Header Ads

बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक

कृष्णप्रसाद कोइराला
उपप्राध्यापक
पिण्डेश्वर विद्यापीठ


१. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम
नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् १९४४ देखि १९८५ सम्मको प्रथम चरणमा नेपाली समाज नाटक संस्कृतका केही अनूदित र रूपान्तरित स्वरूपमा देखा परेको नेपाली नाट्यविधा वि. सं. १९८६ देखि वि. सं २००७ सम्मको दोस्रो चरणमा सामाजिक, मौलिक, शिल्पगत नवीनता, संवादात्मक संक्षिप्तता, स्वच्छन्दता र पाश्चात्य नाटक सिद्धान्तद्वारा प्रभावित देखिन्छ र वि. सं. २००८ देखि हालसम्मको तेस्रो चरणमा  मनोविश्लेषणात्मक, व्यङ्ग्यात्मक, प्रतिकात्मक, भावात्मक, आञ्चलिक आदि विशेषताहरू दिँदै अघि बढेको पाइन्छ । नेपाली नाट्य साहित्यलाई आधुनिकताको पाइलामा पदार्पण गराउने श्रेय नाट्य सम्राट् बालकृष्ण समलाई जान्छ ।

१.१ समको जीवनीसार
प्रथम आधुनिक मौलिक नाटककार बालकृष्ण सम बहुमुखी प्रतिभाका व्यक्तित्व हुन् । डमर शमशेरका नाति तथा शमरशमशेर अनि माता कीर्ति राज्य लक्ष्मी देवीका माहिला सुपुत्रका रूपमा समको जन्म वि.सं. १९५९ साल माघ २४ गते शुक्रवार दिन काठमाडौँको ज्ञानेश्वरमा भएको हो । बालककाल देखि नै साहित्य सिर्जनामा लगेका समले आइ. एस्सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्, यद्यपि उनले स्वअध्ययनबाट ज्ञान, विज्ञान, संस्कृति, कला जस्ता क्षेत्रबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाएका छन् र उनी राणा परिवारका शमशेर भए पनि २००७ सालपछि जनतालाई दुःख दिने राणाहरूले लेख्ने शमशेरबाट शेर हटाएर सम थर राखेका हुनाले उनलाई सोही नामबाटै बढी चिनिन्छ । उनले चित्रकला, निर्देशन, अभिनय, कविता, निबन्ध तथा जीवनी लेखन जस्ता क्षेत्रमा कलम चलाए पनि उनको सफलताको क्षेत्र भनेको नाट्यक्षेत्र नै हो। पूर्णाङ्की तथा एकाङ्की दुवै क्षेत्रमा उत्तिकै कुशलताका साथ कलम चलाउने समले ऐतिहासिक, पौराणिक, सामाजिक तीनै विषयवस्तुका नाटकहरू लेखेका छन् । उनको एकाङ्की लेखन पनि दुःखान्त, सुखान्त, ऐतिहासिक र प्रयोगशील प्रवृत्तिमा विन्यस्त छन् । समले मुटुको व्यथा (१९८६), अन्धवेग (१९९६), प्रेमपिण्ड (२००९), अमरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२) जस्ता दुःखान्त नाटकहरू लेखेका छन् भने ध्रुव (१९८६), प्रह्लाद (१९९४), मुकुन्द इन्दिरा (१९९४), म (२००२), ऊ मरेकी छैन (२०३५) जस्ता सुखान्त नाटकहरू पनि लेखेका छन् । उनको स्वास्नी मान्छे (२०३३) जस्तो प्रयोगशील नाटक पनि प्रकाशित छ । उनको आगो र पानी खण्डकाव्य तथा चीसो चुल्हो महाकाव्य पनि प्रकाशित छ । उनको बालकृष्ण समका प्रतिनिधि कविता नामक कवितासङ्ग्र्रह पनि प्रकाशित देखिन्छ । हाम्रा राष्ट्रिय विभूतिहरू (२०२४) नामक जीवनी सङ्ग्रह पनि उनले प्रकाशित गराएका छन् । दुई दर्जन भन्दा बढी एकाङ्की सिर्जना गर्ने सम एकाङ्कीका तहमा पनि तीनै खालका (सामाजिक, पौराणिक, ऐतिहासिक) विषयवस्तुहरू अवलम्बन गर्छन् । बौद्धिक तथा शास्त्रीय पारामा नाटक तथा एकाङ्की सिर्जना गर्ने सम रेडियो नेपालका डाइरेक्टर (निर्देशक), पृथ्वी प्रज्ञा पुरस्कारका विजेता तथा एक सफल लेखक तथा स्रष्टा हुन् । नाट्यसम्राट् समले त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधिको सम्मान पाउनुका साथै लामो समयसम्म साहित्य सेवा गर्दागर्दै वि. सं. २०३८ साल श्रावण ६ गते यस संसारबाट विदा हुन पुग्छन् ।

