Header Ads

आम–सञ्चार र नेपाली भाषा


कृष्णप्रसाद कोइराला

१. विषयप्रवेश
भाषा शब्द संस्कृत भाषाको भाष् धातुबाट व्युत्पन्न शब्द हो । यसको अर्थ बोल्नु वा कुराकानी गर्नु हो । हामी भाषाकै माध्यमबाट बोलेर आफ्ना मनका विचारहरू अरु समक्ष प्रस्तुत गर्छौं भने यसकै माध्यमबाट अर्काका कुरा सुनेर उसका मनका भावनाहरू बुझ्दछौं पनि । त्यसैले विचार विनिमयको सशक्त माध्यम हो भाषा र भाषा नै सञ्चारको भरपर्दो साधन पनि हो । यसकै माध्यमबाट संसारका विभिन्न भाषिक समुदायहरूले आफ्ना मनका विचार भावना, दुःखसुखका कुराहरू, मनका इच्छा, चाहना र आवश्यकता एकअर्कासँग साटासाट गर्ने गर्छन् । उत्पत्ति र विकासलाई हेर्दा सङ्केतबाट सुरु भएको सञ्चारले भाषामा आएर विकसित रूप धारण गरेको पाइन्छ । सामान्य अवस्थामा सञ्चारलाई सूचनाको आदान प्रदानका रूपमा लिने गरिन्छ । यही सूचनाको आदान प्रदानको प्रक्रिया नै सञ्चार प्रक्रिया हो । यसरी सञ्चार प्रक्रियाको पूर्णताको निम्ति चाहिने सन्देशको सम्प्रेषणका निम्ति आज भाषा एक अभिन्न अङ्कका रूपमा स्थापित भइसकेको छ ।
भाषिक आदानप्रदानको महत्त्वपूर्ण पाटो आमसञ्चार पनि हो । सामान्य अर्थमा आमसञ्चार शब्दले सञ्चार क्षेत्रको छापा र प्रसारण माध्यमको अभिव्यक्तिलाई बुझाउँछ र त्यसरी आमसञ्चार जगत्सँग जोडिएको कार्यलाई पत्रकारिता र पेसेवरलाई पत्रकार भन्ने गरिन्छ । त्यसैले भनिन्छ, भाषा र साहित्यको मेरुदण्ड पत्रकारिता पनि हो  । पत्रकारिताकै माध्यमबाट कुनै पनि भाषा र त्यसको साहित्यले जनमानसमा फैलिने मौका पाउँछ र पत्रकारिताले नसमेटेको भाषा विस्तारै सेलाउँदै जान्छ  । नेपाली भाषा र साहित्य आज जुन रूप र स्थानमा रहेको छ, त्यसको योगदानमा पनि नेपाली पत्रपत्रिका, रेडियो, टेलिभिजन, एफएम आदिको महत्वपूर्ण  स्थान छ ।

१.१. लेखनकला र छापा माध्यम
भाषाको उत्पत्तिको प्रसङ्ग कोट्याउँदै जाँदा यसको आरम्भ बिन्दु खोतल्न मानव सृष्टिको आदिकालमा नै पुग्नु गर्ने हुन्छ । सङ्केत, बोली, लेख्यरूप जस्ता लामा परम्परापछि मात्र भाषा अहिलेको ज्ञानविज्ञानको आधुनिकतम र समुन्नत माध्यम बन्न सफल भएको हो । बोलीको विकास भएको धेरै पछि मात्र भाषाको लेख्य रूपको प्रयोग भएको हो । वैज्ञानिक अन्वेषणबाट आजभन्दा लगभग ३५ हजार वर्षअघि मानिसले गुफाका भित्ता, रुखका बोक्रा आदिमा किर्मिरे र अस्पष्ट चित्रहरू कोरेको प्रमाण भेटिएका छन्, जुन हिजोआज पढ्न र बुुझ्न नसकिने अवस्थामा छन् । पाश्चात्य विद्वान्हरू अर्थपूर्ण रूपले सन्देश दिने गरी चित्रात्मक लेखनको विकास मिश्र (Egypt) बाट ईशापूर्व ५ हजारदेखि ४ हजारको बीचमा भएको मान्दछन् ।  यो क्रम विकसित हुँदै ३००० देखि १५०० ईशापूर्वका सुमेरिया निवासी आदिमानवले कोरको भनिने माटाका चक्काहरूमा पनि देखिएको अन्वेषकहरू बताउँदछन् । लेखनकलाको विकाससँगसँगै पछिल्लो चरणमा हातले लेखेरै पुस्तकहरू समेत तयार भएको पाइन्छ ।
यता पौरस्त्य वाङ्मय र साहित्यको अध्ययन गर्दा वैदिक ग्रन्थ र वाङ्मय लेखिनुभन्दा धेरै पहिले नै लेखनकलाको विकास भएको हुनुपर्छ, किनभने संसारकै प्राचीनतम ग्रन्थ मानिएको ऋग्वेदको पच्छिमाहरूले भन्ने गरेको विज्ञानसम्मत समय ( ई.पू. ३५००) लाई नै मानी दिंदा पनि आर्यावर्तका ऋषिमुनि र आचार्यहरूले मिश्रेली र सुमेरियालीहरूभन्दा धेरैधेरै पहिले नै लेख्न थालेको देखिन्छ । त्यस्तै नेपाली भाषाको विकासक्रमलाई अध्ययन गर्दा संस्कृत, प्राकृत, अपभ्रंश हुँदै आजभन्दा करिब एक हजार वर्ष पहिले कर्णालीको सिँजा प्रान्तबाट खस भाषाको विकास भएको मानिन्छ र यस भाषाको आफ्नै लेख्यरूप राजा दामुपालको शिलालेखमा सर्वप्रथम देखा परेको हो ।
भाषालाई आमसञ्चारका नजिकमा पुर्याउने पहिलो माध्यम भनेको अखबार (समाचारपत्र) हो । संसारमा सबैभन्दा पहिले ईशापूर्व ६९ मा रोमबाट ‘एक्टा डिउर्ना’ प्रकाशन सुरु भएपछि अखबारको प्रकाशन आरम्भ भएको मानिन्छ । वि.सं. १९०९ मा जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्कंदा ल्याएको गिद्दे प्रेसले नेपाली भाषाको प्रकाशनको इतिहास सुरु गरेको हो । त्यसैले नेपालमा सञ्चार माध्यमको विकास पनि गिद्धे प्रेसबाट नै सुरु भएको मान्न सकिन्छ । पछि बनारसबाट फर्कंदा मोतीराम भट्टले ल्याएको छापाखानाले अखबारी प्रकाशनको इतिहासलाई अझ माथि उचाल्ने काम गर्यो । समाचारपत्रका रूपमा वि.सं. १९५५ सालमा नेपाली भाषामा ‘सुधा सागर’को प्रकाशन हुन्छ, यो नै पहिलो नेपाली पत्रिका हो । यसको १० महिनापछि मात्र वि.सं. १९५८ जेठ ३ गते सोमबारका दिन गोरखापत्रको प्रकाशन आरम्भ भएको हो । यसपछि नेपाली अखबारको प्रकाशनले आफ्नो अविराम यात्रालाई निरन्तर रूपमा अगाडि बढाएको पाइन्छ । परिणामतः हाल नेपालमा करिब ६००० पत्रपत्रिका प्रकाशित हुने गर्दछन् ।

