Header Ads

हिमवत्खण्ड महाकाव्यमा अलङ्कारयोजना


सहप्रा. घनश्याम दाहाल
पिण्डेश्वर क्याम्पस
धरान
१. पृष्ठभूमि
                नेपाली महाकाव्यको विकासको आफ्नै किसिमको इतिहास र परम्परा रहेको मानिन्छ। कविताकै ठूलो रूप महाकाव्य भएकाले पनि विकासको पृष्ठभूमिसँग सहसम्बन्ध रहनु स्वाभाविकै ठानिन्छ। नेपाली महाकाव्यको विकासमा महाकाव्यकार भानुभक्त पोख्रेलको महत्त्वपूर्ण भूमिका रहेको बुझिन्छ। उनका मृत्युञ्जय (२०४७), जागृतिराग (२०५६) र हिमवत्खण्ड (२०६४) महाकाव्य महत्त्वपूर्ण मानिन्छन्। यी महाकाव्यहरूको सापेक्षतामा उनको महाकाव्यगत विशेषतालाई उजागर गर्न सकिन्छ
१.१ परिचय
आफ्ना महाकाव्यमा पोख्रेलले स्वच्छन्दतावादी भाव र परिष्कारवादी शैलीलाई आत्मसात् गरेको पाइन्छ। उनका महाकाव्यमा पूर्वीय दर्शन एवं धर्म संस्कृतिका विविध पक्षलाई उजागर गरेको पाइन्छ। उनका महाकाव्यमा देशभक्तिको भावना अभिव्यक्त भएको देखिन्छ। उनका महाकाव्यमा एकातिर सोमनाथ सिग्द्यालको परिष्कारवादी गहन काव्यमान्यता देखिन्छ भने माधव घिमिरेको जस्तो सहज भाव पनि महाकाव्यमा अभिव्यक्त भएको मानिन्छ। उनका महाकाव्यका आधारमा सिग्द्याल र घिमिरेका परिष्कृत लेखनबाट प्रभावित उत्तराधिकारी नवीन पुस्ताका महाकाव्यकारका रूपमा चिन्न सकिन्छ। परिष्कृत, परिमार्जित एवं परिपक्व काव्यभाषाको प्रयोग गर्नु उनको रचना कौशल मानिन्छ। सानो र छिटो विषय र सन्दर्भलाई पनि घुमाउरो पाराले फराकिलो बनाउँदै लैजानु उनका महाकाव्यको विषयगत गहिराइ हो।
१.२ महाकाव्यगत योगदान
                नेपाली महाकाव्यको स्वच्छन्दतावादी युग, प्रयोगवादी युग र उत्तर आधुनिकतावादी युगमा देखा परेका महत्त्वपूर्ण महाकाव्यकारका रूपमा भानुभक्त पोख्रेलको योगदान उल्लेखनीय मानिन्छ। चारवटा कविता सङÑग्रह, चारवटा खण्डकाव्य, तीनवटा महाकाव्य, विभिन्न समालोचनात्मक गहन कृति लेखेर नेपाली साहित्यको भण्डारलाई भरिपूर्ण पार्ने महत्त्वपूर्ण एवं विशिष्ट कार्य उनीबाट भएको छ। उनका काव्यकृतिहरू नेपाली साहित्यका महत्त्वपूर्ण सम्पत्तिका रूपमा रहेका छन्। शास्त्रीयतावादी र स्वच्छन्दतावादी चिन्तनलाई समान रूपमा प्रयोग गरेर एउटा नयाँ पुस्ताको विकास गरेका छन्। महाकाव्य लेखन परम्परामा सोमनाथ सिग्द्यालको आदर्श राधव महाकाव्यको आदर्श र शैलीगत पक्षलाई पनि आफ्ना महाकाव्यमा विशिष्ट स्थान दिएको बुझिन्छ। माधव घिमिरेका भाविक चिन्तन र भावको गाम्भीर्यलाई पनि यिनका काव्यले आत्मसात गरेको मानिन्छ।
१.३ नेपाली महाकाव्यमा पोख्रेलको स्थान
                भानुभक्त पोख्रेल नेपाली साहित्यका एक विशिष्ट साहित्यकार, कवि, समालोचक, विभिन्न सङ्खसंस्थामा आबद्ध सामाजिक व्यक्तित्व पनि हुन्। नेपाली महाकाव्यका क्षेत्रमा उनको योगदान उल्लेखनीय मानिन्छ। पोख्रेलको मृत्युञ्जय महाकाव्यमा शास्त्रीयतावाद र स्वच्छन्दवादको मिलन देखिन्छ भने सोमनाथ र घिमिरेका परिष्कृत लेखनबाट प्रभावित एक उत्तराधिकारी नवीन पुस्ताका महाकाव्यकारका रूपमा देखिन पुगेका छन् (गैरे, २०६०:१५३)। पूर्वीय दर्शन, उपदेशात्मक गहिराइ देशभक्तिको भावना उनका महाकाव्यका प्राप्ति वा उपलब्धि हुन्। नेपाली महाकाव्यको विकासको इतिहासमा एउटा नयाँ आयामलाई समात्ने कवि व्यक्तित्वका रूपमा उनको योगदान र भूमिका प्रशंसनीय रहेको पाइन्छ। नेपाली महाकाव्यको विकासको इतिहासमा ज्यादै उत्कृष्ट एवं ज्यादै निकृष्ट नभएर मध्यमार्गी धारमा उनका महाकाव्यको मूल्याङ्कन गर्नु युक्ति सङ्कत हुन्छ। यस आधारमा उनको योगदान र स्थान उल्लेखनीय देखापर्छ।
२. अलङ्कारको सैद्धान्तिक स्वरूप
२.१ अलङ्कारको अर्थ र तात्पर्य
                अलङ्कार शब्द संस्कृत भाषाको शब्द हो। कृ धातुमा अलं पद र घञ् प्रत्यय लागेर अलङ्कार शब्द बनेको छ। यसको शाब्दिक अर्थ आभूषण वा गहना हो। काव्यलाई सिङ्कार्ने आकर्षक पार्ने साधन विशेष नै अलङ्कार हो (दाहाल, २०६३:७७)। पूर्वी आचार्यहरूले अलङ्कारलाई दुई किसिमका दृष्टिकोणबाट विश्लेषण गरेको पाइन्छ।
(क)   अलङ्गरोति इति अलङ्कार : अर्थात् जसले सौन्दर्य बढाउँछ त्यो अलङ्कार हो।
(ख)   अलङ्क्रियते अनेन इति अलङ्कार : अर्थात् जसले सौन्दर्य बढाउनका लागि सहयोग पु¥याउँछ त्यो अलङ्कार हो।
                माथिका अलङ्कारसम्बन्धी विचारमध्ये दोस्रो विचार सार्थक रहेको मानिन्छ। अलङ्कारको अर्थ आभूषण हो र आभूषणको काम सौन्दर्यको अभिवृद्धि गर्नु हो (थापा, २०३६:२५१)। एउटा सुन्दर मान्छे आफैंमा पनि सुन्दर देखिन सक्छ। एउटी सुन्दरी सादा पोसाकमै पनि सुन्दर देखिन सक्छे। काव्य साहित्य आफैंमा सुन्दर हुन्छ। अझ अलङ्कारको प्रयोग भयो भने सुनमा सुगन्ध थपिन्छ। काव्य साहित्य आफैंमा उत्कृष्ट छ त्यसलाई अझ आकर्षक पार्ने वैकल्पिक गहना भनेकै अलङ्कार हो। अलङ्कार भनेकै आकर्षक, मनमोहन, सिँगार पेटार एवं सजावटका सामग्री हुन्।