१.२ समको नाट्यप्रवृत्ति
नेपाली साहित्यमा मौलिक र सामाजिक नाटक लेखी आधुनिक प्रवृत्ति भित्र्याउने नाट्यसम्राट् बालकृष्ण सम (१९५९—२०३८) नेपालका पहिला आधुनिक नाटककार हुन् । अङ्ग्रेजी नाटकका शेक्सपियरको नाट्यरचना—शैलीबाट अत्यधिक प्रभावित रहेका समले ह्यानरिक इब्सन र जर्ज बर्नाड शबाट प्रेरित भएर पनि नाट्यरचना गरेका छन् । अङ्क र दृश्यको समुचित विभाजन गरी अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दोबद्ध पद्यात्मक नाटक रच्ने प्रेरणा समले शेक्सपियरबाट ग्रहण गरेका हुन् । यिनी गद्य र पद्य दुबै ढाँचाका भाषाका प्रयोग गरी नाटकको रचना गर्दछन् । त्यस्तै यिनले सुखान्त र दुःखान्त दुबै खाले कथानकलाई नाटकमा प्रस्तुत गरेका छन् । उनका नाटकहरू ऐतिहासिक, पौराणिक र सामाजिक गरी तीनै खाले विषयवस्तुमा आधारित छन् । उनले खासगरी शेक्सपियरको शैलीका स्वच्छन्दतावादी भावधारालाई अपनाएको देखिन्छ । तथापि यिनका नाटकमा ईब्सन र शका जस्ता समस्यामूलक यथार्थवादको प्रयोग पाइन्छ । उनी नाट्यकलाको पूर्वीय साहित्य शास्त्रीय चिन्तनलाई पनि आफ््ना नाट्यरचनामा स्थान दिन्छन् । त्यस्तै उनले नाटकमा गीतको प्रयोग गर्ने परिपाटीलाई स्थान दिएर नेपाली लोकनाट्यकलाको पनि उपयोग गरेको पाइन्छ । उनले प्रायः घटनाप्रधान नाटकहरू सर्जिएका भए तापनि उनका नाटकमा पात्रहरूको चरित्रचित्रण अति प्रभावकारी ढंगमा भएको पाइन्छ । उनका नाटकहरूले समाजसुधारको उच्च आकाङ्क्षालाई प्रकट गरेका हुन्छन् । नेपाली समाजमा रहेका अन्धविश्वास, बालविवाह, अनमेल विवाह, बहुविवाह जस्ता कुप्रथा र वेश्यावृत्ति, जुवा, मदिरापान जस्ता दुराचरण आदिका दुष्परिणाम दर्साएर उनले समाजलाई सुधारको मार्गमा चल्न प्रेरित गरेका छन् । उनले आफ्ना नाट्यरचनाका माध्यमबाट राष्ट्रप्रेम, जातीप्रेम, मित्रप्रेम, पितृभक्ति, पतिभक्ति, संस्कृतिको रक्षा, मानवतावाद, भाइचारा आदि उच्च आदर्शवादी चिन्तन र विचारहरू प्रकट गरेका छन् । उनका नाटकहरू बौद्धिकताले भरिपूर्ण हुन्छन् । यिनको भाषाप्रयोगमा तत्समता, शब्दाडम्बर, अनेकार्थकता र घुमाउरोपना पाइन्छन् । उनको नाटकमा लामालामा संवाद र उच्च बौद्धिक दार्शनिक आग्रह पोखिएका हुन्छन् । उनले प्रशस्त नाटक लेखी नेपाली नाट्यसाहित्यको श्रीबृद्धि गरेको हुँदा यिनलाई नाट्यसम्राट् भन्नु उचित देखिन्छ ।