१.२. रेडियो र प्रसारण माध्यम
रेडियो शब्दको प्रथम प्रयोग फ्रान्सका भौतिकविद् इडौवाई ब्रान्लीले सन् १८९७ मा गरेका हुन् । उनले रेडियट भन्ने शब्दबाट रेडियो कन्डक्टर शब्दको विकास गरेका थिए  । सन् १८९६ मा इटालेली नागरिक गुग्लिएल्मो मार्कोनीले बेलायतको लण्डन र सेल्सवरी सहरमा परीक्षण गरी रेडियो तरङ्गलाई टाढाटाढा पुर्याउने सफलता प्राप्त गरे । यस्तो प्रयोग सुरुमा सैनिक प्रयोजनका लागि हुने गर्थ्यो । जिज्ञासु स्वभावका मार्कोनीले बिनातार पनि आवाजलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन सकिन्छ भन्ने पत्ता लगाएपछि विश्वमा रेडियोको अविष्कार भएको हो  । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको हो  ।  रेडियो प्रसारणसम्बन्धी विद्युत्–चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भए तापनि विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सेलभेनिया सहरबाट सन् १९१९ मा भएको थियो  । त्यस्तै जर्मनीका नागरिक हेनरिच हर्जले रेडियो तरङ्गमा उत्पादन ग्रहण गर्न सक्ने प्रविधिको विकास गरे । उनको यस योगदानलाई सम्मान गर्दै रेडियो तरङ्गको फ्रिक्वेन्सी युनिटलाई नाप्न उनकै नाममा रहेको हर्ज शब्दको प्रयोग गरिन्छ । ।
अक्टोबर सन् १९१९ मा अमेरिकाको पिटसर््बर्ग शहरमा बेस्टिङहाउस कम्पनीले पहिलो व्यावहारिक रेडियो खोलेको हो । विश्वमै पहिलो पटक नियमित रेडियो प्रसारण सेवाका रूपमा बिबिसीले आफ्नो सेवा सुरु गर्यो  । यसैक्रममा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ्ग कम्पनीको स्थापना गरेर बिबिसीलाई संस्थागत गरियो, जुन सन् १९२७ मा ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेसनका रूपमा परिणत भयो  । सन् १९२० को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो, त्यसपछि बिस्तारै बिस्तारै विश्वभर रेडियो स्थापना हुनथाले  । नेपालमा भने २० चैत्र २००७ देखिमात्र काठमाण्डौमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो  । सन् १८९६ मा इटालियन वैज्ञानिक जि. मार्कोनीले विनातार आवाज सम्प्रेषण गर्न सफलता नपाएको भए सम्भवतः विश्वमा रेडियोको इतिहास धेरै पछि पर्थ्यो होला  ।
यद्यपि नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमसेरका पालामा राणा परिवारले दरबारभित्र सुन्ने गरेको रेडियो सेट नै रेडियो तरङ्ग भित्रिएको प्रथम अवसर हो, तापनि वि. सं २००४ सालपछि मात्रै पद्म शमसेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति प्रदान गरे । वि. सं २००७ सालको क्रान्तिका क्रममा सं. २००६ मा भारतको फारबिसगञ्जबाट रेडियो ट्रान्समिटर झिकाई सुरुमा भोजपुर जिल्लाबाट र पछि विराटनगर जुट मिलबाट भूमिगत रूपमा क्रान्तिकारीहरूले रेडियो प्रसारण सुरु गरेको देखिन्छ । क्रान्तिपछि त्यही उपकरणलाई काठमाण्डौको सिंहदरबारमा ल्याई सुरुमा प्रजातन्त्र नेपाल रेडियो र पछि  रेडियो नेपालका रूपमा प्रसारण सुरु गरिएको हो  । अहिले देशैभरि फैलिएका एफएम रेडियोहरूको सुरुवात भने वि.सं. २०५२ मा रेडियो नेपालको एफएम ब्यान्डबाट भएको हो  । त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा २०५४ साल जेठबाट रेडियो सगरमाथाले प्रसारण सुरु गर्यो  । त्यसपछि मात्र निजी र सामुदायिक एफएमहरू खुल्न थाले  । अहिले देशका ७४ वटा जिल्लामा एफएम रेडियो स्थापना भइसकेका छन् भने रेडियो प्रसारण सम्बद्ध दर्ता गर्नेको पाँच सय नाघिसकेको छ । सूचना, मनोरञ्जन र शिक्षामा स्थानीय स्तरको स्वाद बोकेर एफएम रेडियोहरूले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्ययम रेडियो नै हुन पुगेको छ  ।
१.३. मिडिया, सञ्चार र आमसञ्चार
 सञ्चार लिखित, मौखिक, श्रब्यदृश्य वा साङकेतिक आदि माध्यमद्वारा क्रियाशील हुन्छ । यस सञ्चार प्रक्रियामा हुन्छ । सञ्चार प्रक्रियामाकम्तीमा दुई पक्ष सहभागी हुन्छन् – एउटा सूचना दिने ९क्भलमभच० र अर्को सूचना पाउने पक्ष ९च्भअभष्खभच० । यद्यपि यी दुई पक्षकै ज्ञानेन्द्रियहरू (आँखा, कान, घाँटी, नाक र छाला ) सञ्चार प्रक्रियामा सहभागी हुन्छन्, तर मुख र बोलीका माध्यमले भाषिक सञ्चार सम्प्रेषित हुन्छ भने श्रवणेन्द्रिय अर्थात् कानका माध्यमबाट यसलाई ग्रहण गर्न सकिन्छ । त्यसैले दुई पक्षबीच जुन मात्रामा अन्तक्र्रिया हुन्छ अर्थात् सञ्चारका साधनबाट पठाइएका सन्देश प्रापकले बुझ्न सक्छ, त्यही मात्रामा सञ्चार प्रक्रिया सफल भएको मान्न सकिन्छ ।

