनुपलब्ध छ वा कारणवश व्यक्तिविवेककार आचार्य महिमभट्टले यो ग्रन्थ फेला पार्न सकेनन्। हुन त यीभन्दा पहिला कै आचार्य अभिनवगुप्तले ‘हृदयदर्पण’को अध्ययन गर्ने अनुकूलता प्राप्त गरेका थिए, नत्र उनीबाट आचार्य भट्टनायकद्वारा प्रतिपादित सिद्धान्तको खण्डन हुने थिएन। ‘हृदयदर्पण’ ध्वनिविरोधी सिद्धान्त र रसनिष्पति सम्बन्धी सिद्धान्तको अधिकारिक ग्रन्थ मानिन्छ। यी दुईवटै विषयमा आचार्य भट्टनायकको दृष्टिकोण नौलो थियो। त्यसो त आचार्य अभिनवगुप्तले यिनका ध्वनिविरोधी सिद्धान्तको ‘ध्वन्यालोक’को लोचन टीकामा र रसनिष्पत्तिसम्बद्ध सिद्धान्तको आचार्य भरतमुनिको ‘नाट्यशास्त्र’को टीका ‘अभिनवभारती’मा जोडदार ढङ्गले खण्डन गरेका छन्। ‘काव्यप्रकाश’कार आचार्य मम्मटले पनि आचार्य भट्टनायकको मतलाई आदरपूर्वक उल्लेख गरेका छन्। आचार्य भट्टनायकको रसनिष्पत्ति सम्बन्धी सिद्धान्तको उल्लेख आचार्य मम्मटले आफ्नो ‘काव्यप्रकाश’मा गरेका छन्। भट्टनायकको मतमा व्यापार तीन किसिमको हुन्छ – अभिधा व्यापार, भावकत्व व्यापार र भोजकत्व व्यापार। अभिधा व्यापारबाट काव्यको सामान्य अर्थको ज्ञान हुन्छ, भावकत्व व्यापारबाट सीताराम आदिको स्वरूपको साधारणीकरण हुन्छ र भोजकत्वव्यापारबाट सामाजिक (भावक र प्रेक्षक)लाई रसको अनुभूति हुन्छ। आचार्य भट्टनायकको यस सिद्धान्तलाई प्रतिपादन गर्ने दुईवटा श्लोकहरू(१२) आचार्य जयरथद्वारा गरिएको आचार्य रूप्यकको ‘अलङ्कारसर्वस्व’नामक ग्रन्थको टीकामा र आचार्य हेमचन्द्रद्वारा लिखित ‘काव्यानुशासनविवेक’ नामक टीकामा उद्धृत गरिएको छ।
३.३.१. आचार्य भट्टनायकको रससूत्रसम्बद्ध व्याख्या
आचार्य भट्टनायक द्वारा प्रतिपादित रसानुभूतिको सिद्धान्त अतीव महत्वपूर्ण छ। यिनी रसलाई परब्रह्मानन्दको स्वादतुल्य मान्दछन्।(१३) उनले साङ्ख्यदर्शनका आधारमा रसानुभूतिको जुन मार्गलाई प्रतिपादन गरे त्यसलाई पूर्वीय काव्यशास्त्रमा भुक्तिवादको संज्ञा दिइएको छ। साङ्ख्यदर्शन–अनुसार सुख र दुख अन्तस्करण (मन, बुद्धि, चित्त र अहंकार)का विषय हुन्, आत्माको होइन। व्यक्तिको चित्तको आफ्नो अन्तस्करणसित सम्बन्ध हुनेहुनाले त्यसलाई सुख, दुख आदिको अनुभूति उपाधिगत रूपले प्राप्त हुन्छ। त्यसरी नै दर्शकमा उपस्थित नहुने रसलाई, उसले आफू स्वयंलाई रसको भोक्ता ठान्दछ। यसै कारण यिनको यस मतलाई भुक्तिवाद भनिएको हो। उनका मतमा रसको निष्पत्ति न त अनुकार्य (अनुकरणीय) राम आदिमा हुन्छ र न अनुकर्ता नट (अभिनेता) आदिमा, यी दुबै पक्ष तटस्थ र उदासीन हुन्छन्, अतएव रसको अनुभूति तिनलाई हुँदैन, रसको अनुभूति त केवल सामाजिक (भावक र प्रेक्षक)लाई मात्र हुन्छ। जबकि आचार्य भट्टलोल्लटको मतमा रसको अनुभूति मुख्यरूपले तटस्थ राम आदिमा र गौण रूपले तटस्थ नट आदिमा हुन्छ, तर सामाजिक (भावक र प्रेक्षक) रसानुभूतिरहित हुन्छ। त्यसैले भट्टलोल्लटको उत्पत्तिवादमा यस किसिमको विसङ्गति प्राप्त हुन्छ। उता आचार्य श्रीशङ्कुक तटस्थ नट आदिमा रसको अनुमान द्वारा प्रतीति र संस्कारवश (वासनाका कारण) सामाजिक (भावक र प्रेक्षक)द्वारा त्यसको आस्वादन हुने बताउँदछन्। आचार्य भट्टनायक आफ्नो सिद्धान्त भुक्तिवादको स्थापनाका क्रममा शब्दको अभिधा र लक्षणा शक्ति व्यापारका अतिरिक्त भावकत्व र भोजकत्व नामका अन्य दुईवटा व्यापारलाई पनि मान्दछन्। उनको मत छ – नायक–नायिकाको प्रेमकथाको सम्बन्ध व्यक्तिविशेषसँग हुन्छ, त्यसैले अभिधा र लक्षणा शक्तिबाट निस्कने अर्थ शब्दको भावकत्व शक्तिद्वारा परिष्कृत भएर सामाजिक (भावक र प्रेक्षक)का लागि भोजकत्व शक्ति वा व्यापारका माध्यमले उपभोग्य हुन्छ। अर्को शब्दमा भावकत्व शक्तिबाट काव्यार्थ वा रसको साधारणीकरण हुन्छ र भोजकत्व व्यापारबाट त्यसको आस्वादन सामाजिक (भावक र प्रेक्षक)लाई हुन्छ। ‘काव्यप्रकाश’मा आचार्य भट्टनायकका मतलाई उल्लेख गर्दै आचार्य मम्मट ले यिनको वैशिष्ट्य बताएका छन्।(१४)
आचार्य भट्टनायकले एउटै वाक्यमा आफ्ना पूर्ववर्ती आचार्यहरू भट्टलोल्लट तथा श्रीशङ्कुक र समसामयिक आचार्य अभिनवगुप्त तीनैजनाको मतलाई न प्रतीति हुन्छ, न उत्पत्ति हुन्छ र न अभिव्यक्ति नै हुन्छ भनेर खण्डन गरेका छन्। यिनको मतानुसार रस केवल अनुभूतिस्वरूप हो। काव्य अथवा नाटकमा अभिधा तथा लक्षणाभन्दा भिन्न विभावादिको साधारणीकरण–स्वरूप भावकत्व नामक व्यापारद्वारा साधारणीकृत स्थायीभाव सत्त्वोद्रेकद्वारा प्रकाश र आनन्दमय अनुभूतिसमान संविदविश्रान्तियुक्त(आफ्नो चेतनत्व र बोधले विश्राम लिएको अवस्था) हुनाले भोग द्वारा आस्वाद्य हुन्छ। अर्को शब्दमा शब्दको अभिधा व्यापारबाट सामाजिक (भावक र प्रेक्षक)ले अर्थ बुझ्दछ र आफूसामु प्रस्तुत भएको प्रसङ्गको विशेष स्थितिको ज्ञान हासिल गर्दछ, भावकत्व व्यापारद्वारा विभावादिको साधारणीकरण हुन्छ, जसबाट भावको पात्रगत–बोध समाप्त हुन्छ, सामाजिक (भावक र प्रेक्षक)को मनोवृत्ति वा वासना प्रस्तुत विभावादिका कारण निर्वैयक्तिक हुन जान्छ, अर्थात् आलम्बन र उद्दीपनको सामाजिक (भावक र प्रेक्षक)को व्यक्तिगत अनुभूतिमा तादात्म्य हुन जानाले त्यसको वैयक्तिक भावना समाप्त हुन पुग्छ। यसरी विभावादि साधारणीकरण हुँदा सामाजिक (भावक र प्रेक्षक)मा तमोगुण र रजोगुण शान्त हुन पुग्छ, अनि उसमा सत्त्वको उद्रेक हुन्छ, जसबाट ऊ प्रकाशयुक्त र आनन्दयुक्त भएर रसको अनुभूति गर्दछ। यही भोजकत्वको स्थिति हो।
३.४. आचार्य अभिनवगुप्त
अभिनवगुप्तको जन्म भारतको कस्मिरमा ईशाको दसौं शताब्दीको मध्यभागमा (लगभग ९५० ई.देखि ९६० ई.का बीचमा) भएको थियो। यिनले अफ्नो मूल निवास र परिवार आदिका विषयमा ‘तन्त्रलोक’ नामक ग्रन्थमा केही विवरण उल्लेख गरेका छन्। जसअनुसार यिनका पूर्वज गङ्गा र यमुनाको मध्यवर्ती क्षेत्र कान्यकुब्ज(१५)का निवासी थिए। यिनको जन्मभन्दा २०० वर्षपहिले अविगुप्त नामक एकजना अत्यन्त प्रसिद्ध विद्वान् कान्यकुब्जका तत्कालीन राजा यशोवर्माका राज्याश्रित थिए। कस्मिरनरेश ललितादित्यले कन्नौजका अधिपति यशोवर्मालाई पराजित गरे र अविगुप्तलाई ठूला आदरका साथ आफ्नो राज्य कस्मिर