मुनामदन खण्डकाव्य
उपप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर
क्याम्पस, धरान
विषयप्रवेश र कथानक
प्रस्तुत
मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र
अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा
विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, दिदी, साथीहरु, गुन्डा,
लावा, फुचो र वैद्य आदि पात्रहरु रहेको यस खण्डकाव्यको प्रारम्भ धन कमाउन ल्हासा जान
लागेको मदन र उसकी बैंसालु पत्नी मुनाका बीचमा
भएको संवादबाट र प्रशस्त धन कमाएर भोटबाट फर्किएको मदनले मुना र आमाको मृत्यु सहन नसकी
आफु पनि मरेको दृश्यका माध्यमबाट यसको कारुणिक अन्त्य भएको छ । खण्डकाव्यको कथानकअनुसार
व्यापार गरी पैसा कमाउने उद्देश्य लिई घरमा तरुनी स्वास्नी र बुढी आमालाई छाडेर मदन
ल्हासा जान्छ । उसको धनार्जन गर्ने उद्देश्य बुढी भएकी आमाले बुढेसकालमा सुख प्राप्त
गरुन्, मिठोमसिनो जुटोस्, इच्छाएका धार्मिक र सामाजिक/सांस्कृतिक कृत्य पूरा गर्न पाऊन्,
ऋणमुक्त भइयोस् अनि सुखसम्मृद्धिपूर्वक जीवनयापन होस् भन्ने देखिन्छ । भीरपाखा र अनेक
विकटतायुक्त हिमाली र उच्च पैठारी बाटो पार गरी मदन घरबाट हिंडेको एक महिनापछि ल्हासा
पुग्छ । तोकिएको समयभित्र मदन घर फर्कन सक्दैन । मुना चिन्ता गर्छे । बैंसले धपक्क
बलेकी एक्ली मुनाको रुपरङ्गमा लठ्ठिएका गुन्डाहरु उसको घरवरिपरि धाउन थाल्छन् । नैनी
उसलाई पोइल जाने परामर्श दिन्छे । तर ऊ आफ्नो सतीत्वमा अडिग हुन्छे । उता ल्हासा गएको
मदनले त्यहाँ चिताएभन्दा बढी नै धन कमाउँछ । ऊ घर फर्कन्छ तर बाटामा उसलाई हैजा लाग्छ
। साथीहरुले विकट र घनघोर जंगलमा उसलाई त्यत्तिकै छाडेर जान्छन् । ऊ मरणासन्न अवस्थामा
पुग्छ । मृतप्रायः मदनलाई एउटा भोटेले भेट्छ । उसले घरमा लगी औषधोपचार र सेवासुश्रुषा
गरी मदनको व्यथा निको पार्छ । मदन तंग्रिएपछि भोटेसँग घर जाने उद्देश्यले विदा माग्छ
। त्यस क्रममा उसले आँफूसित भएको दुई पोका
सुनमध्ये एक पोका सुन भोटेलाई दिन खोज्छ, तर भोटे उपकारको सट्टामा केही पनि लिन मान्दैन
। यता घरमा बसेकी मुनालाई गुन्डाहरुले मदन मरेको खबर लेखेर किर्ते चिठी पठाउँछन् ।
त्यसपछि शोकाकुल हुन पुगेकी मुनाको मृत्यु हुन्छ । घर आइपुग्दा मदनले मुना मरिसकेकी
र आमा मृत्युशैयामा ढलेको थाहा पाउँछ । आमासमेत मरेपछि ऊ पनि मानसिक रोगले मर्दछ र
कथा टुङ्गिन्छ ।
पात्रविन्यास
मुनामदन
खण्डकाव्यमा मुख्यपात्र तीनजना छन् – मदन, मुना र भोटे । ती पात्रहरुको चारित्रिक वैशिष्ट्यलाई
यसरी केलाउन सकिन्छ :–
