Header Ads

पूर्वीय साहित्यमा गुण विवेचना

टीकाराम गौतम
उप–प्राध्यापक

 १. विषय प्रवेश ः
गुण शब्दको शाब्दिक अर्थ दोषको अभाव,सुन्दरता, मधुरता, आह्लादकता, आकर्षकता वा आत्मधर्म भन्ने हुन्छ। यो सामान्यतया सबै प्राणिवर्ग वा वस्तु समूहमा हुन्छ । संसारका सबै प्राणिवर्ग वा वस्तुसमूहमा कुनै न कुनै गुण अवश्य नैरहेको हुन्छ । यसले मानिसलाई आकर्षक सुन्दर वा लोकप्रिय बनाउँछ , समाजमा प्रतिष्ठत बनाउँछ, ठीक त्यसैगरी समाजको दर्पण मानिएको साहित्यमा पनि गुणको अनिवार्यता स्वीकारिएको छ । गुणले साहित्यलाई सुमधुर एवं आकर्षक बनाउँछ । गुणविनाको साहित्य वास्तविक साहित्य बन्न सक्दैन । पूर्वीय काव्यशास्त्रअनुसार रसलाई काव्यको आत्मा मानिएको छ  भने गुणलाई रसको आत्मा वा आत्मधर्म मानिएको देखिन्छ ।  आचार्य मम्मटले ‘शौर्य–वीर्य आदि गुणहरू जसरी मान्छेका आकारका गुणहरू नभई आत्माका धर्म हुन् ठीक त्यसैगरी काव्यका माधुर्यादि गुणहरू वर्णहरूका धर्म नभई काव्यात्मभूत रसका आत्मधर्म हुन् भनेका छन् ।  यसरी आचार्यहरूले गुणलाई काव्यको शोधाकारी धर्म, रसाश्रित धर्म वा रसोत्कर्ष धर्म मानेको देखिन्छ । अतः काव्य वा साहित्यमा गुणलाई आवश्यक मात्र होइन अनिवार्य तत्त्वका रूपमा मान्दै आएको देखिन्छ ।
२. परिचय ः
पूर्वीय साहित्यमा प्रायः सबै आचार्यहरूले गुणलाई काव्यको आवश्यक तत्त्वका रूपमा स्वीकारेको पाइन्छ । कसैले आत्मधर्मका रूपमा त कसैले वर्णधर्मका रूपमा गुणलाई स्वीकारेको देखिन्छ , तर रस– ध्वनि–रीति–वक्रोक्ति वा अलंङ्कार सम्प्रदाय सिद्धान्त जस्तै यसलाई छुट्टै सम्प्रद ाय वा सिद्धान्तका रूपमा स्थापित गरेको वा विकसित गरेको भने देखिदैन । कतिपय आचार्यहरूले यसलाई रीति तथा अलङ्कारको सहभाव–तत्त्वका रूपमा वर्णन गरेको देखिन्छ भने कतिपयले रसोत्कर्ष धर्मका रूपमा वर्णन गरेको पाइन्छ । अन्य जे – जसरी जर्णन गरेतापनि काव्यको मुख्य तत्वका रूपमा भने यसलाई कसैले पनि वर्णन गरेको वा स्वीकारेको देखिंदैन । काव्यमा गुणको उल्लेख सर्वप्रथम आचार्य भरतले गरेका हुन् । उनले नाट्यशास्त्रमा“दोषको विपर्यय नै गुण हो”  अर्थात् “दोषको अभावलाई गुण भनिन्छ र काव्यमा यसको आवश्यकता रहन्छ भन्दै १० ओटा गुणको उल्लेख गरेको देखिन्छ । गुणको परिभाषा र संख्याका बारेमा उनीहरूमा मतैक्य देखिंदैन । यसपछि भामह, वामन, भोजराज आदिले गुणका बारेमा आ–आप्mना मतहरू प्रस्तुत गरेको देखिन्छ ।   
त्यसपछि आचार्य मम्मट र काव्यात्मभूत रसका आत्मधर्म वा उत्कर्ष धर्मका रूपमा स्वीकार्दै काव्यमा यसको आवश्यकता मात्र नभई अनिवार्यता समेत रहेको पुष्टि गरेको देखिन्छ , साथै रससंख्यालाई पनि सुनिश्चित गरेको देखिन्छ ।  यसरी गुणले काव्यमा व्यापक स्थान ओगट्न र छुट्टै सिद्धान्तको रूपमा स्थापित हुन नसकेता पनि प्रासङ्गिक रूपमा वर्णित भएर रसको सन्निकट वा उत्कर्षधर्मका रूपमा स्थापित भएको देखिन्छ ।
३. परिभाषा ः
     निर्दोषता , सुगमता, सरलता, मधुरता, आकर्षकता, शोभाधायकता आदि आदि अर्थलाई बोकेको गुण शब्दले काव्य वा साहित्यमा काव्यात्मभूत रसको उत्कर्षबर्धक तत्त्वका रूपमा स्थान सुरक्षित गरेको देखिन्छ । माधुर्यादि गुणहरूबिना काव्यमा काव्यत्व रहँदैन । ‘काव्यको आत्मा रस वा ध्वनि हो’  भने ‘रसको आत्मा गुण हो ’  गुणबिना रसको अस्तित्व रहंदैन भने रसविना काव्यको । अतः रस र गुणबीच तादात्म्य वा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अतः काव्यमा गुणको अनिवार्यता स्वीकारिएको देखिन्छ ।