लिएर गए र भौतिक सुखसुविधा प्रदान गरेर सम्मनित गरे। यिनै अविगुप्तका वंशमा आचार्य अभिनवगुप्तको जन्म भएको थियो। यिनी बाल्यकालमा निकै बाठा र चञ्चल थिए। यिनी आफ्ना सहपाठीलाई असाध्यै दुःख दिन्थे। यिनको यस प्रवृत्तिका कारण यिनका गुरुले यिनको नाम अभिनव गुप्तपाद(१६) राखी दिएका थिए। गुप्तपादको अर्थ सर्प हुन्छ। यिनको जीवन त्यति सुखमय देखिंदैन। बाल्यावस्थामा नै यिनले मातृवियोग सहनु पर्यो, जुन पीडा यिनले लामो समयसम्म सम्झिए। आमाको वात्सल्यबाट वञ्चित भएको केही समयपछि यिनका पिताले पनि सन्यास ग्रहण गरे। मातापिता दुबैजनाको वियोगले यिनको जीवनको दिशा नै परिवर्तित भयो, परिणामतः साहित्यका सरस विषयमा अनासक्त भई शिवभक्ति र दर्शनशास्त्रको अध्ययनमा उनी प्रवृत्त भए। उनले आजीवन ब्रह्मचर्य व्रतको पालन गरे र उनको जीवनको अन्त्य पनि तिनको कठिन साधनाअनुरूप नै भयो। अन्तिम समयमा ती कस्मिरमा श्रीनगर र गुलमार्गका माझमा पर्ने भैरव नामक नदीका किनारमा मगम नामक स्थानमा बसे। यहाँको वातावरण र प्रकृति धेरै रमणीय थियो। आफ्नो अन्तिम समयमा यिनले त्यहाँ रहेको प्रसिद्ध भैरव गुफामा प्रवेश गरे, त्यसपछि यिनी बाहिर निस्किएर आएनन्, त्यस महायात्रामा यिनका १२०० शिष्य यिनीसँगै थिए।
अभिनवगुप्तको कुल आफ्नो विद्या, विद्वता र तान्त्रिक साधनाका निमित्त कस्मिरमा निकै प्रसिद्ध थियो। यिनको पितामह वराहगुप्त र पिता नरसिंहगुप्त थिए। यिनका पितालाई चुखुल वा चुखुलक पनि भनिन्थ्यो, यो उनको घरायसी नाम थियो। अभिनवगुप्तमा ज्ञानको तीव्र पिपासा थियो, ज्ञानतृप्तिका निमित्त यिनले कस्मिरबाहिर जालन्धरको यात्रा गरे र त्यहाँ अर्द्धत्र्यम्बक मतका प्रधान आचार्य शम्भुनाथसित कौलिक मतका सिद्धान्त र उपासनातत्त्वको अनुशीलन गरे। उनले आफ्ना गुरुको नाम निर्देशन त गरेका छैनन् तर तिनीहरूसँग अध्ययन गरेका शास्त्रको चाहिँ उलेख गरेका छन्। यिनले व्याकरणको अध्ययन आफ्ना पिता नरसिंहगुप्तसित, ब्रह्मविद्याको भूतिराजसित, क्रम र त्रिक्दर्शनको लक्ष्मणगुप्तसित, ध्वनिको भट्टेन्द्रराजसित एवं ‘नाट्यशास्त्र’को अध्ययन भट्टतोत (भट्टतौत) सित गरेको प्रसङ्ग बताएका छन्। यिनले आफ्ना गुरुको सङ्ख्या बीससम्म पुर्याएको देखिन्छ।
अभिनवगुप्त तन्त्रशास्त्र, साहित्य र दर्शनका प्रौढ आचार्य थिए र यी तीनवटै विषयमा यिनले ५० वटाभन्दा पनि धेरै मौलिक ग्रन्थ, टीका र स्तोत्रको रचना गरेको देखिन्छ। अभिरुचिको आधारमा यिनको सुदीर्घजीवन तीन कालखण्डमा विभाजन गर्न सकिन्छ। जीवनको प्रारम्भमा अभिनवगुप्तले तन्त्रशास्त्रको गहन अनुशीलन गरे र उपलब्ध प्राचीन तन्त्रग्रन्थका आधारमा यिनले अद्वैतपरक व्याख्या गरी जनमानसमा व्याप्त भ्रान्त सिद्धान्तलाई निराकरण गर्न सफल भए। यिनको अध्ययनको मध्य बिन्दु आलङ्कारिक काल हो। अलङ्कारग्रन्थको अनुशीलन र प्रणयन यस समयावधिको वैशिष्ट्य हो। यस कालखण्डका उनका तीनवटा प्रौढ रचनाहरू उपलब्ध छन्– ‘काव्यकौतुकविवरण’, ‘ध्वन्यालोकलोचन’ र ‘अभिनवभारती’। ‘काव्यकौतुक’ अभिनवगुप्तका ‘नाट्यशास्त्र’का गुरु भट्टतौतको अनुपलब्ध प्रख्यात कृति हो, जसको विवरण पनि सङ्केतित मात्र छ, उपलब्ध छैन। ‘लोचन’ आनन्दवर्द्धनको ‘ध्वन्यालोक’को प्रौढ व्याख्यानग्रन्थ हो र ‘अभिनवभारती’, भरतमुनिको ‘नाट्यशास्त्र’को पूर्णग्रन्थको पाण्डित्यपूर्ण व्याख्या हो। यो ‘नाट्यशास्त्र’को एउटामात्र टीका हो। अभिनवगुप्तको जीवनको उत्तरार्द्ध काल उनको पाण्डित्यको उत्कर्षको युग हो, यसलाई उनको दार्शनिक अवधारणाको युग मानिन्छ। अभिनवगुप्तको व्यक्तित्व असाध्यै रहस्यमय मानिन्छ। यिनले रससिद्धान्तको मनोवैज्ञानिक व्याख्या(१७) गरेर अलङ्कारशास्त्रलाई दर्शनको उच्चता दिलाए।
३.४.१. आचार्य अभिनवगुप्तको रससूत्रसम्बद्ध व्याख्या
अभिव्यक्तिवादलाई अभिव्यञ्जनावाद पनि भनिन्छ, यो आचार्य अभिनवगुप्तको मत हो। यद्यपि यस मतको उठान आचार्य भट्टनायकको मत भुक्तिवादसँगसँगै भएको मानिन्छ, किनभने यी दुबैले एकअर्काका मतको खण्डनमण्डन गरेका छन्। यसरी अभिनवगुप्त र भट्टनायक दुबैजना समकालिक हुन् भन्ने अनुमान पनि गर्न सकिन्छ। आचार्य अभिनवगुप्त दार्शनिक र साहित्यप्रेमी दुबै थिए। यिनले अभिव्यक्तिवाद आचार्य आनन्दवर्द्धनको सिद्धान्त ध्वनिलाई आधार मानेर प्रतिष्ठापित गरेका हुन्। हुन त यसको निष्पत्तिका सन्दर्भमा अभिव्यक्ति शब्द यिनले आचार्य भरतमुनिको ‘नाट्यशास्त्र’बाट नै ग्रहण गरेका हुन्।(१८) आचार्य अभिनवगुप्तका अनुसार सामाजिक (भावक र प्रेक्षक)का अन्तस्करणमा रहेको स्थायीभाव नै रसानुभूतिको साधन हो, किनभने मनको संवेग वा वासना रति आदि स्थायीभाव संस्कार रूपमा सामाजिक (भावक र प्रेक्षक)को अन्तर्वत्तिमा रहने गर्दछ। त्यही स्थायीभाव विभावादिको उपस्थितिमा साधारणीकृत हुन गई सक्रिय हुन्छ, जसबाट सामाजिक (भावक र प्रेक्षक)ले रसको आस्वादन वा अनुभव गर्दछ। उनले नाट्यसूत्रको ‘अभिनवभारती’ नामक आफ्नो टीकामा रसोत्पत्तिका विवेचनाको केन्द्र सामाजिक (भावक र प्रेक्षक)को रसानुभूति नै हो भन्ने मानेका छन्। उनले आचार्य भट्टनायकद्वारा प्रयुक्त दुई व्यापार (भावकत्व र भोजकत्व)लाई काल्पनिक मान्दै तिनको प्रामाणिकतामा प्रश्नचिह्न तेस्र्याएका छन्। ‘काव्यप्रकाश’मा आचार्य अभिनवगुप्तको मतलाई यी शब्दमा अभिव्यक्ति गरिएको छ – लोकमा प्रमदा आदिबाट स्थायीभावको अनुमानमा निपुण सामाजिक (भावक र प्रेक्षक)को, काव्य तथा नाटकमा कारणत्व आदि छोडेर विभावन आदि व्यापारले युक्त हुनाले विभावादि शब्दद्वारा व्यवहार्य तिनै (प्रमदा आदि रूप कारण, कार्य सहकारी)बाट यो मेरै हो वा शत्रुको नै हो वा तटस्थको नै हो अथवा यो मेरो नै होइन, न शत्रुकै हो र न तटस्थकै हो आदि सम्बन्धविशेषको स्वीकार वा परिहार गर्न निश्चय गरिनुको कारण साधारण रूपले प्रतीत हुने विभावादिबाट नै अभिव्यक्त हुने र सामाजिक (भावक र प्रेक्षक)मा वासना रूपमा अवस्थित रति आदि स्थायीभाव प्रमातृभावमा अवस्थित भएर पनि साधारण उपायको बलले त्यसै वेला परिमित प्रमातृभाव नष्ट हुन जानाले वेद्यान्तरको