नेपाली भाषाको आगन्तुक शब्द मिडिया अङ्ग्रेजी भाषाभित्रको शब्द हो । माध्यम अर्थ दिने अङ्ग्रेजी भाषाकै medium शब्दको बहुवचनका रूपमा मिडिया (media) शब्दको प्रयोग हुने गर्दछ, जसको अर्थ हुन्छ : सञ्चारका साधनहरू जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि जसले सर्वसाधारणसँग पहुँच बनाएका हुन्छन् ।

त्यस्तै नेपाली शब्द सञ्चार अङ्ग्रेजी शब्द  Communication को अनुवादका रूपमा प्रयोग हुँदै आएको छ । हुन त नेपाली शब्द सञ्चार ‘सूचना दिने काम वा सूचनाको आदान प्रदान भन्ने अर्थको तत्सम शब्द हो । अङ्ग्रेजी शब्द Communication ल्याटिन भाषाको शब्द Communis  र Communicare  बाट निर्मित शब्द हो जसको अर्थ कुनै कुराको साझेदारी, आदान प्रदान गर्नु, साझा वा समान भन्ने हुन्छ । यसबाट सञ्चार भन्नाले एक अर्काबीच सूचना,विचार,धारणाहरू,जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई बुझ्न सकिन्छ । कतिपय विद्वानहरूले अङ्ग्रेजी भाषा कै Community  (समाज) शब्दबाट Communication बनेको दाबी गरेका छन् । समाजको सदस्यले आफ्ना भावना वा आफूलाई प्राप्त सूचना कुनै अर्को सदस्यलाई दिने भएकोले पनि त्यस्तो अर्थ लगाएको हुनसक्छ ।

आम र सञ्चार दुई शब्दको संयोजनबाट आमसञ्चार शब्दको निर्माण भएको हो । जस अनुसार आमको अर्थ व्यापक र सञ्चारको अर्थ सन्देश पठाउने काम भन्ने हुन्छ । आमसञ्चारलाई नै बुझाउने अङ्ग्रेजी पदावली masscommunication मा प्रयोग भएका दुई अर्थमध्ये mass को अर्थ ठूलो जनसमुदाय र  communication को अर्थ सञ्चार भन्ने हुन्छ । समष्टिमा हामी यसलाई विशाल समुदायलाई लक्षित गरेर गरिने सञ्चार भन्न सक्छौं । तर यति भनेर मात्रै आमसञ्चारलाई सम्पूर्ण रूपमा व्याख्या गर्न भने सकिदैंन । सुरुमा Mass शब्दलाई नकारात्मक र हेय दृष्टिले लिइन्थ्यो, तर अचेल सर्वसाधारण जनतालाई नै राज्यको शक्तिको स्रोतको रूपमा लिई जनबलका रूपमा सम्मान गरिने भएकाले यो शब्द सकारात्मक अर्थमा प्रयुक्त हुन्छ । अक्सफोर्ड डिक्सनरीले Mass भनेको निरुद्देश्य भेला भएका साधारण मानिसहरूको ठूलो जमात वा शैक्षिक र आर्थिक स्तर राम्रो नभएका सर्वसाधारण वा नेतृत्व क्षमता नभएका मानिसहरूको भिड वा बहुसंख्यक भनी अर्थ्याएको छ । बींसौ शताब्दीको सुरुमा अमेरिकामा यस शब्दको प्रचलन भएको मानिन्छ ।
यसरी प्रयोगका दृष्टिकोणले मिडिया, सञ्चार र आमसञ्चारको छुट्टाछुट्टै अर्थगत वैशिष्ट्य र पहिचान भए तापनि सामान्य बुझाइमा यसले सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका आदिलाई नै बुझाउँछ ।

१.४. मिडियामा भाषिक प्रयोग

सञ्चार र साहित्य दुबैको माध्यम भाषा हो । सञ्चार तथा पत्रकारिताको महत्त्वपूर्ण प्रयोजन सूचना र विचार प्रवाह गर्नुका साथै समाजको भाषा संस्कार गर्नु पनि हो । यसले लोकको रुचिसँग कुनै सम्झौता नगरिकनै भाषिक–साहित्यिक दृष्टिले स्तरयुक्त सामाग्री दिएर लोकरुचि र अभ्यासलाई प्रशिक्षित, उन्नत तथा सुसंस्कृत तुल्याउन मद्दत गर्छ । सांस्कृतिक चेतनासँग सिधै जोड्न सकिने भएकाले भाषा–शैलीको निर्माण र परिष्कारमा यसको महत्त्वपूर्ण भूमिका रहन्छ । मिडियामा भाषाहरूको प्रवेशलाई भाषिक सामर्थ्यको विकास (resource developement) का रूपमा लिइन्छ । मिडियामा सम्प्रेषण हुने भाषिक समाचार, कथा, लेख, विचार, अन्तर्वार्ता आदिले विभिन्न भाषाहरूमा बोधसामाग्री (corpus)को विकास गराउँछ । नेपालको परिप्रेक्ष्यमा रेडियो श्रव्य सामाग्रीको निर्विकल्प साधन हो, यो नेपालका सबै ठाउँमा उपलब्ध हुन्छ र यसको मूल्य पनि सस्तो नै पर्ने हुनाले सर्वसुलभ पनि हुन्छ । त्यस्तै रेडियोमा प्रसारित सामाग्री असाक्षर र सर्वसाधारणले राम्ररी बुझ्दछन् र त्यसप्रात मनन पनि गर्न सक्दछन् ।