१.२.१ नाट्यप्रवृत्तिका वैशिष्ट्यहरू
 -       नेपाली नाटकलाई आधुनिकतामा पुर्याउने आधुनिक नाटककार,
 -       गद्य तथा पद्य दुवै शैलीमा नाटक लेख्ने नाटककार,
 -       सुखान्त दुःखान्त दुवैखालका नाटक लेख्ने नाटककार,
 -      ऐतिहासिक पौराणिक तथा सामाजिक तीनै प्रकारका नाटक लेख्ने नाटककार,
 -       परिष्कारवादी शैली शिल्पको नाटक लेख्ने नाटककार,
 -       दार्शनिक बौद्धिक नाटककार,
 -       पूर्वीय पाश्चात्य दुवै ढाँचामा नाटक लेख्ने नाटककार आदि

२ मुकुन्द इन्दिरा नाटक :
मुकुन्द इन्दिरा नाटक समको ध्रुव (१९८६) र प्रह्लाद (१९९४) पछिको तेस्रो संयोगान्त नाटक हो । यो वि. सं. १९९४ सालमा प्रकाशित भएको हो । मञ्चमा प्रदर्शन भई प्रसिद्धि कमाएको यस नाटकमा नेपाली सामाजिक मनोवैज्ञानिकताको सफल प्रयोग पाइन्छ । यो नाटक पाँच अङ्क र अठार दृश्यमा संरचित छ । पहिलो, दोस्रो र पाँचौं अङ्कमा तीनतीन दृश्य, तेस्रो अङ्कमा पाँच दृश्य र चौथो अङ्कमा चार दृश्य रहेको प्रस्तुत नाटक सुखान्त कथानकलाई समेटी उभिएको छ । नाटकीय रचना विधानका आधारमा यस नाटकको विश्लेषण यस प्रकार गरिन्छ :—

२.१ कथानक
पाटन सहरका मध्यमवर्गीय साहू रूपनारायण श्रेष्ठको एउटा मात्र छोरो मुकुन्द उच्च शिक्षा ग्रहण गर्न कलकत्ता गएको पृष्ठभूमिबाट यस नाटकको कथावस्तु सुरु भएको छ । कलकत्तामा मुकुन्द कुसङ्गत, कुलत र सहरिया रमझममा आकर्षित भई आफ्नो घर, आमाबाबु, पत्नी, राष्ट्र आदि सबै चिज उसले बिर्सेको छ । घर आउन आग्रह गरी बाबुले पत्र पठाउँदा ऊ त्यसको जवाफ फर्काउन समेत छोड्छ । छोराको यस्तो चालाढाला देखे रूपनारायण अति चिन्तित हुन्छन् । उनको यस्तो अवस्था र मुकुन्दकी पत्नी इन्दिराको विरही यौवन देख्न नसकी भवदेव मुकुन्दलाई लिन कलकत्ता जान्छन् । त्यहाँ गएर भवदेव मुकुन्दलाई फर्काउन निकै प्रयास गर्छन् र केही नलागेपछि इन्दिराको सतीत्व परीक्षण गर्ने प्रस्ताव राख्छन् । यस प्रस्तावलाई मुकुन्द मान्न तैयार हुन्छ र उसले इन्दिराको सतीत्व डगाएमा ऊ कलकत्ता फर्कन पाउने तथा नडगाएमा उसले नेपालमैं बस्नु पर्ने बाचा हुन्छ । बाचा स्वीकार गरी मुकुन्द नेपाल आउँछ र धारामा इन्दिरालाई भेटेर आँफू मुकुन्दको घनिष्ठ साथी हो भनेर आफ्नो परिचय दिन्छ । त्यसै बेला मुकुन्दका समाचारहरू बताउने भनेपछि उसलाई भोलिपल्ट बिहान बारीमा भेट्ने भनी इन्दिराले डाक्छे । छद्मवेषी मुकुन्दले इन्दिरालाई बारीमा भेटेर उसको प्रशंसा गर्दै मुकुन्दको दुश्चरित्रबारे चर्चा गर्छ । तर इन्दिरा ऊप्रति वास्ता गर्दिन । त्यसपछि अन्य प्रयासहरू गर्दै ऊ इन्दिरासमक्ष विवाहको प्रस्तावसमेत राख्नपुग्छ, तर यस्तो प्रस्ताव सुन्नासाथ इन्दिरा छद्मवेषी मुकुन्दलाई हप्काइदिन्छे । सबै प्रयास असफल भएपछि ऊ खुकुरी भिरेर राती इन्दिरा सुतेको कोठामा पुग्छ र नाङ्गो खुकुरी देखाएर तर्साउने प्रयास गर्छ । इन्दिरा उसलाई कोठाबाट निस्किन आदेश दिन्छे तर ऊ बाहिर नगई उसैलाई समाउन तम्सन्छ । इन्दिरा मौका पारी उसैले बोकेको खुकुरी चलाउन थाल्छे र उसको टाउको एवं हातमा चोटपटक लाग्छ अनि ऊ ढल्छ । त्यत्ति नै बेला भवदेव आएर त्यो ढल्ने व्यक्ति मुकुन्द नै हो भनेर चिनाउँछन् । त्यसपछि इन्दिरा पनि मूच्र्छा पर्छे । त्यसपछि मुकुन्दका बाबुआमा पनि त्यही कोठामा आइपुग्छन् । सामान्य उपचारपछि दुबै जना ब्युँझन्छन् र ती दुबैलाई कोठामैं छाडी सबै जना बाहिरिन्छन् । यसरी कथानकको अन्त्यमा मुकुन्द र इन्दिराको चीरकालपछि मिलन हुन्छ र उनीहरू अब एकअर्कासँग कहिल्यै नछुट्ने बाचा गरेपछि नाटकको अन्त्य हुन्छ ।