सम्पर्कद्वारा शून्य र अपरिमित प्रमातृभाव जसमा उदित भएको छ, त्यस्तो सामाजिक (भावक र प्रेक्षक)द्वारा समस्त भावकका साथ समान ढङ्गले आत्मतुल्य अभिन्न हुँदाहुँदै पनि, आस्वादको विषय भएर, केवल आस्वादस्वरूप, विभावादिको उपस्थिति पर्यन्त रहने, पानक–रसन्याय(सर्बतबाट प्राप्त हुने आस्वाद्य पक्ष) बमोजिम आस्वाद्यमान, साक्षात् प्रतीत भए झैं, हृदयमा प्रतीत भए झैं, समस्त अङ्गलाई आलिङ्गन गर्दछ झैं, अन्य सबै वस्तुलाई तिरोभूत गर्दछ झैं, ब्रह्म–साक्षात्कारकै अनुभव गराउँदो झैं, अलौकिक चमत्कृति उत्पन्न गर्ने शृङ्गारादि रस हुने गर्दछ।(१९) आचार्य मम्मटले आचार्य अभिनवगुप्तको उक्त मताङ्कित नाट्यसूत्रको टीका ‘अभिनवभारती’बाट जस्ताको तस्तै उद्धृत गरेका छन्। आचार्य अभिनवगुप्तका उद्धृत यी विचार संश्लिष्ट छन्। यी भोजकत्वलाई रसको स्वभाव मान्दछन् र भावकत्वलाई भावको विशेषता, आचार्य भरतमुनिका अनुसार काव्यको अर्थलाई प्रकट गर्ने तत्त्व भाव हो।(२०) यसकारण भावकत्व र भोजकत्व व्यापारको कल्पनालाई अभिनवगुप्त सङ्गतिपूर्ण मान्दैनन्।
आचार्य अभिनवगुप्तको प्रस्तुत अभिव्यक्तिवाद वा अभिव्यञ्जनावादबाट निम्न तथ्य उजागर हुन्छ –
क. यी शब्दको अर्थप्रकाशन र साधारणीकरणको मूल कारण व्यञ्जनाको विभावना व्यापारलाई र रसलाई व्यङ्ग्य मान्दछन्।
ख. स्थायीभाव व्यङ्ग्य हो र विभावादि व्यञ्जक हो, त्यस्तै व्यञ्जक–व्यङ्ग्य सम्बन्ध नै यिनको संयोग हो।
ग. व्यञ्जनाको विभावना व्यापारबाट विभाव र स्थायीभावको साधारणीकरण हुन्छ, साधारणीकरण र सामाजिक (भावक र प्रेक्षक)का अन्तस्करणस्थित वासनाको संवाद हुन्छ, अर्थात् नायक आदि अनुकार्यको भावले सामाजिक (भावक र प्रेक्षक) वा सामाजिक (भावक र प्रेक्षक)का अन्तस्करणमा स्थित वासनारूपी भावलाई जागृत तुल्याउँदछ।
घ. उपर्युक्त अवस्थामा सामाजिक (भावक र प्रेक्षक)को सुषुप्त स्थायीभाव निर्वैयक्तिक हुन पुग्नाले ब्रह्मको आस्वादनतुल्य आनन्दलाई आस्वादन गर्न सक्षम हुन्छ।
ङ. यस्तो अलौकिक चमत्कार उत्पन्न गर्ने शृङ्गारादि रस हो।
४. निष्कर्ष
काव्यशास्त्रीय चिन्तन परम्परामा देखापरेको साहित्यिक मान्यता र रसविवेचनको स्वर्णयुगका रुपमा भट्टलोल्लट, श्रीशंकुक, भट्टनायक, अभिनवगुप्त आदि आचार्यहरुको युगलाई लिन सकिन्छ, ऐतिहासिक दृष्टिले पनि यो समय एउटा व्याख्यात्मक र कार्यात्मक चरणका रुपमा रहेको स्पष्ट हुन्छ। रससूत्रमा रहेका शब्दशब्दको विवेचना प्रक्रियाले पूर्वको काव्यचिन्तन अतिविस्तृत बनेको देखिन्छ र रसको व्याख्या, रससंख्या र भावहरुको सूक्ष्म मान्यताले फराकिलो समेत बन्दै गएको प्रतीत हुन्छ। भट्टलोल्लट, श्रीशङ्कुक र भट्टनायकले भरतको रससूत्रलाई लिएर विशद व्याख्या गरे भने अभिनवगुप्तले नाट्यशास्त्रको अभिनवभारती टीका लेखेर रसका सन्दर्भमा देखा परेका सम्पूर्ण विरोधाभास वृत्तिलाई शमन गरे। यसपछि कविराज विश्वनाथ, शारदातनय, भानुदत्त र पण्डितराज जगन्नाथ जस्ता प्रखर आचार्यहरुको समर्थनमा जल्दोबल्दो बनेको रससूत्रले त्यसपछिको समयमा पनि सक्रिय र क्रियाशील हुने मौका प्राप्त गर्यो। विश्वनाथ रसतत्त्व नै काव्यको एकमात्र मुख्य लक्ष्य वा आत्मा हो भन्ने धारणा राख्दछन्।