मदन
:– यस खण्डकाव्यमा उपस्थित पात्रहरुमध्ये मदन प्रमुख पुरुष पात्र हो । ऊ यस खण्डकाव्यको
नायक पनि हो । उमेरका दृष्टिले युवा र जातका दृष्टिले क्षेत्री पात्र हो, मदन । ऊ काठमाडौँ
शहरको निम्नवर्गीय व्यापारी वर्गको प्रतिनिधि पात्र पनि हो । मदन धनलाई महत्व दिने,
धनबाट सुख खोज्ने भौतिकवादी युवा चरित्रको प्रतिनिधि हो । ऊ सत्पात्र हो । उसका चरित्रमा
केही स्थिर र केही मात्रामा गतिशीलता पाइन्छ । सुरु र मध्यमा जुन धनप्रतिको दृष्टिकोण
छ, त्यो अन्त्यमा पुग्दा मात्र परिवर्तन भएको छ । यो खण्डकाव्यको बद्ध पात्र पनि हो
। उसको अनुपस्थितिमा काव्यको कथानक गतिशील हुन सक्दैन र खण्डकाव्य अधुरो हुन्छ । मदनका
चरित्रमा प्रायजसो बहिर्मुखीपन छ । खण्डकाव्यको अन्त्यमा धनवादी जीवनदृष्टि भएका पात्रको
दुखद अन्त्य भएको छ । तसर्थ यस खण्डकाव्यको सिङ्गो प्रभाव नै मार्मिक बन्न पुगेको छ
।
मुना
:– खण्डकाव्यकी प्रमुख नायिक वा नारी पात्र मुना हो । ऊ उमेरका हिसावले युवती, जातका
दृष्टिले क्षेत्री र बाबुआमा नभएकी टुहुरी पात्रका रुपमा काव्यमा देखा परेकी छ । मुना
धनलाई महत्वहीन र तुच्छ ठान्छे । जीवनको सङ्लो यथार्थलाई स्वीकार्ने, सादा जीवन बाँच्न
चाहने, उच्च विचार राख्ने, सरल र स्वच्छ हृदय भएकी प्रतिनिधि नारी पात्रका रुपमा मुना
यस काव्यमा उपस्थित भएकी छे । धनको जटिलताले उसलाई घेर्न सकेको छैन । युगको जटिलतालाई
उसले राम्ररी बुझेकीले मनुष्यलाई पासोमा पार्ने धनवादी दृष्टिकोणको विपक्षमा छे । आध्यात्मिक
र आत्मिक आनन्दलाई सर्वोपरी मान्ने आदर्श गृहिणी, असल बुहारी, आत्मिक प्रेमलाई उच्च
मूल्य र महत्व प्रदान गर्ने सती सावित्रीको प्रतिरुप हो – मुना । विचारमा एकरुपता भएकी
स्थिर पात्र हो ऊ । नैतिक चरित्रका दृष्टिले सत्पात्र हो भने कार्यका आधारमा बद्ध पात्र
हो ।
भोटे
:– भोटे यस खण्डकाव्यको सहायक पुरुष पात्र हो । यो मानवतावादी पात्र कविको मुख मात्र
बनेर आएको छ । जङ्गलमा अलपत्र परेको मदनलाई स्वस्थ बनाउने आदर्शवादी, उदार र मानवतावादी
जीवनदर्शन भएको यो पात्र वर्गगत नभई व्यक्तिगत पात्र हो । भौतिकवादी जटिलताले बेरिएको
स्थिर सत्पात्र हो भोटे । पारिवारिक वियोग रुपी छोराछोरीका साथ बस्दा पीडा र वेदनाका
उच्छवास उसका जीवनमा देखिए पनि धन–सम्पत्तिको लोभ–लालच नराखी माया, स्नेह बाँड्ने परोपकारी
अन्तर्मुखी चेप्टो पात्र पनि हो ।
परिवेशचित्रण
यस खण्डकाव्यको विषयवस्तुको स्थलगत परिवेश
कान्तिपुर शहर, भोटको यात्रामा पाइने हिमाली भेगहरु, ल्हासा शहर, जङ्गलको भोटे बस्ती,