२.२ चरित्र र चरित्रचित्रण
मुकुन्द इन्दिरा धेरै जना पात्रहरू समावेश गरिएको नाटक हो । यस नाटकमा मुकुन्द, इन्दिरा, भवदेव, रूपनारायण, धनमती, बूढा, राजामती, विमान, पुनाचा, रमेशदास, युसुफ, अब्दुल, हुसेन, मिस्टर ज्याक्सन, मास्टर, अखतरी ज्यान आदि प्रशस्त पात्रहरू रहेका छन् । यसमा छात्रवर्ग, हात हेर्ने, नाऊ, रमेशदासको नेपाली नोकर, भरियाभरिनीहरू, ब्राह्मणहरू, डोलेहरू, कुल्लीहरू आदि अन्य सहायक पात्रहरू समेत रहेका देखिन्छन् । यी पात्रहरूमध्ये मुख्यमुख्य पात्रहरूको चरित्रचित्रण यस प्रकार छ —

२.२.१ मुकुन्द
मुकुन्द इन्दिरा नाटकको नायक र प्रमुख पुरुष पात्र मुकुन्द हो । ऊ यहाँ रूपनारायण श्रेष्ठ र धनमती देवीको एक्लो छोरो तथा इन्दिराको पतिका रूपमा प्रस्तुत भएको छ । उसको तेह्र वर्षकै उमेरमा इन्दिरासित विवाह भएको छ र त्यसपछि पढाइका क्रममा ऊ कलकत्ता गएको छ । उसले उच्च शिक्षा लिने क्रममा बी.ए. पास गरिसकेको छ । तर त्यहाँ ऊ रण्डी, रक्सी जस्ता कुलतमा फँसी पाश्चात्य सभ्यताको दुर्गुणमा बरालिएको छ । धर्मकर्म र सामाजिक संस्कारमा उसलाई विश्वास छैन । आफ्नो स्वभावजस्तै संसारका सबैलाई ठान्ने हुनाले नै ऊ आफ्नी पत्नी इन्दिराको सतीत्व परीक्षण गर्न तम्सन्छ । यसरी यस नाटकमा एउटा नकारात्मक पात्रका रूपमा मुकुन्दको चरित्राङ्कन भएको छ । त्यस्तै मुकुन्द मोजमज्जा र भोगविलासमा डुब्न चाहने भौतिकवादी चरित्रका रूपमा यस नाटकमा देखा परेको छ । ऊ दुव्र्यसन र कुमार्गमा लागी जीवन बिताउने इच्छा राख्दछ र आमाबाबुको हेरविचार, स्वास्नीप्रतिको चासो आदिबाट पन्सिई आफ्नो सामाजिक उत्तरदायित्वमा समेत ऊ ध्यान दिंदैन । इन्दिराको परीक्षा लिई आफू विजयी हुन्छु भन्ने विश्वास उसमा छ, त्यसैले यत्तिका दुर्गुणहरू हुँदाहुँदै पनि ऊ स्वाभिमानी भने छ । यसरी नाटकको सुरुमा नकारात्मक र दुष्ट चरित्र बोकेको मुकुन्द इन्दिराको सतीत्व डगाउन नसक्दा अन्त्यमा एक्कासी सुध्रिएको छ । सुरुमा इन्दिराप्रति विश्वास र वास्ता नगर्ने मुकुन्द अन्त्यमा ऊसँग नछुट्टिने बाचा गरी बसेको छ । यसरी यस नाटकमा ऊ गतिशील चरित्र बोकेको पात्र र मध्यमवर्गीय कुलतमा फँसी बिग्रिएका युवाहरूको प्रतिनिधि चरित्रको पात्रका रूपमा प्रस्तुत भएको छ ।