कुनै पनि देशको मूल प्राण भनेको त्यस देशको भाषा, संस्कृति, आर्थिक सम्भाव्यता र शैक्षिक जनशक्ति नै हुन् । नेपाली भाषामा मात्र होइन, हरेक भाषामा छिमेकी भाषा वा धेरै सम्पर्कमा आउने नजिकको भाषा वा छिमेकी राष्ट्रका भाषाका शब्दहरूको प्रभाव परेको हुन्छ  । मानिसमा दोष र गुण सम्पर्कबाट आउँछन्   भनेजस्तै जुन भाषाको बढी सम्पर्क भयो, त्यसै भाषाका शब्दहरूले सम्बन्धित भाषालाई प्रभावित पार्छन् तथा राजनैतिक र सामाजिक रूपान्तरणसँगै भाषामा पनि रूपान्तरण हुने गर्दछ । साहित्यकारले जस्तै सञ्चार र पत्रकारले पनि दिग्भ्रमित समाजलाई दिशानिर्देश गर्ने र प्राचीन ज्ञानसम्पदा तथा देशको ज्ञान–चेतनामा मडारिने बादललाई आफ्नो वाक्दीप्तिले फट्टाइदिने, खण्डित सांस्कृतिक चेतनाको उन्नयनमा सक्रिय रहने, रुढिग्रस्त सामाजिक चेतनाको स्तरलाई सजग र गतिशील भविष्यतर्फ उन्मुख गराउने जस्ता भूमिका खेल्न सक्छ ।


२. विविधताभित्र एकता सञ्चरण गर्ने : नेपाली भाषा
तीन करोडको हाराहारीमा मात्र पुगेको जनसङ्ख्या र हाम्रा दुई छिमेकी देशहरूको तुलनामा  सानो आकारमा रहेको हाम्रो देश नेपालमा नस्ल, भाषा, धर्म, संस्कृति आदि विविध दृष्टिले  ठूलो विविधता प्राप्त गर्न सकिन्छ । यहाँ आर्य, मङ्कोल र अस्ट्रो–द्रविड मूल गरी विश्वका तीन ठूला मानव–जातिका मूल भएका जाति छन् । धर्मका आधारमा हिन्दू, बौद्ध, इस्लाम, किरात, प्रकृतिपूजक र ईशाई धर्मावलम्बी जनताको साझा देश हो, यो ।एउटा सानो देशमा सात दर्जनभन्दा बढी भाषाहरू भएको देश नेपाल हो । नेपालका विभिन्न भाषाहरूको विशेषताहरूबाट आकर्षित भई विश्वका कैयौं भाषाविद्हरूले नेपाललाई आफ्नो  अध्ययनको केन्द्र बनाएका छन् । यहाँ भारोपेली, भोटबर्मेली, द्रविड र आग्नेय गरी चार प्रकारका भाषा–परिवारका भाषाहरू छन् । नेपालको भाषिक, धार्मिक, सांस्कृतिक विविधता हाम्रो देशकै सम्मृद्ध निधि हुन्, राष्ट्रिय गौरव हुन् । यहाँको विविध संस्कृति एक जाति र अर्को जातिको परस्पर प्रेरणा स्रोत र परिपूरक हुन् । यो विविधताले धार्मिक र जातीय सहिष्णुता मात्र होइन–समष्टिकरणको र एकताको सिमेन्टको काम पनि गरेको छ । हाम्रो देशको विविधताको विशेषता यही हो ।
 यत्तिको विविधता हुँदाहुँदै पनि नेपाली भाषा नै सबै नेपालीको राष्ट्रिय सम्पर्क भाषा हो । नेपाल भित्र जुनसुकै मातृभाषा भएका सबै नेपालीहरू एक ठाउँमा भेला भएर सार्वजनिक सभा गर्नु पर्दा अनिवार्य रूपमा रोजिने भाषा नेपाली नै हो । नेपाली भाषा आज नेपाल, भारत र भुटान भित्र मात्र नभएर विश्वभरमा छरिएर रहेका नेपाली जातिहरूको सम्पर्क भाषा पनि हो । जुन जुन नेपाली जातिहरूले आफ्नो पुख्र्यौली थलो नेपाल हो भन्ने ठान्छन् तिनीहरूले स्वदेश र विदेशमा नेपाली भाषाकै माध्यमबाट अनेक नेपाली जातिहरूका बीचमा आफ्नो सम्पर्क र बन्धुत्व स्थापना गर्छन् । यस दृष्टिले नेपाली भाषा नेपालीहरूको जातीय सम्पर्क भाषा हो । जनगणना (२०५८) अनुसार नेपाली भाषा मातृभाषा नहुनेहरू मध्ये सबभन्दा धेरैले दोस्रो भाषाका रूपमा बोल्ने भाषा पनि नेपाली हो । नेपालमा बोलिने भाषा मध्ये सबभन्दा धेरै नेपालीले बुझ्न सक्ने, सबभन्दा धेरै नेपालीले पढ्न सक्ने र सबभन्दा धेरै नेपालीले लेख्न सक्ने भाषा पनि नेपाली नै हो । नेपाल भित्र जति मातृभाषा बोलिन्छन्, ती सबै मातृभाषाका वक्ताहरूले नेपालका अरु मातृभाषाका वक्तासित पारस्परिक आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध राख्न नेपाली भाषालाई माध्यम भाषाका रूपमा रोज्छन् । नेपाली भाषाले नेपालका अनेक मातृभाषा हुनेहरूलाई एउटै सामाजिक सूत्रले बाँधेको छ । नेपाली भाषा विगतको ‘राष्ट्र भाषा हो भने, अन्तरिम संविधान (२०६३) अनुसार अहिलेको नेपालका अरु मातृभाषा सरह पारिभाषिक ‘राष्ट्र भाषा हो । नेपाल राज्यको एकीकरण भएपछि यो भाषा नेपाल राष्ट्रकै सरकारी कामकाजको भाषा बनेको हो । यसरी नेपाली भाषाले राष्ट्रिय एकतामा बाँध्न सबै नेपालीलाई सघाएको छ ।