२.२ अलङ्कार चिन्तन परम्परा
                पूर्वीय काव्य साहित्यमा अलङ्कार सम्प्रदायको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। भाषाको विकासको पृष्ठभूमिसँगै अलङ्कारको पृष्ठभूमि पनि गासिएको छ। वैदिक कालीन ग्रन्थ ऋग्वेद, यास्कको निरुक्त, पाणिनीको अष्टाध्यायी जस्ता ग्रन्थमा अलङ्कारको प्रयोग अनौपचारिक रूपमा भएको मानिन्छ। भरतमुनिको नाट्यशास्त्रमा चारवटा अलङ्कारको उल्लेख भएको देखिन्छ। अलङ्कार चिन्तन परम्पराको औपचारिक रूपमा प्रारम्भ र विकास गर्ने छैटौं शताब्दीका आचार्य भामह र उनको ग्रन्थ काव्यालङ्कार हो। उनी अलङ्कार सम्प्रदायका संस्थापक आचार्य वा अलङ्कारवादका जन्मदाता पनि हुन्। भामहपछि आचार्य दण्डीले पनि अलङ्कारको महत्त्वलाई उजागर गर्ने प्रयत्न गरेका छन्। उनको काव्यादर्श नामक ग्रन्थमा अलङ्कारको परिभाषा, वर्गीकरण गरेको पाइन्छ। दण्डीपछि उÈटले काव्यालङ्कार सार सङÑग्रह, रुद्रटले काव्यालङ्कार, रूप्यकले अलङ्कार सर्वस्व नामक ग्रन्थमा अलङ्कार सम्बन्धी आफ्ना विचार र अवधारणा व्यक्त गरेको देखिन्छ। मंमट, विश्वनाथ, जगन्नाथजस्ता पूर्वीय विद्वान्हरूले पनि कुनै न कुनै रूपमा अलङ्कारको महत्त्व र आवश्यतालाई उल्लेख गरेका छन्। त्यसैले अलङ्कार चिन्तनको परम्परागत इतिहास लामो र विशिष्ट देखापर्छ।
२.३ अलङ्कारका सन्दर्भमा विद्वान्हरूका अवधारणा
                अलङ्कार काव्य साहित्यको सौन्दर्य बर्द्धक साधन विशेष हो। यसका विषयमा पूर्वीय काव्य साहित्यमा एकै किसिमको विचार र अवधारणा देखिदैन। अलङ्कारका विषय व्यक्त विचार र धारणालाई सङ्क्षिप्त रूपमा निम्नानुसार उल्लेख गरिन्छ :
–              वक्राभिधेय शब्दोक्तिरिष्टा वाचामलङ्कृति : अर्थात् काव्य शोभा बढाउने धर्म अलङ्कार हो। भामह : काव्यालङ्कार, दोस्रो परिच्छेद
–              काव्य शोभाकरान् धर्मानलङ्गारान्प्रचक्षले अर्थात् काव्यको शोभा बढाउने धर्म अलङ्कार हो। दण्डी : काव्यादर्श
–              काव्यं ग्राह्यमलङ्गारात्, सौन्दर्यमलङ्कार : अलङ्कृतिरलङ्कार : अर्थात् काव्यलाई ग्राह्य बनाउने सौन्दर्य नै अलङ्कार हो। वामन : काव्यलङ्कार सूत्र
–              अभिधानप्रकारविशेषा एवं चालङ्गारा : अर्थात् भनाइको प्रकार विशेष अलङ्कार हो। रुद्रट : रुद्रटालङ्कार
–              अलङ्गारो हि बाह्यालङ्कार साम्यवङ्गिनश्चारुत्वहेतुरूच्यते अर्थात् बाह्य आभूषणझैं अङ्की रसको चारुत्वको साधन अलङ्कार हो। आनन्दवर्द्धन : ध्वन्यालोक, दोस्रो उद्यत
–              उपकुर्वन्ति तं सन्तमङ्कद्वारेण जातुचित्। हारादिवदलङ्गारास्तेनुप्रासोपमादय : अर्थात् शब्द र अर्थद्वारा रसको उपकार गर्ने हार आदि गहना समान रहेका अनुप्रास उपमादि अलङ्कार हुन्।
–              शब्दार्थयोरस्थिरा ये धर्माः शोभातिशायिनः। मम्मटः काव्यःप्रकाश, आठौं उल्लास।
–              रसादीनुपकुर्वन्तोलङ्गारास्तेङ्कदादिवत्।। अर्थात् हारादि गहनाले मानिसको शरीरका विभिन्न अङ्कलाई सुन्दर बनाएजस्तै काव्य वा साहित्यलाई सुन्दर बनाउने अस्थिर मानिने उपमा आदि अलङ्कार हुन्। विश्वनाथः साहित्यदर्पण, दशौं परिच्छेद।
–              काव्यात्मनो व्यङ्ग्यस्य रमणीयता प्रयोजनका अलङ्गाराः निरूप्यन्ते अर्थात् काव्यको आत्मास्वरूप रसको सौन्दर्य बढाउने साधन अलङ्कार हो। पण्डितराज जगन्नाथः रसगङ्काधर दोस्रो आनन।
                पूर्वी आचार्यहरूका माथि उल्लेख भएका परिभाषा वा अवधारणालाई आत्मसात गर्दा अलङ्कारका सन्दर्भमा निम्न धारणा व्यक्त गर्न सकिन्छ :
                –              अलङ्कार काव्य साहित्यको गहना हो।
                –              अलङ्कार काव्य साहित्यको वैकल्पिक तत्त्व हो।
                –              अलङ्कारको काव्य साहित्यको सौन्दर्य मात्र अभिवृद्धि गर्दछ।
२.४ काव्यमा अलङ्कारको स्थान
                चमत्कारपूर्ण शब्दार्थलाई व्यक्त गर्नु अलङ्कारको विशिष्ट पक्ष वा प्राप्ति हो (उपाध्याय, २०३६ : ११२)। विशिष्ट पक्षले काव्यको आशय र मर्मलाई अझ गहकिलो पार्नु प्रतिष्ठा र गौरव वृद्धि गर्नु अझ उपलब्धिपूर्ण कार्य हो। लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्यलाई अलङ्कारकै उपज मान्न सकिन्छ। काव्यमा अलङ्कारको स्थान के छ ? भन्ने सन्दर्भमा निम्न बुँदाहरूलाई निम्नानुसार उल्लेख गरिन्छ :
–              काव्यको सौन्दर्य वृद्धिको महत्त्वपूर्ण साधन अलङ्कार हो।