२.२.२ इन्दिरा
मुकुन्द इन्दिरा नाटककी प्रमुख स्त्रीपात्र एवं नायिकाका रूपमा इन्दिराको भूमिका देखापर्दछ । ऊ पाटनका साहू रूपनारायण श्रेष्ठ र धनमतीदेवीकी बुहारी एवं मुकुन्दकी पत्नी हो । ऊ कर्तव्यपरायणा, सुशील र सभ्य स्त्रीको भूमिका निर्वाह गर्दै एउटी आदर्श बुहारी र आदर्श पत्नीका रूपमा यहाँ प्रस्तुत भएकी छ । इन्दिरा पतिलाई परमेश्वर मान्दछे । ऊ मुकुन्दबाहेक अरुलाई पतिका रूपमा देख्न चाहन्न तथा नौ वर्षकै उमेरमा विवाह भएर तरुनी हुन्जेलसम्म लोग्नेबाट तिरस्कृत भएको अवस्थामा समेत लोग्नेको फिक्का तस्वीर हेरेर ऊ चित्त बुझाई बस्दछे । यस नाटकमा उसको सतीत्व डगाउन वेष बदलेर आएको मुकुन्दको आकर्षणमा इन्दिरा फँसेकी छैन र झ्यालबाट उसको कोठामा पसेको छद्मवेषी मुकुन्दको आततायी छविलाई उसले खुकुरी प्रहार गरी उसले घाइते तुल्याउँदै उसले आफ्नो सतीत्वको रक्षा गरेकी छे । त्यसैले इन्दिरा एउटी पतिव्रता आदर्श नारी चरित्र हो । उसमा धर्मकर्मप्रति असीम श्रद्धा, विश्वास र आस्था रहेको छ । ऊ मन्दिर जाने, पूजाआजा गर्ने, बत्ती कात्ने, रामायणका कथा बाच्ने आदि धार्मिक क्रियाकलापमा संलग्न हुन्छे । सासूससुराको उचित स्याहारसम्भार र रेखदेख गर्ने तथा समयोचित मानमनितो गरेर उसले गज्जबले रिझाएकी छे । उसले मध्यरात्री आफ्नो कोठामा परपुरुषको वेषमा आफ्नै पति आउँदा समेत उसलाई हप्काएर बाहिर जान निर्देश गर्दै आफ्नो साहसिकता, बहादुरी र आत्मबलको प्रदर्शन गरेकी छे । त्यसैले यस नाटकको सुरुदेखि अन्त्यसम्म चारित्रिक रूपमा परिवर्तित नभई यहाँ अटल र स्थिर मनोबल भएकी पात्रका रूपमा प्रस्तुत भएकी छ । उसले मध्यमवर्गीय नारीको प्रतिनिधित्व गर्दै यहाँ आफ्नो पतिव्रताधर्मयुक्त, धैर्य, धर्मपरायण, देशभक्तिपूर्ण र आदर्श चरित्रलाई उतार गरेकी छ ।