(२१) विश्वनाथद्वारा अभिव्यक्त यही धारणाकै कार्यपीठिकामा पण्डितराज जगन्नाथ उभिएको देखिन्छ। उनी भन्दछन् – जब भावक र प्रेक्षकको अनादिकालीन वासनास्वरुप रत्यादि स्थायीभाव प्रकाशमय वास्तविक रुप आनन्दसँग प्रत्यक्षीकृत हुन्छ, अनि मात्र रसका रुपमा परिणत हुन जान्छ। वासना रुपमा विद्यमान स्थायीभावादिका कारण रसस्वरुपलाई भोग्ने प्रमाता नै काव्यात्मभूत रसादि रुपको प्रथम चेतना हो।(२२) निष्कर्षमा अलौकिक विभावादिहरुबाट अभिव्यञ्जित हुने हुनाले, एकसाथ समस्त सामाजिकको दुःखभन्दा अभिन्न भई आनन्द प्रदान गर्ने हुनाले, कार्य एवं ज्ञाताज्ञातादिबाट टाढा रहने हुनाले, निर्विकल्प वा वैकल्पिक ज्ञानको विषयवस्तु नहुने हुनाले, नित्य र अनित्यभन्दा भिन्न हुने हुनाले, भूत, भविष्य र वर्तमान कुनै पनि कालखण्डसँग सम्बद्ध नहुने हुनाले तथा प्रत्यक्ष र परोक्षभन्दा पनि फरक हुने हुनाले रस अलौकिक तत्त्व मानिन्छ। रस सिद्धान्त संस्कृत सौन्दर्य चिन्तनको लामो ऐतिहासिक विकासको प्रतिफल हो। रस सिद्धान्तका निर्माणमा धेरै विद्वान् र विचारकहरूको परिश्रम खर्च भएको छ। ईशाको प्रथम शताब्दीदेखि अहिलेसम्म आउँदा संस्कृत सौन्दर्य चिन्तनका क्षेत्रमा रस सिद्धान्तबारे प्रशस्तै चर्चा परिचर्चा हुँदै आएका छन्। काव्यलाई केन्द्रविन्दुमा राखेर संस्कृत साहित्य चिन्तन विकसित भएको छ। प्रायशः सबै विचारकहरूले काव्यलाई ‘शब्दार्थको समष्टि'(२३) , ‘रसात्मक वाक्य’(२४), ‘रमणीयार्थप्रतिपादक शब्द'(२५) आदिका रूपमा परिभाषित गरेको पाइन्छ। काव्यको प्रयोजनका रूपमा प्रायशः सबैबाट धर्म, अर्थ काम, मोक्ष जस्ता चार पुरुषार्थसहित कीर्ति तथा प्रीति आदिलाई लिइएको छ र यी मध्ये प्रीति अर्थात् आनन्दलाई प्रधानता दिइएको छ।(२६) संस्कृत साहित्य चिन्तनमा विभिन्न सम्प्रदाय वा धाराहरू विकसित हुँदै आएका छन्। त्यस प्रकारका सम्प्रदायहरूलाई मूलतः यसरी प्रस्तुत गर्नसकिन्छ– रसवाद, अलङ्कारवाद, रीतिवाद, ध्वनिवाद र वक्रोक्तिवाद। रसवादका संस्थापक भरतमुनि (प्रथम शताब्दी) हुन् र यिनले रसलाई प्रधानता दिएका छन्। अलङ्कारवादलाई नयाँ आयाममा प्रस्तुत गर्ने कामको थालनी भामह (पाँचौं शताब्दी)बाट भएको छ र यिनले अलङ्कारमा विशेष जोड दिएका छन्। रीतिवादका संस्थापक वामन (आठौं शताब्दी) हुन् र यिनले रीतिलाई काव्यको आत्मा मानेका छन्। ध्वनिवादका संस्थापक आनन्दवर्द्धन (नवौं शताब्दी) हुन् र यिनले ध्वनिलाई काव्यको आत्मा मान्दछन्। वक्रोक्तिवादका प्रवर्तक कुन्तक (दसौं शताब्दी) हुन् र यिनले वक्रोक्तिलाई काव्यको प्राण मान्दछन्। संस्कृत काव्य चिन्तनको इतिहासमा रसवादी धाराले भावपक्षलाई र अलङ्कारवादी धाराले रूपपक्षलाई प्रधानता दिँदै आएका छन्। ध्वनिवादले रसलाई प्राथमिक स्थानमा राख्दै यी दुवै धाराका बिच सामञ्जस्य ल्याउने प्रयास गरेको छ। यी सबै धारा वा सम्प्रदायका केन्द्रमा भने रसवाद नै रहेको छ। सिद्धान्ततः रस सम्प्रदायका प्रवर्तक आचार्य भरतमुनिले स्पष्ट रुपले रसको प्रधानता स्वीकार गरेका छन्(२७), जुन काव्यशास्त्रका क्षेत्रमा वर्तमान युगीन परिवेशमा समेत कुनै न कुनै रुपमा सर्वस्वीकार्य नै देखिन्छ।