हिमाली भेटहरु, ल्हासाबाट फर्कदाखेरि बाटामा पर्ने कुती प्रदेश आदि छन् । यिनै ठाउँका
समाजको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक र प्राकृतिक झल्को यस खण्डकाव्यले दिएको
छ । विशेष गरेर काव्यकारले कान्तिपुर र ल्हासा शहरको प्राकृतिक सौँन्दर्यको चित्रणमा
कलात्मकता प्रदान गरेका छन् । एकातर्फ जाल, झेल, छल, कपट, लोभ र लालचले र भौतकवादी
दृष्टिकोणले आक्रान्त पारेको शहरी समाजलाई चरित्रहीन र मानवमूल्यको वास्ता नगर्ने गुन्डा,
नैनी, धोकेबाज साथीहरु मार्फत प्रस्तुत गरिएको छ भने अर्कोतर्फ धनको लोभ नगर्ने, भौतिकवादी
सभ्यताबाट टाढा रहेको स्वच्छ, स्वस्थ, मानवतावादी विचारको बाहुल्य भएको भोटेको समाजलाई
प्रस्तुत गरिएको छ । जीवनलाई सम्पन्न बनाउने वातावरण एकातर्फ छ भने अर्कोतर्फ साग र
सिस्नु खाएर शान्तिमय जीवन विताउने उच्च महिमायुक्त विचार पनि यहीँ छ । समग्रतामा यस
काव्यमा नेपालको परम्परित सामन्ती युगको वातावरणको चित्रण छ । व्यापार–व्यवसाय गरेर
आफ्नो आर्थिक अवस्था सुधार्ने निम्न–मध्यवर्गीय सामाजिक आर्थिक परिवेशको चित्रण पनि
यहाँ छ । आत्मीयता, मानवमूल्य, आदर्शवादी भावना भएको पुरानो समाज र भौतिकवादी सभ्यताको
नयाँ समाजबीचको सङ्क्रमणकालीन परिवेश पनि यहाँ देखिन्छ । त्यस्तै सामाजिक , आर्थिक,
शैक्षिक, साँस्कृतिक परिवेश पनि त्यत्तिकै सशक्त रुपमा यसमा प्रस्तुत गरिएको छ । राष्ट्रियता,
देशभक्ति, धर्म, सँस्कृति, घोडेजात्रा, हिन्दुहरुको धार्मिक, साँस्कृतिक पक्षहरुको
उल्लेखले यसको साँस्कृतिक परिवेश पनि सशक्त बन्न गएको देखिन्छ ।
कथनपद्धति र लयविधान
मुनामदन खण्डकाव्यको आख्यानको कथन पद्धतिमा
विहङ्गावलोकन (चित्रण–वर्णन) तथा सूक्ष्मावलोकन (नाटकीकरण) का दुवै कथन पद्धतिको प्रयोग
भएको छ । मुनामदनलगायत यहाँका अन्य पात्रलेप्रयोग गरेका सम्बन्धित आाख्यानलाई कवितात्मक
किसिमबाट प्रयोग गरिएको छ। यी पात्रहरुका विभिन्न सम्वादन यस काव्यमा रहेको पाइन्छ
। प्रत्यक्ष कथनबाट बोल्ने नाटकीय संवादका ढाँचाको प्रयोग, मनमा खेलाइएको मनोवादात्मक
अभिव्यक्तिको प्रयोग आदि पनि यहाँ देखिन्छ ।
मुनामदन खण्डकाव्यको स्वच्छन्दतावादी लयढाँचामा
रहेको छ । भाव पूरा नहुँदै विश्राम नलिने जुन पङ्क्तिप्रवाह हो त्यो नेपाली झ्याउरे
लयमा प्रयोग भएको छ । सोह्र उच्चार्य अक्षरको नेपाली झ्याउरे लोकलयको प्रयोग भए पनि
लेख्य रुप भने स्तरीय नेपाली भाषाका शब्द भाखा हालेर पढ्दा लय मिलाउनु पर्ने देखिन्छ
। उनको त्यस्ता शब्दको प्रयोग कतै लेख्य र उच्चार्य एउटै र कतै फरक भएको पाइन्छ । उच्चार्य