२.२.३ भवदेव
मुकुन्द इन्दिरा नाटकको सहायक पुरुष पात्रका रूपमा भवदेवको चरित्राङ्कन भएको छ । एउटा आदर्शवादी, विवेकी, परोपकारी, निस्वार्थ र बुद्धिमान् पात्रका रूपमा ऊ लेखकीय मुखपात्र भई यस नाटकमा देखा परेको छ । ऊ यस नाटकको सहयोगी र सत्पात्र हो । उसले रूपनारायणको बिदेसिएको र टाढिएको छोरो खोजेर ल्याइदिएको छ, पतिवियोगमा छटपटिएकी इन्दिरासित लोग्नेको मिलन गराइदिएको छ र त्यसरी नै सतीत्व परीक्षण गरी इन्दिराको चोखोपन जाँच्न खोज्ने मुकुन्दलाई वातावरण मिलाइदिएको छ । नाटकका सबै पात्रहरू भवदेवबाट उपकृत भएका छन् । ऊ यस नाटकमा देशभक्तिको प्रतीकको रूपमा समेत आएको छ । अत्यन्त माया र श्रद्धा प्रकट गर्दै उसले गरिमामय र गौरवशाली यस देशलाई गोरखनाथ, गौतम बुद्ध र राजा जनकको ज्ञानभूमि र विभिन्न जाति र वेषभूषाको सङ्गमस्थलका रूपमा स्वीकारेको छ । नाटकको सुरुदेखि अन्त्यसम्म सहयोगी र देशभक्त चरित्रका रूपमा अङ्कित भवदेव समग्रमा यस रचनामा रूपनारायणको हितैषी मित्र र मुकुन्दको उद्धारक भएर एउटा सत्पात्र, अनुकूल चरित्र र नाटककारको भाव तथा विचार पोख्ने पात्र हुन गई आधुनिकता विरोधी, सङ्कीर्ण र जातीय विभेद स्वीकार्ने कमजोरी हुँदा पनि आदर्श, विचारवान् र महत्त्वाकाङ्क्षायुक्त पात्रका रूपमा स्थापित छ ।

२.३ परिवेश
मुकुन्द इन्दिरा नाटक मूलतः काठमाण्डौ उपत्यकाको परिवेशमा लेखिएको नाटक हो । यसमा कलकत्ता र कलकत्ता जाँदा बाटामा पर्ने देउरालीको समेत स्थानाङ्कन गरिएको छ । यस नाटकको परिवेश चित्रणले देशभक्तिको भावना ओकलेको छ । मुकुन्दलाई फर्काउन कलकत्ता जाँदै गरेको भवदेवको मुखबाट देउराली पुगेपछि लेखकले आफ्ना असीम राष्ट्रवादी भावनाहरू प्रवाहित गरेका छन् । यस नाटकमा मध्यमवर्गीय नेवारी समाजको सामाजिकता वर्णित छ । धार्मिक, सामाजिक संस्कार (मन्दिरमा पूजा गर्न जाने, बत्ती कात्ने, रामायण बाच्ने आदि), बालविवाह आदि प्रथाहरूको यहाँ उल्लेख गरिएको छ । यसमा सामाजिक अन्धविश्वास, कुसंस्कार आदि समाजमा व्याप्त रहेको र मध्यमवर्गीय युवावर्ग समुचित निर्देशनको अभावमा दुव्र्यसन र कुलतमा फँसेको वृत्तान्त समेत छ । यस नाटकमा सुरुदेखि अन्त्यसम्म करिब छ महिनाको घटना वर्णन गरिएको छ र ऐतिहासिक साहित्यिक पत्रिका शारदाको र पाटनको ऐतिहासिक मन्दिर कृष्ण देवलको समेत उल्लेख छ । यस आधारमा नाटकको घटनासमय सात सालको क्रान्तिपूर्व प्रतीत हुन्छ । अतः यहाँ कथानक, चरित्र र उद्देश्यअनुकूल समुचित र जीवन्त परिवेश—योजना रहेको मान्न सकिन्छ ।