–              काव्यलाई शब्द र अर्थगत दृष्टिले चमत्कारपूर्ण र सार्थक बनाउनु भएको महत्त्वपूर्ण काम हो।
–              अलङ्कारको चमत्कार घुमाउरो भनाइमा हुन्छ। घुमाउरो भनाइ भनेकै वक्रोक्ति हो। वक्रोक्ति पूर्ण कथनबाट साहित्य जीवित र अर्थपूर्ण बन्न सक्दछ।
–              विशिष्ट चमत्कारपूर्ण कथन अलङ्कार भएकाले काव्यमा विशिष्ट कथनको महत्त्व र उपयोगिता उच्च रहेको पाइन्छ।
–              आलङ्गारिक सौन्दर्यभित्र रसको अस्तित्व र प्रतिष्ठान पनि अन्तर्निहित हुने भएकाले काव्य साहित्यमा अलङ्कारको भूमिका महत्त्वपूर्ण मानिन्छ।
–              काव्यमा व्यङ्ग्यात्मक, ध्वन्यात्मक एवं चमत्कारपूर्ण भनाइको उपयोग गरिन्छ। ती सबै आलङ्गारिक सौन्दर्यको पृष्ठभूमि हुन्।
२.५ अलङ्कारको वर्गीकरण
                चमत्कार विशेषको नाम नै अलङ्कार हो। अलङ्कारलाई विभिन्न भागमा विभाजन गरिएको पाइन्छ। अलङ्कार वर्गीकरणका विषयमा पूर्वीय आचार्यहरूको एकै किसिमको मत पाइदैन। सङ्ख्या आफ्नै किसिमको देखिन्छ। आचार्य उÈटले प्रथम, द्वितीय, तृतीय, चुतर्थ, पञ्चम एवं षष्ठ गरी ६ भागमा विभाजन गरेका छन् भने रुद्रटले वास्तव, औपम्य, अतिशय, श्लेष गरी चार भागमा विभाजन गरेका छन्। रूप्यकले सादृश्य गर्भ, विरोध गर्भ, शृङ्खलाबन्ध, न्यायमूल र गुढार्थ मूल गरी पाँच वर्गमा विभाजन गरेका छन्। आचार्य भोजले शब्द, अर्थ र उभय गरी तीन भागमा बाडेका छन्। विद्वान्हरूका अलङ्कार वर्गीकरणका आफ्नै मत, सिद्धान्त र प्रकार छन्। अलङ्कारको सर्वमान्य विभाजन, शब्दालङ्कार र अर्थालङ्कारलाई मान्नु उपयुक्त र सान्दर्भिक देखिन्छ।
२.५.१  शब्दालङ्कार
                शब्दको वैचित्त्यमा केन्द्रित अलङ्कार शब्दालङ्कार हो र यसले शब्द परिवर्तनलाई सहन गर्न सक्दैन। शब्दको प्रयोगलाई यसले विशेष महत्त्व राख्दछ। शब्दको विशिष्ट भूमिका रहने हुनाले पर्यायवाची शब्द राख्न सकिने अवस्था देखिदैन। शब्दालङ्कार शब्दकेन्द्री वा रूपतत्त्वले (शर्मा र लुइटेल, २०६१ : ७०)। यसको महत्त्वपूर्ण कार्य भनेकै शब्दको विशेष प्रयोगबाट उक्ति वैचित्त्य र चमत्कार पैदा गराई सहृदयलाई आनन्दित पार्नु हो। समान ध्वनि वर्ण र असमानार्थी पदहरूको आवृत्तिद्वारा काव्यलाई श्रुतिमधुर एवं मर्मस्पर्शी बनाउने योजना यसको उल्लेख्य पक्ष हो। यसलाई अनुप्रास, यमक, श्लेष आदि भनेर विभाजन गर्ने परम्परागत मान्यता रहेको बुझिन्छ।
२.५.२  अर्थालङ्कार
                अर्थको वैचित्त्यमा आधारित अलङ्कार नै अर्थालङ्कार हो। यसले शब्दको फेरबदललाई सहन्छ। यसमा अर्थको विशिष्ट भूमिका र महत्त्व रहेको हुन्छ। अर्थको भूमिका रहने हुनाले एउटै अर्थ दिने पर्यायवाची शब्द राख्न सकिन्छ। अर्थको चमत्कारपूर्ण प्रयोगबाट पाठकलाई आनन्दित पार्नु यसको महत्त्वपूर्ण काम हो। कविको काल्पनिक चमत्कारलाई कल्पनामै राख्न सक्नु अर्थमा आश्रित, वर्ण परिवर्तन सहन सक्नु यसको शक्ति र सामथ्र्य हो (दाहाल, २०६४ : ८४)। अर्थको चमत्कारले काव्यलाई औचित्यपूर्ण एवं मर्मस्पर्शी बनाउनु यसको उल्लेख्य विशेषता मानिन्छ। काव्यमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा आदि अलङ्कारको प्रयोग हुने गर्दछ। प्रयोगका आधारमा अर्थालङ्कारको पनि विभाजनको आफ्नै किसिमको विधि र लामो इतिहास रहेको बुझिन्छ।
३. हिमवत्खण्ड महाकाव्य
३.१ हिमवत्खण्डको सङ्क्षिप्त कथावस्तु
                एशिया महादेशको जम्बूद्वीपमा अवस्थित विशाल अखण्ड एवं विश्व प्रसिद्ध साम्राज्य हिमवत्खण्ड हो। प्रकृतिले सम्पन्न राजा रहेको यो साम्राज्य विखण्डन भई प्रा. ज्योतिष (असम राज्य) राज्यमा मात्र सीमित हुन पुग्दछ। असम राज्यका राजा किरात वंशी कुलितरले कैलाशतिरका कुनै किन्नरराजकी छोरी किन्नरीसँग विवाह गर्दछन्। समय र सन्दर्भमा महारानी किन्नरी गर्भवती भएको समयमा सीमन्तोन्नयन संस्कार गर्न भनेर महारानी किन्नरीलाई लिएर सर्वाेच्च विद्यालय जान्छन् र संस्कार विधि सम्पन्न गरेर पुनः दरबारतर्फ आउँछन्।
                गर्भवती किन्नरीले विविधखाले सपना देखिन्छन् र आफूले देखेको सपना राजा कुलितासुरलाई सुनाउछिन्। त्यसै बेला आफ्ना गुरु शुक्राचार्य पत्नीसहित आएको थाहा पाएपछि भव्य स्वागत गर्दछन्। गुरु शुक्राचार्यले राजालाई बसन्त श्रवण गराउँछन् र विभिन्न किसिमका कुटनीति पनि सिकाउँछन्। नौ महिनाकी गर्भिणी रानीलाई राम सीताको कथा सुनाउँछन्। कविले पनि यसैबेला बसन्त ऋतुका प्राकृतिक सौन्दर्यको खुलेर वर्णन गर्दछन्। बसन्तको मौसममा रानीले पनि आफ्नो प्रथम सन्तान जन्माउछिन्। त्यसपछि विविध संस्कार गरी उक्त जन्मजात शिशुको नाम शम्बरासुर राखिन्छ। समयको क्रमअनुसार नामाकरणपछिका संस्कार सकेर उपनयन संस्कारसँगै बेदारम्म वा शिक्षादीक्षा आरम्भ गराउन आठ वर्षको