२.१. नेपालको भाषिक तथ्याङ्क
राष्ट्रिय जनगणना अनुसार नेपाली भाषा सबभन्दा धेरै नेपालीहरूको मातृभाषा हो । तलको तुलनात्मक तालिकाबाट यो कुरो प्रष्ट हुन्छ ।
नेपाली भाषाको तुलनात्मक स्थिति
जनगणना
२०१८
२०२८
२०३८
२०४८
२०५८
नेपाली
५०.९६
५२.४५
५८.३६
५०.३१
४८.६१
मैथिली
१२.०१
११.४९
११.११
११.८५
१२.३
थारु
४.३२
४.२९
३.६
५.३७
५.८६
तामाङ
५.६२
४.८
३.४८
४.८९
५.१९
नेवार
४.०१
३.९४
२.९९
३.७३
३.६३
मगर
२.७१
२.५
१.४२
२.३
३.३९
लिम्बु
१.४७
१.४८
०.८६
१.३७
१.४७
३. नेपाली भाषाको ऐतिहासिक पृष्ठभूमि
भारोपेली खलकको सतम वर्गमा पर्ने आर्य इरानेली शाखाको आधुनिक भाषा हो नेपाली । नेपाली भाषाले अभिलेखीय भाषाकारूपमा लेख्य स्वरूप ग्रहण गरेको स्पष्ट प्रमाण लगभग एक हजार वर्षभन्दाअघि पुग्न सकेको देखिँदैन । नेपाली भाषामा लेख्यरूपको सबैभन्दा पुरानो प्रमाण शाके ९०३ को दामुपालको दुल्लु शिलापत्र मानिएकोले अर्को प्रमाण फेला नपरुञ्जेल लेख्य नेपाली भाषाको इतिहास त्यसैबाट सुरु भएको मान्नुपर्ने हुन्छ । नेपालीको विकास कुन प्राकृत अथवा अपभ्रंशबाट भएको हो भन्ने कुरामा मतमतान्तर पाइए तापनि यो खस प्राकृत एवं खस अपभ्रंशबाट विकसित भएको हो भन्ने अधिकांश विद्वान्ले स्वीकारी सकेका छन् । नेपाली भाषा लामो समयसम्म लोकजीवनले श्रुतिपरम्परामा अभिव्यक्ति दिँदै आएका लोककथा, लोकोक्ति आदि लोकसाहित्य र सामान्य लोकवाणीका माध्यममा हुर्कंदै गयो । त्यसपछि मात्र नेपाली भाषाले आफूलाई उत्कीर्ण अभिलेखबाट ज्योतिष, चिकित्सा आदि व्यवहारोपयोगी विषयका ग्रन्थहरूको निर्माणमा फैलाउँदै गयो । यिनै पृष्ठभूमिमा नेपाली भाषाको विकास निम्नलिखित तीनवटा कालखण्डमा भएको देखिन्छ ।
१. प्राचीन काल : (प्रारम्भदेखि वि. सं. १५५५ सम्म)
२. मध्यकाल (वि.सं. १५५५ देखि १९५८ सम्म )
३. आधुनिक काल : (वि.सं. १९५८ देखि आजसम्म)

३.१. प्राचीन काल
यस कालको नेपालीलाई प्राचीन नेपाली, खसकुरा र सिन्जाली पनि भनिन्छ । नेपाली भाषाको प्राचीनतम रूप भएका कारण यसलाई प्राचीन नेपाली, खस जातिले बोल्नेभाषा भएकाले खसकुरा र कर्णाली प्रदेशमा नागराजको राजधानी सिन्जाको राजभाषा भएकाले सिन्जाली भनिएको हो । प्राचीन नेपालीका स्पष्ट भेदहरू नभइसकेकाले यो सर्वत्र एकनास रहेको देखिन्छ । अशोक चल्लको हुम्लामा प्राप्त ताम्रपत्र (वि.सं. १३१२) को भाषा नै आजसम्म पाइएको नेपालीको प्राचीन भाषिक रूप हो । यसभन्दा अघि पनि राजा दामुपालको अभिलेख (वि.सं. १०३८), राजा सङ्ग्राम मल्लको डुम्राकोट अभिलेख (वि.सं. ११४६), भारशिव मल्लको अभिलेख (वि.सं. १२५४) आदिको भाषा पनि नेपाली नै छ । यस क्रममा अशोक चल्लकै दुल्लु शिलालेख (वि.सं. १३२७) आदित्य मल्लको सिन्जा ताम्रपत्र (वि.सं. १३७३) आदित्य मल्लको गोर्खाको ताघवाई गुम्बाको ताम्रपत्र (वि.सं. १३७८) डोटीका राजा निरयपालको ताम्रपत्र (वि.सं. १४०९) अपाड राज पृथ्वी मल्ल राईको कनकपत्र (वि.सं. १४१३) अभयमल्ल राईको ताम्रपत्र (वि.सं. १४३३) डोटीका राजा नागमल्लको ताम्रपत्र (वि.सं. १४५०) संसार बम्मको ताम्रपत्र (वि.सं. १४५३) बलिराजाको ताम्रपत्र (वि.सं. १४५७) आदि अभिलेखहरू र भास्वती (वि.सं. १४५७) एवं राजा गगनीराजको यात्रा (वि.सं. १५५०) जस्ता केही ग्रन्थहरू यसकालका नेपाली भाषाको संक्षिप्त नमुनाका रूपमा प्राप्त भएका छन् ।
३.२. मध्यकाल
यस समयावधिको नेपाली भाषालाई मध्यकालीन नेपाली भाषा पनि भनिन्छ । अक्षयमल्लको पाला (वि.सं. १४५०) देखि सिन्जाली खस राज्यको विघटन सुरु हुन्छ । सम्पूर्ण कर्णाली प्रदेश र छेउछाउमा बाईसी र चौबीसी राज्यको थालनी हुन्छ । क्रमशः यस भाषाको विस्तार काठमाण्डौसम्म हुन्छ । उपत्यकामा यसले दास्रो राजभाषाका रूपमा मान्यता पनि पाउँछ । यसै क्रममा मकवानपुरे राजा लोहाङ्ग सेनका सेनामा भर्ती भएका खस सैनिकका माध्यमबाट यस भाषाको प्रवेश पूर्वतिर समेत हुन्छ । यो भाषा पूर्वी पहाडी क्षेत्र, जनकपुर मोरङ्गका तराइ क्षेत्र हुँदै पूर्वोत्तर भारतीय क्षेत्रमा पनि पुग्छ । सं. १८०० तिर पृथ्वीनारायणको एकीकरण अभियान र भानुभक्तको रामायण सिर्जना सँगसँगै यसको विस्तार अझ तीव्र  रूपमा अघि बढ्छ । गोर्खालीहरूको मातृभाषा नेपालीले यी क्षेत्रमा प्रयुक्त विभिन्न भाषाभाषीको सम्पर्क भाषाको रूपमा आँफुलाई ठड्याउँछ । परिणामतः यस कालमा नेपाली भाषाको नाम गोर्खाली भाषा रहन पुग्छ ।
वि. सं १५५५ को धर्मकवठ लिखित कार्बोरिक विवोष शाहीको अभिलेखमा प्रयुक्त भाषामार्फत माध्यमिक कालमा फड्को हालेको सङ्केत प्रदान गर्ने नेपाली भाषाका क्षेत्रीय विस्तार र अन्य भाषाको सम्पर्कका कारण विभिन्न भाषिकाहरू यसकालमा देखा परिसकेका हुन्छन् । पूर्वेली भाषिकाका नमुनाहरू भानशाहीको लालमोहर (१५८६) संग्राम शाही, साइमन शाही, वीरभद्र शाही, जहाँगीर शाही सुख्य शाही सुदर्शन शाही आदिका अभिलेखहरूमा प्राप्त हुन्छन् भने लक्ष्मीनरसिंह मल्ल ( १६९८) र प्रताप मल्लको शिलालेख(१७२७) आदिमा तथा गङ्का विष्णु द्विज र लीलाम्बर अजीर्ण मञ्जरी आदि ग्रन्थहरूमा पनि केन्द्रीय भाषिकाका नमुना प्राप्त हुन्छन् ।
यस क्रममा नेपाली भाषाका केही अनूदित ग्रन्थहरू पनि देखा परेका छन् । खण्डखाद्य(१६४८), बाजपरीक्षा (१७००), ज्वरोत्पत्ति चिकित्सा (१७७३), औषध रसायन (१७७० –१८००), प्रायश्चित्त प्रदीप (१७८०), नृपश्लोकी (१७८०), दिव्योपदेश (१८३१), हितोपदेश मित्रलाभ (१८३३), हास्यकदम्ब (१८५५), गीतगोविन्द (१८८८), भानुभक्तको जीवनचरित्र (१९४८) आदि गद्य ग्रन्थहरू र सुवानन्द दास, उदयानन्द अज्र्याल, यदुनाथ पोखरेल र भानुभक्त आचार्यजस्ता कविका काव्यहरूले नेपाली भाषालाई थप विकसित तुल्याउने काम गर्दछन् । सं. १९५८ देखि गोरखापत्रको प्रकाशन हुन थाल्छ र यस पत्रिकाका माध्यमबाट नेपाली भाषाले आधुनिक कालमा प्रवेश गर्दछ ।