२.४ द्वन्द्व
नाटकलाई कौतुहलपूर्ण र जीवन्त तुल्याउन यस कृतिमा सशक्त ढंगले द्वन्द्वको आयोजना गरिएको छ । यसको मुख्य द्वन्द्व भनेको सांस्कृतिक द्वन्द्व हो, जसअनुसार नाटकको नायक पूर्वीय सभ्यता र हिन्दू संस्कृति प्रतिकूल र दुव्र्यसन, कुलत एवं पाश्चात्य सभ्यताको भौतिकवादी झिलिमिलीमा पूर्णतः मोहित भई लट्ठिएको देखिन्छ भने यसकी नायिका इन्दिरा पूर्वीय सभ्यता र हिन्दू संस्कृति अनुकूल छे । ऊ मन्दिर जाने, बत्ती कात्ने, रामायण बाच्ने, पतिव्रता धर्ममा अटल र दृढ रहने एवं मान्यजनमा समुचित आदर सत्कार गर्ने आदि धार्मिक र सामाजिक कार्यमा सरिक देखिन्छे । यस द्वन्द्वमा पूर्वीय संस्कृतिकी अनुयायी इन्दिराको विजय र पाश्चात्य संस्कृतिको पक्षधर मुकुन्दको पराजय भएको छ । यो द्वन्द्व नै यस नाटकको मुटु हो ।
यस नाटकमा मुकुन्दलाई फर्काउन कलकत्ता गएको भवदेव र मुकुन्दका बीचमा पनि नेपाल फर्कने वा नफर्कने सम्बन्धमा चर्को द्वन्द्व सिर्जना भएको छ । यस द्वन्द्वमा सर्त राखेपछि मात्र भवदेव मुकुन्दलाई नेपाल ल्याउन सफल हुन्छ । यी दुईवटा द्वन्द्वका अतिरिक्त यसमा अन्य सानातिना अन्तद्र्वन्द्वहरूको आयोजना पनि पाइन्छ ।

२.५ भाषाशैली
भाषा र शैलीका दृष्टिले प्रस्तुत मुकुन्द इन्दिरा नाटक परिष्कृत र उत्कृष्ट देखिन्छ । यसमा गद्य र पद्य मिश्रित भाषाका माध्यमले संवाद रचना भएको छ । अधिकांश संवाद पद्यात्मक नै छ । काव्यात्मक भाषामा विविधतायुक्त संवादद्वारा यसलाई आकर्षक तुल्याइएको छ । नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी, हिन्दी भाषाको संवाद पनि यस नाटकमा प्रयोग भएको छ । यसमा नेवारी मातृभाषा हुने पुनाचा पात्रले नेवारी लबजमा उच्चारण गरी नेपाली भाषाको प्रयोग गरेको देखाइएको छ । त्यस्तै यसमा तत्सम शब्दको बाहुल्य भएका लामालामा र बौद्धिकतापूर्ण संवादको संरचनासमेत भएको पाइन्छ, तर यसले नाटकलाई अझ आस्वाद्य तुल्याएको छ । प्रस्तुत नाटकमा भाषागत आलङ्कारिकताको चमत्कार यत्रतत्र पाइन्छ । प्रसङ्गानुकूल यसमा गीतको समेत प्रयोग गरिएको छ । मुख्यपात्रले स्तरीय नेपाली कथ्य अँगालेको पाइन्छ भने अन्य पात्रले बोल्ने भाषा विविधतायुक्त छ । मूल कथा वा उद्देश्य पूरा गर्न नाटकको मध्य भागमा अनेकौं टुक्रा र प्रसङ्गहरू जोडिएका छन् । यसमा राष्ट्रवादी स्वर ओजस्वी भाषाका माध्यमले अभिव्यक्त छ । समग्रमा यस नाटकमा संवाद, भाव र भाषाको सुन्दर संयोजन पाइन्छ ।