छोरो शम्बरासुरलाई साथ लिएर राजारानी विद्याश्रम जान्छन् र विद्या अध्ययनका लागि छोरालाई त्यही छोडी घर फर्कन्छन्।
                शम्बरासुर पनि साथी भाइसँग मिलेर पढ्न थाल्छन्। तिब्बतबाट इन्द्रकुलका शक्रनामक राजकुमार पनि त्यहाँ पढ्न आएका हुन्छन्। यी दुईका बीचमा पढाइमा ज्यादै प्रतिस्पर्धा हुन्थ्यो। शास्त्रार्थका सन्दर्भमा म जान्ने भन्ने विषयमा दुईका बीच बैरभाव हुन्छ। बैरभावले नराम्रो अवस्था सिर्जना होला भन्ने त्रासले दुवैलाई देशाटनमा लगिन्छ। शम्बरासुरलाई चीन र शक्रलाई हिमवत्खण्ड भ्रमणका लागि पठाइन्छ। भ्रमण सकेर फर्किएपछि सर्वाेच्च विश्वविद्यालयमा दीक्षान्त समारोह हुन्छ। दीक्षान्तपछि आफूलाई फुर्सद ठानेर विभिन्न ठाउँहरू बडो आनन्दपूर्वक सहभागी विद्यार्थीहरू घुम्दछन्। दीक्षान्त सकिएको तेस्रो दिन शुक्राचार्यको अध्यक्षतामा विचार सभा बस्यो। विचार सभामा कुलितासुरले आफ्नो उत्तराधिकारी छान्ने र राष्ट्रिय एकीकरणको विषयलाई एजेन्डाका रूपमा प्रस्तुत गर्छन्। तङ्गण राजकुमार बज्रवेगासुरले कलमभन्दा तरवार नै ठूलो हो भन्ने विचार व्यक्त गर्दछन्। अध्यक्षको आज्ञानुसार शम्बरासुरका सहपाठी शुक्रले कुटनैतिक एवं चालबाजीपूर्ण घुमाउरो कुरा गरेर हिमवत्खण्ड महामुलकको राष्ट्रिय एकीकरणको विरोध गर्छन्। त्यसपछि शम्बरासुरले गहन किसिमको सुधारात्मक एवं लोकतान्त्रिक भाषण गर्छन्। उनको भाषण ज्यादै राम्रो उनको नीति उत्तम भएको ठानेर सबैले राज्यको नेता बनाउन प्रस्ताव गर्छन् र राजा कुलितासुरले शम्बरासुरलाई जननायकको संज्ञा दिई युवराजको पगरी गुताइदिन्छन्। विचारसभा सम्पन्न भई सबै आफ्नो घरतर्फ लाग्छन्। राजा कुलितासुरलाई महारानी किन्नरीले छोरो शम्बरासुरले खस राजाकी छोरीसित प्रेम गरेको विषय सुनाउँछिन्। त्यसपछि छोरो शम्बरासुरलाई यथार्थ बुझ्दा उसले स्वीकार्दछ र खस राजाकी छोरी विवक्षासँग विवाह सम्पन्न गरी विवक्षा (मायावती) लाई युवराज्ञी बनाइन्छ।
                समय र सन्दर्भ मिलाएर शम्बरासुरको राज्याभिषेक सम्पन्न हुन्छ। जनता, दियो र दुबो साक्षी राखेर पदीय शपथ गराइन्छ। राजा शम्बरासुरले पनि गहकिलो भाषण दिन्छन्। भारद्वाज र अन्त्यमा महारानी विवक्षाले पनि आफ्नो दृढ विचार व्यक्त गर्छिन्। राजा शम्बरासुरका प्रधानमन्त्री चुमुरीले आन्तरिक छलफल वा बैठक भोलि हुने कुराको जानकारी गराउँछन् भने सभा पनि विसर्जन हुन्छ।
                भोलिपल्ट राजा रजौटाहरूको गोप्य बैठकमा कुरा मिल्दैन। राज्याभिषेकमा राम्रा कुरा गर्ने राजाहरू पनि चाम्रा र बाङ्का कुरा गर्न थाल्छन्। गोप्य बैठकको अध्यक्षता अत्रि ऋषिले र सभामा अनुशासन कायम गर्ने काम शुक्राचार्यको हुन्छ, किरातहरूका गुरु शुक्राचार्यले किरात राजाहरूलाई सधैं तरवारवीर मात्र बनेर पुग्दैन कलमवीर पनि बन्नुपर्छ भनेर हकार्दछन्। बल्लतल्ल राष्ट्रिय एकीकरणको प्रस्तावलाई बैठक पास गर्दछ। कुन क्षेत्रबाट कसरी एकीकरण गर्ने भन्ने सन्दर्भमा पनि एक किसिमको नीति बनाइन्छ। बाबुआमासँग शम्बरासुर र पत्नी विवक्षाको लताकुञ्जमा भेट हुन्छ। बाबु आमाले वानप्रस्थ आश्रममा जाने मनसाय राख्दछन् र त्यो मनसायलाई बुझेर दरबार हाताभित्र नै वानप्रस्थको उद्देश्य पूरा गर्ने कुरा मिलाइन्छ। राजा शम्बरासुरले राष्ट्रिय एकीकरणको पूर्व तयारी सुरु गर्दछन्। बृद्ध बाबु कुलितासुरलाई पौरवणाधिपति पुरुकुत्स कहाँ मैत्रीसन्धी गर्न पठाउँछन् भने राष्ट्रिय महिला सेना गठन गरी स्त्री सेनाकी हाकिम वा चमूपति आफ्नी महारानी विवक्षालाई बनाउँछन्। संयोगवश विवक्षाले छोरो पाउँछिन् र छोराको नाम सम्भवासुर राखिन्छ। उता मैत्रीसन्धी गरेर पूर्व राजा कुलितासुर पनि फर्किन्छन्। शिशु सम्म बासु र एक वर्ष पुगेपछि एकीकरण अभियान सुरु हुन्छ। लोहित्य देशसँग तेस्रो वार्ता सफल हुन्छ। यक्ष प्रदेशलाई पनि शम्बरासुर जित्न सफल हुन्छन्। इन्द्रकील प्रदेशमा पनि विजय प्राप्त गर्दछन्। दिवादेहसका प्रधान सेनापति महर्षि भरद्वाजले युद्ध सम्बन्धी नीति तय गर्छन्। विवक्षालाई आफ्नो अधिकार दिई सम्राज्ञी बनाउन प्राग्ज्योतिष तिर जान्छन्। युद्धका लागि इन्द्र पक्ष र शम्बरासुर पक्ष तयार हुन्छन्। दुवैका बीच युद्ध हुन्छ र इन्द्रले शम्बरासुरलाई आहत पारी मार्छन्। शम्बरासुर मरेपछि किरातहरूको हार भएको स्वर सुनिन्छ भने शम्बरासुरको मृत्युपछि मार्ने शक्रनामक इन्द्र पनि अश्रुजलले श्रद्धाञ्जली अर्पण गर्दछन्। अन्तिम अवस्थामा सर्वाधिकार सम्पन्न सम्राज्ञी सम्राट दिवोदासकी पत्नी महारानी सुलोचना र महारानी विवक्षाको हृदय पग्लन्छ र मिलेर हिमवत्खण्डको एउटै राष्ट्रगान रच्ने धुनमा लाग्छन्। संसार केही होइन। जीवन अनित्य छ। सबै मिलेर हासीखुसी रमाउनु नै जीवनको सार्थकता र उद्देश्य हो। महान् सोच र विचारका साथ सबैलाई अघि बढ्न आग्रह गरेर महाकाव्यको कथा सकिन्छ।