र लेख्यमा पनि लिखित शब्द केही लैख्य अनुरुप र केही उच्चार्य अनुरुपका देखिन्छन् ।
जस्तो– ‘मनको वनमा ननिभ्ने गरी’ यहाँ ‘मनको वन’ मा तीन पूर्ण अक्षरको लेख्य रुपमा प्रयोग
भएको र उच्चार्यमा दुईवटा रहेको छन् । देवकोटाले लेख्य ‘बन’ नगराई उच्चार्य ‘वन’ गराईदिए
। उच्चार्यमा १६ र गन्ती गर्दा १६ भन्दा बढी पुग्ने झ्याउरे लोकलयलाई यस खण्डकाव्यले
ओढेको पाइन्छ ।
यस
खण्डकाव्यमा स्थूल रुपमा (५+५+६) अक्षरमा लयगत विश्राम लिइन्छ ।
जस्तै
: ‘हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले’
यसभित्र
पनि स–साना लयगत विश्राम लिइन्छ । यसमा (सूक्ष्म–रुपमा र यथार्थमा) (३+२, ३+२, ३+३=१६)
अक्षरको मूलतः तीन विश्राम र स–साना उपविश्रामभित्र अन्तर अनुप्रास/अन्त्यनुप्रासले
काव्यमा सङ्गीत थपेको छ ।
छन्दविधानका दृष्टिले देवकोटालाई हेर्ने
हो भने उनमा विविधता पाइन्छ । मुनामदन खण्डकाव्य मूलतः झ्याउरे लोकछन्द र भोटेसेलोमै
केन्द्रित छ ।
भाषाशैली, बिम्ब/प्रतीक र अलङ्कार विधान
भाषाको सरलता, शैलीको संरसता, भावको छताछुल्लता
नै यस खण्डकाव्यको मुख्य विशेषता बन्न पुगेका छन् । यसमा शब्दलङ्कारको प्रयोग विभिन्न
स्वर, व्यञ्जन वर्णहरुको आनुक्रमिक वितरणबाट प्राप्त हुने अनुप्रासयुक्त भाषिक सौँन्दर्यले
भाषाशैली सुसज्जित देखिन्छ । अन्त्यानुप्रास, वृत्यानुप्रास, श्रुत्यानुप्रास आदिले
यसलाई आकर्षक तुल्याएको छ । नेपाली जनजीवनमा घोलिएको छोटा सरल असमस्त शब्दहरुको प्रयोगले
मानवहृदयमा साहित्यिक रस सर्सराउँछ । भाषाशैलीमा प्रयोग गरिएको प्रसाद एवम् माधुर्य
गुण–वैधवी एवम् पाञ्चाली रीतिले भाषाशैली महिमोज्वल, चित्ताकर्षक, मनोरम र प्रभावकारी
बन्न पुगेको छ ।
मुनामदन खण्डकाव्यमा प्राकृतिक, सामाजिक,
धार्मिक, साँस्कृतिक, पौराणिक आदि क्षेत्रबाट विभिन्न किसिमका लघुबिम्बहरुको भावसँगै
सहज रुपमा प्रयोग भएको छ । यो प्रयोग कृत्रिम नभई सहज छ । यस खण्डकाव्यका केही महत्वपूर्ण
बिम्बहरु निम्न अनुसार छन् :–
(१)
फूल : प्रकृतिका क्षेत्रबाट टिपिएका
फूल बिम्बको प्रयोग नायिकाको शारीरिक सौँन्दर्य, सुकोमलता व्यक्त गर्न प्रयोग गरिएको
देखिन्छ । त्यस्तै काँडैकाँडाको बीच फूल भेटिए जस्तै जीवन पनि विभिन्न काँडाबीच देखापर्छ
। यस भावलाई अभिव्यक्ति दिन फूल बिम्बको प्रयोग गरेका छन् ।
(२)
मावल : कविले अर्को एक ठाउँमा ‘मावल’
बिम्बको प्रयोग गरेका छन् । यसको अर्थ आमाको माइतीघर भए पनि यहाँ स्वर्ग, परलोक वा
मृत्युपछि पुग्ने ठाउँलाई व्यक्त्याइएको छ ।