पादटिप्पणीहरू :
१. रसो वै सः। रसं ह्येवायं लब्ध्वानन्दी भवति – तैतरीयोपनिषद् २।७
२. विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिः – भरतमुनि
३. न तज्ज्ञानं न तच्छिल्पं न सा विद्या न सा कला। नासौ योगो न तत्कर्मनाट्येऽस्मिन यन्न दृश्यते। – भरतमुनि
४. मुनिना भरतेन यः प्रयोगो भवतीष्वष्टरसाश्रयः प्रयुक्तः। ललिताभिनयं तमद्य भर्ता मरुतां द्रष्टुमनाः सलोकपालः। – कालिदास
५. एवं द्वादशसाहस्रैः श्लोकैरेकं तदद्र्धतः। षड्भिः श्लोकसहस्रैर्यः नाट्यवेदस्य सङ्ग्रहः। । – शारदातनय
६. वाक्यं रसात्मकं काव्यम् – विश्वनाथ
७. ती एघारवटा स्थायीभाव हुन् – रति, हास, शोक, उत्साह, क्रोध, भय, घृणा, विस्मय, निर्वेद, वात्सल्य र ईश्वर विषयक प्रेम।
८. विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिः (रससूत्र)
९. भाट्टं प्राभाकरं वैयाकरणं च पक्षं सूचयति।
१०. विभावैलर्लनोद्यानादिभिरालम्बनोद्दीपनकारणैः रत्यादिको भावो जनितः, अनुभावैः कटाक्षभुजाक्षेपप्रभृतिभिः कार्यैः प्रतीतियोग्यः कृतः, व्यभिचारिभिर्निर्वेदादिभिः सहकारिभिरूपचितो मुख्यया वृत्या रामादावनुकार्य तद्रूपतानुसन्धानान्नर्तकेऽपि प्रतीयमानो रस इति भट्टलोल्लटप्रभृतयः।
११. कवि बुधमनः सिन्धुशशाङ्कः
१२. ती दुईवटा श्लोक हुन् –
अभिधा भावना चान्या तद्भोगीकृतिरेव च। अभिधाधामतां याते शब्दार्थालङ्कृती ततः।।
भावनाभाव्य एषोऽपि शृङ्गारादिगणो मतः। तद्भोगीकृतिरूपेण व्याप्यते सिद्धिमान्नरः।।
१३. अभिधातो द्वितीयेनांशेन भावकत्वव्यापारेण भाव्यमानो रसोऽनुभवस्मृत्यादिविलक्षणेन रजस्तमोनुवेध वैचित्र्यबलाद्धृदिविस्तारविकासलक्षणेन सत्त्वोद्रेकः स्वप्रकाशानन्दमयनिजसंविद्विश्रांतिलक्षणेन परब्रह्मास्वादसविधेन भोगेन परं भुज्यते इति – हृदयदर्पण।
१४. न ताटस्थ्येन नात्मगतत्वेन रसः प्रतीयते, नोत्पद्यते, नाभिव्यज्यते अपितु काव्ये नाट्य चाभिधातो द्वितीयेन विभावादिसाधारणीकरणात्मना भावकत्वव्यापारेण भाव्यमानः स्थायी, सत्त्वोद्रेकप्रकाशानन्दमयसंविद्विश्रान्तिसतत्वेन भोगेन भुज्यते इति भट्टनायकः।
१५. हालको भारत, उत्तरप्रदेशको कन्नौज
१६. अभिनवगुप्तस्य कृतिः सेयं यस्योदिता गुरुभिराख्या – तन्त्रलोकः
१७. अभिव्यञ्जनावाद वा अभिव्यक्तिवाद
१८. एवमेते काव्यरसाभिव्यक्तिहेतवः, एकोनपञ्चाशद्भावाः प्रत्यवगन्तव्याः एभ्यश्च सामान्यगुणयोगेन रसाः निष्पद्यन्ते।