३.२ पात्रयोजना
                महाकाव्यमा पात्रको योजना प्रभावकारी मानिन्छ। पात्रकै माध्यमबाट कथानकले आफ्नो वास्तविक स्वरूपलाई ग्रहण पनि गर्दछ। हिमवत्खण्ड महाकाव्यमा पात्रहरूको प्रभावकारी योजना छ। इतिहासको पाटोदेखि ज्ञानविज्ञान हुँदै समसामयिक वर्तमान सन्दर्भलाई समेत समेट्ने गरी पात्रहरूको योजना भएको मानिन्छ। असम राज्यका कुलितासुर किन्नर राजकी छोरी किन्नरी वा कुलितासुरकी महारानी, छोरो शम्बरासुर, शम्बरासुरको पनि छोरो सम्मवासुर एम्शसुरकी पत्नी विवक्षा (मायावती) भृगुवंशी शुक्राचार्य, शुक्र, भरद्वाज अत्रिऋषि, सम्राट दिवोदास, पत्नी सुलोचना आदि महत्त्वपूर्ण पात्रका रूपमा देखिन्छन्। राष्ट्रिय एकीकरणका सन्दर्भमा राजा रजौटाले पनि पात्रको भूमिका खेलेको पाइन्छ। पात्रहरू समान महत्त्वका इतिहासलाई पुनर्जीवित पार्ने खालका देखिन्छन्। पात्रको क्रियाशीलताबाट खम् ब्रéको सिद्धान्तलाई सिकाउन खोजिएको छ। पात्रयोजना अलि जटिल र सम्झ्mन समेत पट्यार लाग्दो प्रतीत हुन्छ। पात्रहरू प्रतिनिधिमूलक पनि छन्। पात्र योजनाका दृष्टिले प्रस्तुत महाकाव्यलाई सफलै मान्नुपर्छ।

३.३ केन्द्रीय कथ्य
                भानुभक्त पोख्रेलको हिमवत्खण्ड महाकाव्यमा ऐतिहासिक पृष्ठभूमिदेखि नेपाल एकीकरणको विचार एवं वर्तमान राजनैतिक भागवण्डा र खिचातानीलाई प्रस्तुत गरिएको पाइन्छ। राजाको वंशगत इतिहास वसन्तऋतुको सुन्दर महत्त्व, जन्मेपछि गरिने विविध संस्कार, विद्याश्रमको उपयोगिता, धार्मिक आस्था र विश्वासको भावना, सभा, विचार गोष्ठी, दीक्षान्त समारोह, हार्दिक प्रेमको प्रसङ्कलाई उल्लेख गरिएको छ। राज्याभिषेक, राज्याभिषेक पछिको पदीय शपथ ग्रहण, विभिन्न किसिमका राजनैतिक भाषण, विचारहरूको द्वन्द्व र किरातहरूको यथार्थ स्थितिलाई पनि उजागर गर्न खोजिएको पाइन्छ। वर्तमान सन्दर्भलाई समेत सङ्गेत गर्ने राष्ट्रिय महासंसद, महा मेलमिलाप, सहमति सहकार्य, राष्ट्रिय एकताका पक्षमा समेत विचारहरू अभिव्यक्त भएको पाइन्छ। सबैको उपकार र भलो हुने काममा लाग्न सबैलाई प्रेरणा र हौसला दिन खोजिएको छ। आपसी समझदारीबाट मात्र काम सम्पन्न गर्न सकिन्छ। जीवन नाशवान् र नाशवान् जीवनमा सही बाटो हिडी खम् ब्रéको विचारलाई अनुसरण गर्नै पर्छ। नारी पुरुषको मिलन संसारको सृष्टिको चक्र वा क्रम हो भन्ने विचारलाई पनि अभिव्यक्त गर्न खोजिएको पाइन्छ।
३.४ व्य·य पक्ष
                पोख्रेलको प्रस्तुत महाकाव्यमा सामाजिक विकृति, विसङ्कति एवं राजनैतिक अस्तव्यस्तताप्रति व्यङ्ग्य गरिएको छ। महाकाव्यमा सातजना साक्षी राखेर सिङ्को हिमवत्खण्ड महामुलुकको महा मेलमिलापको महासन्धिपत्र गरिएको छ। यसले वर्तमान सन्दर्भमा दलहरूका बीचको प्रतिबद्धता पत्रको सङ्गेत गरेको बुझिन्छ। राजा रजौटाहरूको गोप्य बैठक महासभा विसर्जनको भोलिपल्ट बस्दा बैठकको अध्यक्षता अत्रि ऋषिले गरेको देखिन्छ भने समानुशासकको भूमिका शुक्राचार्यले गरेको पाइन्छ। गोप्य बैठकबाट राष्ट्रिय एकीकरणको नीति तयार हुन्छ। यस प्रक्रियाले नेपालको संसदको गतिविधिलाई पनि सङ्गेत गर्दै गोप्य बैठकले केही निकास निकाल्नैपर्ने सहमतिका लागि सहमति मात्र हुनुहुँदैन भन्ने व्यङ्ग्यात्मक पक्षलाई देखाउन खोजिएको छ। झैझगडा मात्र गरेर देश विकास र जनताको उन्नति सम्भव छैन। नेताहरू बुद्धिमानी, ज्ञानी र सभ्य बन्नुपर्छ। मिठो भाषणमा मात्र सीमित राखेर देशलाई बन्दी बनाउनु हुँदैन। पूर्वजको शालीन परम्परा र व्यवहारलाई बुझेर सही बाटो हिड्नका लागि व्यङ्ग्यात्मक रूपमा हामीलाई आग्रह गर्न खोजिएको बुझिन्छ।

४. हिमवत्खण्ड महाकाव्यमा अलङ्कार योजना
४.१ शब्दालङ्कार
                शब्दको वैचित्त्यमा आधारित अलङ्कार शब्दालङ्कार हो (शर्मा र लुइटेल, २०६१ : ७०)। शब्दालङ्कारले शब्द परिवर्तनलाई सहन सक्दैन। शब्द प्रयोगलाई विशिष्ट स्थान दिने गर्दछ। शब्द प्रयोगबाट चमत्कार पैदा गरी सहृदयलाई चमत्कृत पार्नु यसको महत्त्व र उपलब्धि रहेको पाइन्छ। शब्दालङ्कारको आफ्नै किसिमको विभाजन प्रक्रिया छ।
४.१.१ अनुप्रास
                अनुप्रास भनेको व्यञ्जन वर्णको पुनरावृत्ति हुने प्रक्रिया हो। साहित्यका पङ्क्तिमा वर्णहरूको बारम्बार आकृति भएर उत्पन्न हुने चमत्कार नै अनुप्रास हो। अनुप्रास विभाजन प्रक्रिया पनि आफ्नै खालको छ।