३.३. आधुनिक काल :
विक्रमको १९औं शताब्दी थालनीसँगै नेपाली भाषामा साहित्यिक लेखनको प्रारम्भ हुन्छ । भानुभक्त आचार्यको रामायणले राज्य एकीकरणको अनुकरण गर्दै भाषिक एकीकरणको जग बसाल्दछ र यो घरैपिच्छे जिब्राजिब्रामा झुण्डिन पुग्छ । मोतीराम भट्ट लगायत केही उत्साही युवाहरूले भाषाप्रतिको मोहलाई सामूहिक रूपमा उजागर गर्दछन्। नेपाली भाषामा मुद्रणको व्यवस्था हुन्छ र देवशमसेरको प्रधानमन्त्रीत्वमा सं. १९५८ मा गोरखापत्रको प्रकाशन प्रारम्भ हुन्छ । यिनकै पालामा विभिन्न ठाउँमा भाषा पाठशाला खोलिन्छ र नेपालीभाषामा नै प्रारम्भिक शिक्षा ग्रहण गर्ने व्यवस्था हुन्छ । यिनै महत्वपूर्ण कार्यले नेपाली भाषालाई आधुनिक कालमा हुत्याउने भूमिका निर्वाह गरेका हुन् ।
गोरखापत्रको प्रकाशन थालिए यता यस पत्रिकामार्फत समाचारका अतिरिक्त ज्ञानविज्ञानका विविध विषय, विभिन्न साहित्यिक लेखरचनाहरू र अन्य व्यवहारपरक टिप्पणीहरू नेपाली भाषामा नै पढ्न लेख्न पाउने सुअवसर प्राप्त हुन्छ । गोरखापत्रले नेपाली गद्य भाषाको शैली र व्याकरणगत विषयका साथै समग्र नेपाली भाषा–साहित्यको उन्नयनमा सघाउन आफ्नो सम्पादकीय मार्फत बारम्बार आêान गर्यो । भाषा हो जीवनी हाम्रो सारा वैभव उन्नति  भन्ने नारा दिंदै विदेशी भाषा मोहलाई निरुत्साहित गर्ने तथा नेपाली भाषा शैलीको परिमार्जन–सुधार गर्ने सार्थक अभियान नै चलायो । गोरखापत्रले नेपाली गद्य भाषामा सुरुदेखि नै सरल शैलीमा जोड दिंदै आयो, जुन सञ्चारमा प्रयोग गरिने गद्यशैलीको विशेषता पनि हो । गोरखापत्रको प्रकाशनपछि फटाफट विभिन्न पत्रपत्रिका छापिन थाल्दछन् । यतिबेला देशबाहिर प्रकाशित पत्रिकाहरू गोरखा भारत जीवन(१९४३), सुधासागर (१९५५), सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९६५), गोर्खाली (१९७२), चन्द्रिका (१९७४), जन्मभूमि (१९७९), राजभक्ति (१९८३), गोर्खासंसार (१९८३), तरुण गोर्खा(१९८५), आदर्श(१९८७), नेबुला(१९९२), उदय (१९९३), सर्वहितैषी पत्रिका (१९९७), भारती(२००६) आदि थिए भने शारदा (१९९१) साहित्यस्रोत (२००४) घरेलु इलम पत्रिका (२००४), आँखा (२००५), आवाज (२००८) आदि नेपालभित्रैबाट प्रकाशित हुने गर्दथे । राममणि आ.दी.को माधवी पत्रिकामार्फत हलन्तबहिष्कार आन्दोलन को प्रारम्भ गर्छन् । शारदाको प्रकाशनले यस भाषाको प्रत्येक साहित्यिक विधालाई विश्वका अन्यभाषा समक्ष दह्रिने अवसर पनि प्रदान गरेको छ । वि.सं. २००७ सालको क्रान्तिपछि पत्रिका र साहित्यिक कृतिको प्रकाशनको वर्षा नै हुन्छ र नेपाली भाषालाई संवैधानिक बनाउने पहल समेत हुन्छ । विज्ञान, प्रविधि र सामाजिक शास्त्रका क्षेत्रमा समेत यसै भाषाका माध्यमबाट पठनपाठन गराउने परिपाटीको जग बस्छ । झर्रोवाद (२०१३)को नेपाली भाषाको विकास र मौलिकताको निर्माणमा ठोस योगदान छ । नेपाली भाषा र मूलतः गद्यशैलीलाई निख्खरोपन र आफ्नै मौलिकतामा विकसित गर्न यस आन्दोलनको ऐतिहासिक योगदान छ । यसको प्रभाव नेपाली पत्रकारिताको भाषाशैलीमा पनि पर्नु स्वाभाविक थियो । यसबाट संस्कृतका तत्सम र हिन्दीका शब्द तथा वाक्यगठनले ग्रस्त हुनथालेको नेपाली भाषा र यसको गद्यशैलीलाई विशुद्ध नेपाली गद्यशैलीको रूपमा अघि बढाउन महत्त्वपूर्ण सहयोग मिल्यो । यसरी यसको प्रभाव स्वाभभाविक रूपमैं नेपाली सञ्चार माध्यमको भाषा शैलीमा पनि सकारात्मक रूपमा पर्दै गयो । यो अभियानले नेपाली गद्यशैलीको मौलिक रूपमा परिमार्जन गर्न ज्यादै ठूलो योगदान पुर्याएको कुरा बिर्सन सकिँदैन । वि.सं. २०१४ मा महाकवि देवकोटाको शिक्षामन्त्रीत्वमा एकातिर प्रज्ञा प्रतिष्ठानको स्थापना पनि हुन्छ भने अर्कातिर यस भाषालाई अनिवार्य रूपमा पठनपाठन गराउने निर्णय गरिन्छ । त्यस्तै सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि उच्च शिक्षाको माध्यम भाषा पनि नेपाली नै हुनपुग्छ ।
यति भएर पनि यता आएर नेपाली भाषा, यसको वाक्यसंरचना, शब्दचयन र समग्रमा नेपाली गद्यशैलीमा नै केही विचलन आउन थालेको चर्चा सुनिन थालेको छ । यसमा सबैभन्दा बढी जिम्मेबार पत्रकार र सञ्चारकर्मीलाई ठानिने गरेको छ ।