१९. लोके प्रमदादिभिः स्थाय्यनुमानेऽभ्यासपाटववतां काव्ये नाट्ये च तैरेव कारणत्वादिपरिहारेण विभावनादिव्यापारत्वादलौकिकविभावादिशब्दव्यावहाय्र्यैर्ममैवैते, शत्रोरेवैते, तटस्थस्यैवैते, न ममैवैते, न शत्रोरेवैते, न तटस्थस्यैवैते, इति सम्बन्धविशेषस्वीकारपरिहारनियमानध्यवसायात् सादारण्येन प्रतीतैरभिव्यक्तः सामाजिकानां वासनात्मकतया स्थितः स्थायी रत्यादिको नियतप्रमातृगतत्वेन स्थितोऽपि साधारणोपायबलात्तत्कालविगलितपरिमितप्रमातृभाववशोन्मिषितवेद्यान्तरसम्पर्कशन्यापरिमितभावेन प्रमात्रा सकलसामाजिकसंवादभाजा साधारण्येन स्वाकार इवाभिन्नोऽपि गोचरीकृतश्चव्र्यमाणतैकप्राणः, विभावादिजीवितावधिः, पानकरसन्यायेन चव्र्यमाणः पुर इव परिस्फुरन्, हृदयमिवप्रविशन्, सर्वाङ्गीणमिवालिङ्गन्, अन्त्यसर्वमिव तिरोदधद्, ब्रह्मास्वादमिवानुभावयन् – काव्यप्रकाश
२०. काव्यार्थान् भावयन्ति इति भावाः
२१.गुणाः शौर्यादिवत्, अलंकाराः कटककुण्डलादिवत्, रीतयोऽवयवसंस्थानविशेषवत् देहद्वारेणैव शब्दार्थद्वारेण तस्यैव काव्यस्यात्मभूतं रसमुत्कर्षयन्तः – विश्वनाथ।
२२. परिमितप्रमातृत्वादिनिजधर्मेण स्वप्रकाशतया वास्तवेन निजस्वरुपानन्देनसह गोचरीक्रियमाणः प्राग्विनिर्दिष्टं वासनारुपो रत्यादिरेव रसः – जगन्नाथ
२३. शब्दार्थौ सहितौ काव्यम् – भामह।
२४. वाक्यं रसात्मकं काव्यम् – विश्वनाथ।
२५. रमणीयार्थप्रतिपादकः शब्दः काव्यम् – जगन्नाथ।
२६. धर्मार्थकाममोक्षेषु वैचक्षण्यं कलासु च
करोति कीर्तिं प्रीतिं च साधुकाव्यनिषेवणम् – भामह।
२७. नहि रसादृते कश्चिदप्यर्थः प्रवर्तते– भरतमुनि।
५. सन्दर्भग्रन्थ :
१. आनन्दबर्द्धन, (२०४२), ध्वन्यालोक, तृतीय संस्करण, वाराणसी : ज्ञानमण्डल लिमिटेड ।
२. कालिदास, (ई. १९६९) विक्रमोर्वशीय, वाराणसी : मोतीलाल बनारसी दास ।
३. उपाध्याय, केशवप्रसाद, डा., (२०३९), पूर्वीय साहित्य सिद्धान्त, काठमाण्डौ : साझाप्रकाशन ।
४. गुप्त, गणपतिचन्द्र, (ई. १९९५), संस्कृत एवं पाश्चात्य काव्यसिद्धान्त, इलाहाबाद : लोकभारती प्रकाशन ।
५. पं. जगन्नाथः, (१९९७), रसगङ्गाधर, वाराणसी : चौखम्बा विद्याभवन ।
६. दण्डी, (ई. १९७५), काव्यादर्श, वाराणसी : चौखम्बा विद्याभवन ।
७. नगेन्द्र, (ई. १९९५), रस सिद्धान्त, दिल्ली : नेसनल पब्लिसिङ्ग हाउस ।
८. भरतमुनि, (२०२८), नाट्यशास्त्र, वाराणसी : काशीहिन्दूविश्वविद्यालय ।
९. भामह, (२०१९), काव्यालङ्कार, पटना : विहार राष्ट्रभाषा परिषद् ।
१०. मम्मट, (२०४२), काव्यप्रकाश, वाराणसी : ज्ञानमण्डल–लिमिटेड ।
११. घिमिरे, रमेश, (२०६६ श्रावण २९ ) भयानक रस र भयवादका सापेक्षतमा रस : एक समीक्षा, धरान : भयवाद : वैचारिक चिन्तन : विमोचन तथा परिचर्चा समारोहमा प्रस्तुत टिप्पणी ।
१२. मिश्र, रामचन्द्र, (१९९८), संस्कृतसाहित्येतिहास, वाराणसी : चौखम्बा विद्याभवन ।
१३. गैरोला, वाचस्पति, (ई. १९७५), संस्कृत साहित्यका इतिहास, वाराणसी : चौखम्बा विद्याभवन ।
१४. विश्वनाथ, (२०६४), साहित्यदर्पण, वाराणसी : चौखम्बा कृष्णदास अकादमी ।
१५. विश्वनाथशास्त्री–भारद्वाज, (२०१६), संस्कृतसाहित्येतिहासः, वाराणसी : श्रीसङ्कटा–प्रकाशन–मण्डल ।
१६. शुक्लयजुर्वेदसंहिता, (१९७८) वाराणसी : मोतीलाल बनारसी दास ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्