४.१.१.१ छेकानुप्रास
काव्यसाहित्यमा एक पङ्क्ति, वाक्य वा उपवाक्य एक पटक मात्र वर्णको पुनरावृत्ति हुँदा उत्पन्न हुने चमत्कारपूर्ण सौन्दर्यलाई छेकानुप्रास मानिन्छ। छेकानुप्रासलाई हिमवत्खण्ड महाकाव्यमा निम्नानुसार देखाइन्छ :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     ऐले दाजुसमान छन् अदितिका सन्तान ती
                यस भनाइमा स वर्णको एक पटक मात्र पुनरावृत्ति
                भएकोले छेकानुप्रासः   १     २५
२.     उठेर हिँड्दै सब छात्रछात्रा
                यस भनाइमा छाको एकपटक पुनरावृत्ति
                भएकाले छेकानुप्रास   ६     ३६
४.१.१.२ वृत्यनुप्रास
                एक वा एकभन्दा बढी व्यञ्जन वर्णहरू एउटै पङ्क्ति, वाक्य वा पदावलीमा एकपटक पुनरावृत्ति हुँदा उत्पन्न हुने आलङ्गारिक चमत्कारलाई वृत्यनुप्रास मानिन्छ। प्रस्तुत महाकाव्यबाट यसरी देखाइन्छ।
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     हामी नै हतियार हान्न सुरिदा
                यस भनाइमा ह को वर्ण तीनपटक पुनरावृत्ति
                भएकोले वृत्यनुप्रास    ७     ११
४.१.१.३ अन्त्यानुप्रास
काव्य साहित्यको प्रत्येक पाउ वा चरणको अन्त्यमा आउने एक वा अनेक वर्ण पुनरावृत्ति भई चमत्कारपूर्ण बनाउने प्रक्रियालाई अन्त्यानुप्रास मानिन्छ। जस्तै :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     बलवीर शयौंलाई एउटै बुद्धिवीरले तह लाउँछ
                लाएझैं अन्धकार प्रकाशले यस भनाइमा ले को
                प्रत्येक पाउको अन्त्यमा पुनरावृत्ति
                भएकाले अन्त्यानुप्रास  १७    ४
४.१.२ यमक
                यमकको शाब्दिक अर्थ जोडी हो। आकारप्रकार मिल्दो भए पनि अर्थ फरक भएका वर्ण समूहको पुनरावृत्ति हुने प्रक्रियालाई यमक अलङ्कार मानिन्छ। यसमा स्वर र व्यञ्जन वर्ण दुवै दोहोरिने गर्दछन्। वर्णको पुनरावृत्तिमा अनुप्रास आधारित हुन्छ भने वर्ण समूहमा यमक आधारित हुन्छ। जस्तै :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     यो संसारसार प्यारमदिरा
                यस भनाइमा सार शब्दको पुनरावृत्ति
                भएकाले यमक ३     ७
४.१.३ श्लेष
                एकभन्दा अधिक अर्थ लाग्ने शब्दलाई श्लेष मानिन्छ। यसको शाब्दिक अर्थ क्लिष्ट वा मिलेको भन्ने बुझिन्छ। एउटै शब्दले धेरै अर्थ प्रकट गर्ने तात्पर्यमा श्लेष अलङ्कार केन्द्रित देखिन्छ। श्लेषलाई वक्रोक्तिको एउटा भेदका रूपमा समेत लिने गरेको पाइन्छ। एक किसिमको भनाइलाई अर्कै किसिमले अर्थ लगाउँदा उत्पन्न हुने अलङ्कार वक्रोक्ति हो। पूर्वीय काव्य साहित्यमा वक्रोत्तिलाई श्लेष र काकु गरेर उल्लेख गरेको पाइए पनि श्लेष अलङ्कारकै रूपमा बहुचर्चित र सर्वमान्य रहेको बुझिन्छ।
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     खाने दाँत स्वयं उपस्थित हुँदा
                यस भनाइमा खाना खाने वा चपाउने दाँत भन्ने
                एउटा अर्थ हो भने दिवोदासका प्रधानमन्त्री,
                सेनापति महर्षि भरद्वाज कार्यकारी प्रमुख हुन् भन्ने
                अर्को अर्थपूर्ण भनाइ हो। त्यसैले उक्त भनाइमा
                श्लेष अलङ्कार ११    ५
४.२ अर्थालङ्कार
                अर्थको वैचित्त्यमा आधारित अलङ्कारलाई अर्थालङ्कार मानिन्छ। शब्दको परिवर्तनलाई सहन गर्न सक्नु यसको विशेषता हो। यसमा अर्थको महत्त्व र भूमिका विशिष्ट रहन्छ। अर्थको विशेष प्रयोगबाट साहित्यिक पाठकलाई चमत्कृत पार्नु यसको महत्त्वपूर्ण कार्य मानिन्छ। अर्थालङ्कारको आफ्नै किसिमको विभाजन प्रक्रिया देखापर्छ।
४.२.१ उपमा अलङ्कार
                उपमाको अर्थ र तात्पर्य तुलना हो (उपाध्याय, २०३६:१२८)। एउटा व्यक्तिको अर्को व्यक्तिसँग वा एउटा वस्तुको अर्को वस्तुसँग दाँज्ने क्रममा उपमालङ्कार हुन्छ। यसरी तुलना गर्ने व्यक्ति वा वस्तुको गुण वा धर्म समान हुनु आवश्यक ठानिन्छ। एउटालाई अर्कोसँग तुलना गर्दा तिनीहरूका बीच उपमान र उपमेय सम्बन्ध रहेको हुन्छ। दुई वस्तु वा व्यक्तिका बीच समानता देखाउन झैं, सरी, तुल्यजस्ता सादृश्यवाचक शब्दको समेत प्रयोग हुने गर्दछ। जसको तुलना गरिन्छ त्यो उपमेय र जससित तुलना गरिन्छ त्यो उपमानका रूपमा रहेको हुन्छ। जस्तै :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     सयौं बलवीरलाई एउटै बुद्धिवीरले तह लगाए झैं
                अन्धकारलाई प्रकाशले तह लगाउँछ
                भन्ने भनाइमा उपमा  १७    ४
२.     लाखौं बत्ती जगाएझैं पुष्पकुड्मल जग्मग छन्
                भन्ने भनाइमा उपमा  १७    १०