(३)
डाँडाकी जून :
कविले बूढी आमाका निम्ति ‘डाँडाकी जून’ भन्ने शब्दको प्रयोग गरेका छन् । त्यस्तै कविले
नायिकाकालाई संकेत गर्न कोइली, जून, बत्ती, गुलाफ, चन्द्रमा, कमलजस्ता महत्वपूर्ण बिम्बहरुको
प्रयोग गरेका छन् । तन्द्रा, सपना, अपशकुन, अन्धविश्वास आदि कविले बिम्बविधानलाई प्रकृतिसँग
एकाकार गरी मानव र प्रकृतिबीच तादात्मकता, मानवको प्रकृतिकरण, प्रकृतिको मानवीकरण गरेर
सौँन्दर्यको पूर्णतम अभिव्यक्ति गरेका छन् । देवकोटाले यस खण्डकाव्यमा शब्दालङ्कार
र अर्थालङ्कार दुवैको प्रयोग गरेका छन् । उनले उपमा र उत्प्रेक्षा, रुपक, अतिशयोक्ति,
अर्थान्तरन्यास, व्यतिरेक, दृष्टान्त, शङ्कर, समासोक्ति, संसृष्टि जस्ता अलङ्कारको
प्रयोग गरेका छन् । जस्तै :
उपमा : अकेली मुना अत्यन्तै राम्री कमल
झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी ।
व्यतिरेक : सौँन्दर्य राम्रो जूनको जस्तो किरण
पवित्र,
जूनमा हुन्छ कलङ्क हुन्न सतीको मनभित्र ।
उत्प्रेक्षा : आगोको ज्वाला काताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ।
रुपक : हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
अर्थान्तरन्यास : क्षेत्रीको छोरो यो पाउ हुन्छ घिनले छुँदैन,
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
अतिशयोक्ति : सिर्जनभित्र रचना राम्रा नजरका जुहार,
ईश्वरको हाँसो पाएका फूल छोएर नमार ।
संसृष्टि : शहरभित्र केको हो यस्तो वियोग
विलाप ?
पिल्पिले बत्ती, भिजेको आँखा अलाप–विलाप ।
सङ्कर : पुषकी फूल झैँ सुकेर गइन् आँशु नै बर्सन्थ्यो,
लाम्चिला आँखा पुछेर गर्थिन सासूको सुसार ।
केन्द्रीय कथ्य, भाव र विचार
‘हातका
मैला सुनका थैला, के गर्नु धनले
साग
र सिस्नु खाएको बेस आनन्दी मनले’
यो
पङ्क्ति नै मुनामदन खण्डकाव्यको मुख्य वा केन्द्रीय कथन हो । धन भनेको तुच्छ वस्तु
हो । परिश्रमबाट जे–जस्तो चिज प्राप्त हुन्छ, त्यसैबाट आनन्दपूर्वक जीवन बिताउनु सर्वोत्तम
हो । जसरी धनको पछि लाग्दा मदनको जीवन उजाड वञ्जरभूमि भयो, सिङ्गो जीवन कारुणिक भयो,
आफ्नी आमा, प्राणप्यारी मुना, स्वयम् आफूले पनि अत्यत्न्त मर्माहत, आकूल, व्याकुल हुनुपर्यो
। यो सम्पूर्ण कुराको कारकतत्व भनेको मदनभित्र समुत्पन्न धनको एषणा नै हो । त्यसैले
धनको पछि लाग्दा दुःखद परिणाम भोग्नुपर्ने हुन्छ र सुन्दर जीवन दुःखमय हुन्छ भन्ने
केन्द्रीय कथ्य यस काव्यले प्रस्तुत गरेको छ । प्रेम–मिलन, प्रेम–विरह, उत्साह–भयानक,
करुण–हास्य, वीभत्स–अद्भुत, रौद्र–वात्सल्य, षडयन्त्र आदि जस्ता अनेक भाव यसमा आएका