२.६ शीर्षक
यस नाटकमा मुकुन्द र इन्दिरा नामक दुईजना मुख्य पात्रको जीवनकथालाई कथानकका रूपमा प्रस्तुत गरिएको छ । सम्पूर्ण नाटक यिनै दुई पात्रको केन्द्रीयतामा रुमल्लिएको पाइन्छ भने यसको शीर्षक पनि यिनै दुई पात्रको नामबाट मुकुन्द इन्दिरा राखिएको छ । यो शीर्षक सामञ्जस्यमूलक छ । शीर्षकमा रहेको मुकुन्द शब्दले नाटकको प्रमुख पुरुषपात्र र नायकलाई एवं इन्दिरा शब्दले यसकी मुख्य स्त्रीपात्र एवं नायिकालाई समेटेको छ । यिनै दुई पात्रहरू यस नाटकका प्रमुख विषय पनि हुन् । यस शीर्षकले पुरुषवर्ग र नारीवर्गको छुट्टाछुट्टै प्रतिनिधित्व बोकेको छ । अतः मुकुन्द इन्दिरा शीर्षक सामञ्जस्यमूलक, उपयुक्त, सार्थक र औचित्यपूर्ण प्रमाणित हुन्छ ।

२.७ सारवस्तु
मुकुन्द इन्दिरा नाटकको मुख्य उद्देश्य नै देशभक्ति र पतिभक्तिको परिधिमा उच्च आदर्शको स्थापना गर्नु रहेको छ । यसमा लेखकीय मुखपात्रका रूपमा प्रस्तुत भवदेवका माध्यमबाट देशभक्तिसम्बन्धी बहुमूल्य उद्गारहरू प्रवाहित भएका छन् । देशभक्तिका प्रवक्ता पात्र भवदेवका अतिरिक्त रूपनारायण, इन्दिरा, मुकुन्द र अन्य गौण पात्रका मुखबाट पनि राष्ट्रवादी स्वर उरालिएका पाइन्छन् । यसको कथानकमा ठाउँठाउँमा गौतम बुद्ध, जनक, गोरखनाथ, सीता आदिको जन्मभूमि नेपालको सामाजिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक विशेषताहरूको महिमा बखानिएको पाइन्छ ।
यस नाटकको अर्को उद्देश्यमा पतिभक्ति आएको छ । हिन्दू संस्कृतिअनुरूप पतिव्रताधर्म र सच्चरित्रता आदर्श नारीका आभूषण हुन् भनी देखाउन यस नाटकमा इन्दिराका माध्यमबाट आदर्श नारीको चित्र उतारिएको छ । बालविवाहको मारमा पिल्सिएर पनि धैर्य र त्यागको आत्मविश्वासमा दृढ रही इन्दिरालाई अन्त्यमा विजयी देखाउनु आदर्श पतिभक्तिको बलियो नमूना हो । यहाँ हिन्दू धर्म र स्वदेशी संस्कृतिप्रतिको हार्दिक श्रद्धाभाव यत्रतत्र उद्घाटित भएको छ । आफ्नो परिवार, समाज र राष्ट्रलाई तुच्छ ठान्ने र रक्सी रण्डी र मोजमा डुबेर विदेशमा बरालिने एउटा शिक्षित युवकलाई सुधार्नु वा कर्तव्यबोध गराउनु यस नाटकको लक्ष्यप्राप्ति हो ।

३. उपसंहार
प्रस्तुत मुकुन्द इन्दिरा नाटकका मुख्य विशेषताहरूमा सामाजिक कथानक, मध्यमवर्गीय नेपाली जीवनजगत्को चित्रण, काठमाण्डौंदेखि कलकत्तासम्म फिंजाइएको परिवेश, मौलिक र प्रेमप्रधान कथानक, देशभक्ति र पतिभक्तिको समन्वयात्मक सन्देश, पद्यात्मक र गद्यात्मक संरचना, सुखान्त आदि पर्दछन् ।

४ सन्दर्भसामाग्रीको सूचि
उपाध्याय, केशव प्रसाद, (२०५२) समको दुःखान्त नाट्यचेतना, ललितपुर : साझा प्रकाशन ।
खनाल, प्रीति, (२०६१) अन्धवेग नाटकको कृतिपरक अध्ययन, (अप्रकाशित शोध पत्र), काठमाण्डौ : नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
थापा, अशोक, (२०६५) नाट्य समीक्षा र अन्य समालोचना, कीर्तिपुर : न्यू हिरा बुक्स ।

सम, बालकृष्ण, (२०४०) मुकुन्द इन्दिरा, ललितपुर : साझा प्रकाशन ।
Powered by Blogger.