३.     सारतत्त्व बुझेपछि एकान्तमा सुध्याए झैं
                भेजेको दूतमण्डली फर्किएर आयो
                भन्ने भनाइमा उपमा  १८    ५८
४.२.२ रूपक
                कुनै एउटै व्यक्तित्व वा वस्तुमाथि कुनै अर्को वस्तु वा व्यक्तिको अभेद (अभिन्न) आरोप लगाइयो भने त्यसलाई रूपक अलङ्कार मानिन्छ। उपमामा फलानो फलानोजस्तै छ भनिन्छ भने रूपकमा फलानो नै फलानो हो भनिन्छ। उपमान र उपमेयका बीच भेद नरहेको आरोप लगाई सादृश्य वाचक शब्द प्रयोग नगरिएको अवस्थितिलाई रूपक अलङ्कार मानिन्छ। रामसीता आदि पात्रहरूलाई नटनटी एवं अभिनेतामा आरोप गर्न सकिने अवस्था भएकाले नाटकलाई रूपक भनेको हुन सक्दछ।
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     मित्रमातुलमा अभेद अरोप भएकाले रूपक    १८    ६४
२.     विश्वमानवकोमा अभेद आरोप भएकाले रूपक  १९    १५
३.     मानव धर्मको अभेद आरोप भएकाले रूपक    १९    २१
४.२.३  उत्प्रेक्षा
                उपमेयमा उपमानको सम्भावना देखिनु उत्प्रेक्षा हो। प्रस्तुत अप्रस्तुतको सम्भावना देखाइएको अवस्थामा उत्प्रेक्षा अलङ्कार हुने गर्दछ। उत्प्रेक्षाको अवस्था सन्देह अलङ्कारदेखि पर र रूपक अलङ्कारदेखि वर मानिन्छ। सन्देह र रूपकको बीचमा हुने अलङ्कार नै उत्पेक्षा हो। उत्प्रेक्षा अलङ्कारका वाचक शब्द मानौं, सम्भवत, निश्चय, कि, प्राय, झै आदिलाई मानिन्छ। जस्तै :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     आफैंमा परिपूर्ण पारसमणी छोयो कि मौलाइने
                यस भनाइमा सम्भावना व्यक्त भएकोले उत्प्रेक्षा      १     ३
२.     “ºयाके झैं छरिदैं गयो विहगका भुत्ला लुछी चौतिर
                यस भनाइमा सम्भावना देखिएकाले उत्प्रेक्षा   १     २२
३.     घट्तै नैतिकता, इमान सकिदै जाला कि झै वैकृत :
                यस भनाइमा मान्छेको नैतिकता पो सकिने हो कि
                भन्ने सम्भावना व्यक्त भएकाले उत्प्रेक्षा      १     २६
४.     एकै ठाउँ सहस्र रूप रङ्कका बत्ती जगाए सरि
                यस भनाइमा एउटै ठाउँमा हजार रूप रङ्ग भएका
                बत्ती पो जगाएको हो कि भन्ने सम्भावना व्यक्त
                भएकाले उत्प्रेक्षा                  १     ५२
४.२.४ दृष्टान्त
                दृष्टान्तको शाब्दिक अर्थ उदाहरण हो। कुनै कवितामा होस् वा काव्यमा एउटा भनाइलाई अर्कै उदाहरण सहितको भनाइले पुष्टि गर्ने क्रममा उत्पन्न हुने अलङ्कारलाई दृष्टान्त अलङ्कार मानिन्छ। यसमा अनिश्चित कुरालाई उदाहरणमा प्रस्तुत गरेर निश्चित बनाउने काम हुने गर्दछ। यसमा एउटा पङ्क्ति उपमान र अर्को पङक्ति उपमेयका रूपमा देखिने गर्दछ। कुनै कुरा छर्लङ्क पार्ने भनाइसँग मिल्ने कुनै उदाहरण प्रस्तुत गर्नु दृष्टान्त हो।
                जस्तै :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     बुट्टा छिर्बिर रङ्कदार सफरी हेर्दा छ अल्पाकृति
                गथ्र्यौ किन्तु पचास अश्वबलको विद्युत्तरङ्काकृति
                यस भनाइमा अल्पाकृति भएको छिर्बिरे रङ्कको माछाको
                हनाइको उदाहरणका रूपमा प्रस्तुत गरेकाले दृष्टान्त   ५     १२
२.     बाएका मुखमा ............... सानन्द काकाकुल
                यस भनाइमा काकाकुलको उदाहरणद्वारा महामत्स्यको
                व्यवहार पुष्टि गरेकाले दृष्टान्त ५     १३
३.     छाडातान्त्रिक भ्रष्ट आचरणका छन् धूर्त नेतागण
                डाकाका सरदार शासक बनें”– भन्छन् र रुन्छन् जन
                यस उदाहरणमा धूर्त नेताहरूको व्यवहार धूर्त हुन्छ
                भन्ने कुरालाई डाकाका सरदार शासक बनेको
                उदाहरण प्रस्तुत गरेकाले दृष्टान्त –        ५     ४७
४.२.५  अर्थान्तरन्यास
                अर्थान्तर भन्नाले अर्को अर्थ र न्यास भन्नाले राख्नु भन्ने बुझिन्छ। एउटा भनाइलाई अर्को भनाइबाट समर्थन गर्नु अर्थान्तरन्यास हो। यसमा सामान्य कुराले विशेष कुरालाई र विशेषले सामान्य कुरालाई समर्थन गरेको पाइन्छ।
                जस्तै :
क्र.सं.  अलङ्कारको प्रस्तुति   सर्ग   श्लोक सङ्ख्या
१.     हामी सभ्य, सजाति ..........
                फैलेसरी फैलियौं
                यस भनाइमा रश्मिको विविध रूप रङ्ग भए जस्तै
                हामी मान्छेको पनि आफ्नै किसिमको विशेषता रहेको
                कुरा उल्लेख भएकाले अर्थान्तरन्यास  १    १३
२.     थाले, काम जसै बित्यो, अब सबै ज्ञानी महात्मा हुन
                ..............................................................