छन् । यसका मुख्य भावहरु चाहिँ प्रेम, विरह र करुण भाव नै हुन् । यिनैको प्रभावकारी
अभिव्यक्तिका लागि अरु भावहरु आएका छन् । भावुक कवि देवकोटाले भावको बृहद् उच्छलन गरी
मुनामदन खण्डकाव्यमा आफ्नो अन्तरहृदय छताछुल्ल पारेर पोखेका छन् ।
यस काव्यमा भावको विविधता हुँदाहुँदै पनि
करुण भावलाई देवकोटाले परिपक्व अवस्थासम्म पुर्याएका छन् ।
दैवले
हान्यो शिरमा मेरो निष्ठुरी घनले,
के
गरी सहुँ ? के गरी रहुँ ? जिउँदो मनले ।
मुनामदन
खण्डकाव्यमा सामाजिक, आत्मिक संचेतनाको हरियाली पाइन्छ । त्यस्तै यहाँ वैचारिक परिपक्वताभन्दा
सौन्दर्य चेतनाको भावात्मक सात्विकता, सिर्जनात्मक कलाकारिता र आत्मिक प्रेमको पराकाष्ठा
पाइन्छ । भावात्मक, रुपात्मक र आत्मिक सौँन्दर्यका उपासक प्रकृतिवादी कवि देवकोटा यस
काव्यमा विचारको रुपमा विभिन्न खालका विचारहरुको अभिव्यक्ति गर्दछन् ।
एकातिर
प्रकृतिमा ईश्वर छ र आत्मिक कुरा रहस्यमय हुन्छ भन्ने विचारको अभिव्यक्ति गर्दै त्यस
रहस्यमयताको स्वच्छन्द व्याख्यान यस काव्यमा व्यक्त भएको छ भने त्यसबाहेक यस काव्यमा
विशेष गरी मानवतावादमा स्वतन्त्रता, समानता र भातृत्वको भावनाको उद्बोधन भएको छ । यस
खण्डकाव्यमा स्वच्छन्दतावादी प्रणय चेतना उज्वल भएर देखा परेको छ । यहाँ शारीरिक प्रेम
तुच्छ हो भने आत्मिक प्रेम उच्चहो भन्ने दृष्टिकोण पाइन्छ । देहको नश्वरता र आत्माको
अमरता वा आत्मीयतासम्बन्धी वेदान्ती विचार पनि यहाँ व्यक्त भएको छ । नेपाली समाजको
संक्रमणकालीन जीवनपद्धतिलाई यसले जीवन्त प्रतिबिम्बन गरेको छ ।
नेपाली
खण्डकाव्यको परम्परामा सङ्ख्यात्मक र गुणात्मक आधिक्य र सौँन्दर्यको विराटप्रवाहका
आधारमा देवकोटाको स्थान सर्वोकृष्ट छ । झिना मसिना कमीकमजोरी भए पनि उनको मुनामदन नेपाली
खण्डकाव्यपरम्परामै कण–कणको सुन्दरताका दृष्टिले उत्कृष्ट बनेको छ ।
सन्दर्भग्रन्थसूची
१) उपाध्याय, केशवप्रसाद, ‘साहित्य
प्रकाश’ पाँचौ सं., काठमाडौँ, साझा प्रकाशन, २०४९ ।
२) जोशी, कुमारबहादुर, ‘देवकोटाका
प्रमुख कविता कृतिहरुको कालक्रमिक विवेचना, काठमाडौँ, सिद्धार्थ वनस्थली प्राज्ञिक
परिषद्, २०४८ ।
३) जोशी, रत्नध्वज, ‘मुनामदनर देवकोटा,
बिहान, १:२ (२०२० साउन–असोज) ।
४) देवकोटा, लक्ष्मीप्रसाद, ‘मुनामदन’
चौँथो स. काठमाडौँ, साझा प्रकाशन २०५४ ।
५) बराल, ईश्वर (सम्पा) ‘सयपत्री’
ते.सं., काठमाडौँ, साझा प्रकाशन २०३० ।
६) त्रिपाठी, वासुदेव, ‘सिंहावलोकन’,
काठमाडौँ, साझा प्रकाशन, २०२७ ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्