४. आमसञ्चारमा नेपालीभाषाको प्रयोग
नेपालमा पनि जात, धर्म र भूगोल अनुरूप शब्दका भिन्नभिन्न अर्थ लाग्छन् ।  तराई र पहाडी भेगमा नेपाली भाषाका फरक रूपको प्रयोग गरिन्छ, त्यस्तै सहरी र काँठ वा गाँउमा पनि फरक रूपको प्रयोगमा आँउछ । सहरी क्षेत्रमा पाश्चात्य शब्दको प्रयोगलाई सहर्स लिइन्छ तर ग्रामीण भेगमा यस्तो अवस्था आइपुगेको छैन । जस्तै मध्य तथा पश्चिम नेपालमा कन्नो शब्दले पिठ्युँलाई जनाउँछ तर पूर्वी नेपालमा यस्तै शब्दले नितम्बको अर्थ हुन्छ, जसलाई अश्लील नै मान्दछन् । त्यसरी नै पूर्वमा प्रयोग हुने घचेट्नु अर्थको ठेल्नु शब्द राप्तीभेरीमा अश्लील बन्न पुग्छ, त्यहाँ यस शब्दले सम्भोग गर्ने अर्थ दिन्छ । त्यसैले आमसञ्चारका समस्त क्षेत्रमा सरल, संवेद्य, सहज सम्प्रेषणीय, अभिधार्थक, श्लील र श्लीष्ट भाषाको प्रयोग हुनु जरुरी छ ।
४.१. नेपाली सञ्चार माध्यमले बिर्सिएको नेपाली वर्णविन्यास :
अहिले सबैभन्दा विवादास्पद बनेको छ : वर्णविन्यास । नेपाली व्याकरणका नवीनतम प्रकाशनहरूमा वर्णविन्यासको एकरूपता छैन । आफूलाई भाषाविद् र व्याकरणविद्हरू भन्न रुचाउनेहरू व्यक्तिपिच्छे आफुलाई सजिलो लाग्ने फरक नियम चलाउँछन् । लोकले आफ्ना जीवनजगत्मा लोकतन्त्रको अनुभूति गर्यो गरेन, हाम्रा नेपाली गुरुहरूले नेपाली भाषाको हिज्जेमा बेग्लाबेग्लै नियम हुन्छ भन्दै त्यसको आस्वादन गर्दैछन्, यो कदम भाषिक मानकीकरण एकरूपताको विरुद्ध पनि हो । नेपाली भाषाको व्याकरणका प्रयुक्त नियमहरूको प्रयोग आजभोली नेपाली अखबारी लेखनमा समेत उल्लङ्खन हुँदै आएको छ । जस्तै :
क. संस्कृतबाट आएका शब्दहरू (तत्सम)को लेख्य रूपमा संस्कृत भाषाकै नियम अनुसार नलेखिनु ।
ख. श, षको प्रयोगको स्थानमा सको प्रयोग हुनु ।
ग. ह्रस्व, दीर्घ सम्बन्धी नियमको पालना नहुनु ।
घ. व र बको प्रयोगमा ध्यान नदिइनु, जस्तै : वन÷बन ।
ङ. ऋको प्रयोग रिले विस्थापित गराइनु, ऋचा÷रिचा ।
च. पञ्चम वर्णको प्रयोगको स्थानमा (  )को प्रयोग गरिनु, जस्तै : सञ्चार ÷संचार आदि ।
४.२. शिष्टभाषाको प्रयोग
आज नेपाल नेपाली पत्रकारिता जगत्मा भाषाको प्रयोगको विषयलाई लिएर बेलाबखत चर्चा र आलोचना हुने गरेको पाइन्छ । हिजो नेपाली मिडियामा प्रयोगमा आउने शब्दहरू आज प्रयोगमा आँउदा विवादमा तानिने गरेको पाइन्छ । त्यस्ता कतिपय शब्द, पदावली र वाक्यहरूको प्रयोगको विषयमा विवाद वा आलोचना हुने गर्दछ, तीमध्ये केही यस प्रकार छन् :
प्रयोगमा आउने शब्द
प्रयोगमा ल्याइनुपर्ने शब्द
अन्धा
दृष्टिविहीन
विधवा , राँड
एकल महिला
एच.आई.भी पीडित
एच.आई.भी सङ्क्रमित
बहुलाहा, पागल
सुस्तमनस्थिति
आईमाई
नारी, महिला
वेश्या
यौन व्यवसायी
वेश्यावृती
यौन व्यवसाय
लुला, लङ्गडा, डुँडा
अपाङ्ग
  