                त्यस्तो संयमहीन व्यक्ति कहिल्यै सक्त्तैन नेता हुन्
                यस भनाइमा समय परिस्थितिअनुसार संयम बनेर
                चल्नुपर्छ भन्ने विचारलाई समर्थन गर्दै संयमहीन    
                व्यक्ति कहिल्यै पनि नेता बन्न सक्दैन भन्ने भाव
                व्यक्त भएकाले अर्थान्तरन्यास. ७     ३३
३.     हावा सर्सर, औषधीमय मिठो, बास्ना लिई आउने
                यस्तो सिर्जनशील जीवन व्यथा, ऐले कहाँ पाउने ?
                यस भनाइमा मान्छेको जीवन र भोगाइका
                विशेषतालाई उल्लेख गर्दै सिर्जनशील जीवन प्राप्त गर्न
                कठिन हुने कुरा उल्लेख गरेकाले अर्थान्तरन्यास      ७    ४३

५.     निष्कर्ष÷बिसौनी
                बृहत् काव्य महाकाव्य हो। यसको परम्परा र इतिहास आफ्नै प्रकृतिको छ। नेपाली महाकाव्यको इतिहासमा वि.सं. २०६४ सालमा संरचित भानुभक्त पोख्रेलको ज्ञानविज्ञानका विषयलाई समेटेको बौद्धिक खुराकले भरिपूर्ण महाकाव्य हिमवत्खण्ड हो। यसका आफ्नै किसिमका विशेषता र प्रवृत्ति छन्। आलङ्गारिक चमत्कार यस महाकाव्यको विशिष्ट पहिचान मानिन्छ। कवि भानुभक्त पोख्रेलको प्रस्तुत महाकाव्य र त्यस महाकाव्यमा अलङ्कार योजनाका सन्दर्भमा आएका महत्त्वपूर्ण पक्षलाई निष्कर्ष स्वरूप बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :
–              महाकाव्य निर्माणका लागि विविधखाले आख्यानात्मक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ।
–              नेपाली महाकाव्यको आफ्नै खालको विकासको परम्परागत इतिहास रहेको देखिन्छ।
–              भानुभक्त पोख्रेलको मृत्युञ्जय (२०४७) जागृतिराग (२०५६) पछिको बौद्धिक महाकाव्य हिमवत्खण्ड हो।
–              सोमनाथ सिग्द्यालका परिष्कारवादी गहन काव्य चिन्तन एकातिर पोख्रेलका महाकाव्यगत विशेषताका रूपमा पाइन्छ भने माधव घिमिरेको सहज भाव र विचार पनि अभिव्यक्त भएको मानिन्छ।
–              नेपाली महाकाव्यमा मध्यमार्गी धाराको प्रतिनिधित्व गर्ने पोख्रेलको योगदान र स्थान उल्लेखनीय देखिन्छ।
–              अलङ्कारलाई काव्यको वैकल्पिक गहना मानिन्छ।
–              अलङ्कार चिन्तन परम्पराको इतिहास लामो रहेको बुझिन्छ।
–              पोख्रेलको हिमवत्खण्ड महाकाव्यमा ज्ञानविज्ञानका विविध खाले विषय छन् भने योजना जटिल देखापर्छ।
–              प्रस्तुत महाकाव्यको एक विशिष्ट पक्ष भनेकै अलङ्कार योजना हो र अलङ्कार प्रयोगका दृष्टिले प्रस्तुत महाकाव्य महत्त्वपूर्ण देखिन्छ।

प्रमुख सन्दर्भसूची
१. नेपाली
–                      अवस्थी, महादेव (डा.) (२०६४). आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श. काठमाण्डौं : इन्टेलेक्चुअल्ज बुक प्यालेस।
–                      उपाध्याय, केशवप्रसाद (डा.) (२०४८). पूर्वीय साहित्य सिद्धान्त (दो.सं.). काठमाण्डौं : साझा प्रकाशन।
–                      गैरे, ईश्वरीप्रसाद (२०६०). आधुनिक नेपाली खण्डकाव्य र महाकाव्य. काठमाण्डौं : न्यू हिरा बुक्स इन्टर प्राइजेज।
–                      जोशी, कुमारबहादुर (डा.) (२०५२). महाकवि देवकोटा र उनका महाकाव्य (ते.सं.). काठमाण्डौं : साझा प्रकाशन।
–                      ढकाल, डिल्लीराम र नरहरि घिमिरे (२०६३). नेपाली कविता, काव्य र समालोचना. काठमाण्डौं : साझा प्रकाशन।
–                      थापा, हिमांशु (डा.) (२०४७). साहित्य परिचय (ते.सं.). काठमाण्डौं : साझा प्रकाशन।
–                      दाहाल, घनश्याम (२०६६). नेपाली फुटकर कविता र काव्य. काठमाण्डौं : हजुरको प्रकाशन।
–                      पोखे्रल, भानुभक्त (२०६४). हिमवत्खण्ड. विराटनगर : भानुभक्त पोख्रेल।
–                      रिसाल, राममणि (२०५८). नेपाली काव्य र कवि (पाँ.सं.). काठमाण्डौं : साझा प्रकाशन।
–                      शर्मा, मोहनराज र डा. खगेन्द्रप्रसाद लुइटेल (२०६१). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाण्डौं : विद्यार्थी पुस्तक भण्डार।
२. संस्कृत
–                      आनन्दवर्द्धन, (२०१९). ध्वन्यालोक, व्याख्या. सिद्धान्त शिरोमणि, विश्वेश्वर सम्पा. वाराणसी : ज्ञानमण्डल लिमिटेड।
–                      कुन्तक (२०१२). बक्रोक्ति जीवितम्, व्याख्या. सिद्धान्त शिरोमणि, विश्वेश्वर, सम्पा. दिल्ली : आत्मराम एण्ड सन्स।
–                      भरतमुनि (सन् १९८३). साहित्यभूषण, केदारनाथ, सम्पा. दिल्ली : भारतीय विद्या प्रकाशन।
–                      भामह (२०४२). काव्यालङ्कार भाष्य, शर्मा, देवेन्द्रनाथ (दो.सं). पटना : विहार राष्ट्र परिषद्।
–                      मम्मट (सन् १९५५). काव्यप्रकाश, व्याख्या. सिंह, सत्यव्रत. वनारस : चौखम्बा विद्याभवन।
–                      विश्वनाथ (सन् १९८२). साहित्य दर्पण, व्याख्या.सिंह, सत्यव्रत (छै.सं.). वाराणसी : चौखम्वा विद्याभवन।
३.       पत्रिका
–                      दाहाल, घनश्याम अलङ्कार सम्प्रदायको अध्ययन र विश्लेषण. प्राग्ज्योति. (२०६२ बैशाख). पृ. ७७९०।

Powered by Blogger.