४.३. समाचार सन्दर्भ र भाषा :
समाचार लेख्दा प्रयुक्त भाषामा सन्दर्भको ख्याल राख्नु पर्दछ । नेपाली शब्दहरू अनेकार्थी पनि छन् । एउटै शब्दले अनेक अर्थ जाहेर गर्दछ, जसले सूचनाको आदान प्रदान प्रक्रियामा ती शब्दले गलत अर्थ समेत दिने हुँदा त्यस्ता शब्दको प्रयोग गर्दा ख्याल गर्नुपर्दछ । सन्दर्भ, देश, काल र परिस्थिति अनुकूल शब्दहरूको प्रयोग गर्नुपर्दछ । एउटै क्रियाको पनि फरक अर्थ आँउछ र एउटै शब्दको पनि सन्दर्भअनुुसार विभिन्न अर्थ हुनसक्छ ।
उदाहरणका लागि लावण्य भन्ने शब्दको एउटा अर्थ सुन्दरता हुन्छ, प्रसिद्ध स्वस्थानी कथामा लावण्य नामको स्थानको उल्लेख गरिएको छ, त्यस्तै लावण्यको व्युत्पन्न अर्थ नुनिलो पनि हुन्छ । त्यसैले प्रसङ्गअनुकूल शब्दको प्रयोग हुनुपर्दछ । यदि तरकारीको सन्दर्भमा लावण्यको प्रयोग भएमा नुनिलो, कसैको व्यक्तित्व जनाउँदा सौन्दर्य र खासगरी माघको स्वस्थानीसँग सम्बद्ध कुरो छ भने स्थान वुझी त्यही अनुरूप बोल्नेलेख्ने गर्नु पर्दछ । पाश्चात्य जगत्मा  विरालोको हिडाइ(क्याटवाक)लाई राम्रो मानिन्छ भने विरालोले बाटो काट्दा अलच्छिन मानिन्छ । यहाँ हिंड्नु र बाटो काट्नु समान व्याकरणिक प्रयोग हुन् तर भाषिक सम्प्रेषण भने ठीक उल्टो हुनपुग्छ । भारतमा ४२० ले चोर, ठग भन्ने अर्थ प्रदान गर्छ, तर नेपालमा त्यही प्रयोग गर्नु सान्दर्भिक लाग्दैन, अनि १३ अङ्कले पच्छिमा देशमा अलच्छिन जनाउँछ, अन्यत्र त्यस्तो अर्थ आउँदैन । 

५. निष्कर्ष र मूल्याङ्कन
यसरी समग्र रूपले नेपाली आमसञ्चारमा प्रयोग हुने भाषालाई अध्ययन गर्न सकिन्छ । सम्पादकीय कमजोरी, भाषा सम्पादनको कमजोरी, अझ सञ्चार माध्ययमा भाषा सम्पादकको व्यवस्था नै नहुनु आदि भाषिक अशुद्धताका मूल कारण हुन् । सञ्चारकर्मीमा भााषाको आधारभूत  ज्ञान नभएमा समाचारको अर्थ नै अनर्थ हुन सक्दछ । यो समस्या पनि स्थानीयदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा रहेको कुरालाई पनि नकार्न सकिन्न । नेपाली भाषा समग्र नेपालकै सान हो । यसको सम्मान नै नेपालीको सम्मान हो । तसर्थ सञ्चार माध्यमले यसको संरक्षण गर्नुपर्दछ । सञ्चार माध्यममा प्रयुक्त समकालीन भाषा शैलीमा सकारात्मक पक्ष र प्रवृत्ति प्रशस्त रहे पनि आमसञ्चारका भाषामा देखिने केही विचलनले सायद यो आरोपलाई एकदमै गलत ठान्न दिंदैन । निश्चय नै समकालीन सञ्चार भाषाका कारिगर आजका पत्रकारले भाषाविषयक आफ्नो दायित्वप्रतिको पूर्व सजगता र सचेतता बिर्सन थालेका हुन् कि भन्ने लाग्नु स्वभाविक हो । सञ्चार संस्थामा भाषिक दक्षता हासिल गरेको सम्पादक एवं भाषा सम्पादकको व्यवस्थाले आमसञ्चारका विविध पक्षमा देखिंदै आएको भाषिक अशुद्धताको निराकरण हुन सक्दछ । समाचारीय मूल्य र मान्यताको बारेमा ज्ञान भएको सञ्चारकर्मीले पनि भाषिक शुद्धता प्रति सजग रहने हुँदा यसतर्फ सञ्चार व्यवसायीहरूको ध्यान जानु जरुरी देखिन्छ र अन्त्यमा नेपाली भाषाको संरक्षण, सम्बद्र्धन र विकासका निम्ति सञ्चार संस्थाको भूमिकाका लागि तथा नेपाली भाषाको संरक्षणतर्फ हामी सबै आ–आफ्नो ठाँउबाट लागे नेपाली भाषा सम्मृद्ध हुने कुरामा दुई मत छैन ।


४. सन्दर्भसूची
                    अधिकारी निर्मलमणि, आमसञ्चार र पत्रकारिता
            –          अधिकारी, हेमाङ्गराज, पूर्वीय समालोचना सिद्धान्त, (२०३५), ललितपुर : साझा प्रकाशन ।
            –          खनाल, यदुनाथ, समालोचनाको सिद्धान्त (२०३०), ललितपुर : साझा प्रकाशन ।
            –          गौतम, देवीप्रसाद र अन्य, ध्वनिविज्ञान र वर्णविज्ञान, (२०५३), ललितपुर : साझा प्रकाशन।
            –          तिवारी, भोलानाथ, भाषाविज्ञान, (सन् १९९२), इलाहाबाद : किताब महल ।
            –          न्यौपाने, टङ्कप्रसाद, भाषाविज्ञानको रूपरेखा, (२०५१), धरान : नेपाल बुक डिपो ।
            –          बन्धु, चूडामणि, नेपाली भाषाको उत्पत्ति, (२०४३), ललितपुर : साझा प्रकाशन ।
            –          मार्टिन चौतारी, मिडिया अध्ययन ४,५
            –          शर्मा, मोहनराज र अन्य, भाषाविज्ञान र नेपाली भाषा, (२०५२), काठमाण्डौ : नवीन प्रकाशन ।
            –          शर्मा, रमा, राष्ट्रभाषा (स्वर्णजयन्ती विशेषाङ्क),(२०५८÷२०५९), काठमाडौं : नेपाली शिक्षा परिषद् ।
            –          शिव, भाषिक आन्दोलन : सफलताको गोरेटोसम्म, (१९९२ ई.) सिक्किम : गान्तोक प्रकाशन.
            –          सापकोटा, महानन्द, खस र खसभाषा, ( २०२०), विराटनगर : लेखक ।
            –          विभिन्न पत्रपत्रिका एवं अनलाइन साइटहरू
(लेखक पिण्डेश्वर विद्यापीठ, धरानमा नेपाली विषयको उप–प्राध्यापक हुनुहुन्छ  – सं.)
Powered by Blogger.