    संस्कृत साहित्यमा गुणको चर्चा सर्वप्रथम आचार्य भरतले गरेको पाइन्छ उनले नाट्यशास्त्रमा “विपर्यस्ता ः गुणाः काव्येषु कीर्तिताः ”  अर्थात् ‘दोषाभावलाई गुण भनिन्छ । काव्यमा दोषाभावरूपी गुणलाई स्वीकारिएको छ । ’ भन्दै सर्वप्रथम गुणको परिभाषा गरेका छन् साथै काव्यगुण १० वटा भएको कुरा समेत उल्लेख गरेका छन् । अतः आचार्य भरत रसका साथै गुणका पनि प्रवर्तक मानिन्छन् । भरतपछि भामह, वामन, मम्मट आदि सबैजसो काव्यशास्त्रीहरूले गुणसम्बन्धी चर्चा गरेको पाइन्छ । काव्यगुणको अर्थ एवं तात्पर्यका सन्दर्भमा भने आचार्यहरूमा भिन्न भिन्न धारणा रहेको देखिन्छ । कतिपय आचार्यहरूले गुणलाई ‘शब्दार्थआश्रित धर्म’ मानेको देखिन्छ भने कतिपयले ‘रसाश्रित धर्म’ मानेको देखिन्छ । भरत,भामह,वामन अग्निपुराण , भोजराज, जयदेव,जगन्नाथ आदि आचार्यले गुणलाई ‘शब्दार्थआश्रित धर्म’ मानेको देखिन्छ भने आनन्दवर्धन, मम्मट एवं विश्वनाथ आदिले ‘रसाश्रित धर्म’ मानेको देखिन्छ । यसरी गुणलाई शव्दार्थ आश्रित धर्म वा रसाश्रित धर्म जे–जसरी मानेता पनि सबैजसो आचार्यहरूले गुणलाई काव्यको अनिवार्य तत्वका रूपमा स्वीकारेको कुरा नकार्न सकिदैन । अतः यहाँ केही प्रमुख आचार्यहरूका गुण सम्बन्धी मान्यता÷परिभाषाहरूलाई क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।   
३.१ भरत ः
    ई.पू. द्वितीय शताब्दीतिरका आचार्य भरतले आप्mनो नाट्यशास्त्रमा ‘दोषको विपर्यय(विपरीतता) लाई गुण भनिन्छ र काव्यमा यसको आवश्यकता रहन्छ’  भन्दै सर्बप्रथम गुणको परिभाषा गरेका छन् । उनले परिभाषा र संख्याबाहेक गुणसम्बन्धी अरू कुनै पनि किसिमको चर्चा गरेका छैनन् । अतः पश्चवर्ती आचार्यहरूले आ–आप्mनै किसिमले गुणसम्बन्धी धारणा प्रस्तुत गरेका छन् । भरतले नाट्यशास्त्रमा १० वटा गुणको चर्चा गरेका छन् ।  भरत रससिद्धान्तका संस्थापक हुन् ।
३.२ भामह ः
     ई. छैठौं शताब्दीतिरका आचार्य भामहले आप्mनो ‘काव्यालङ्कार’ मा गुणको स्पष्ट परिभाषा नगरे पनि अलंकारको चर्चा गर्ने सन्दर्भमा गुणको पनि चर्चा गर्दै ‘मधुर रचना चाहनेले माधुर्य र प्रसाद गुण अनि ओज चाहनेले ओजगुण प्रयोग गर्नुपर्दछ ।’  भनेका छन् साथै उनले शब्द र अर्थको शोभा बढाएर त्यसैको माध्यमबाट काव्यको सौन्दर्य अभिबृद्धि गर्नु गुणको कार्य हो’ भन्ने धारणा प्रस्तुत गरेका छन् । भामहले भरतद्धारा प्रतिपादित १० गुणलाई समन्वय गरी तीनवटा गुणलाई मात्र प्रतिपादन गरेका छन् । भामह त्रिगुणवादका संस्थापक मानिन्छन् । पछि आएर मम्मट, विश्वनाथ आदिले यही त्रिगुणवादको अनुशरण गरेका छन् । भामह, अलंकारवादी आचार्य एवं अलंकारसिद्धान्तका प्रवर्तक मानिन्छन् ।
३.३ दण्डी ः
     इसाको सातौं शताब्दीतिरका आचार्य दण्डीले आप्mनो लक्षणग्रन्थमा ‘वस्तुविशिष्ट रचनाको प्राणलाई गुण भनिन्छ’(१९९७ः३२पृ.रसगंगाधर भूमिका ) भन्ने परिभाषा गरेको देखिन्छ । उनी गुणलाई काव्यशोभाकारक धर्म मान्दछन् । दण्डीले भरतको मतलाई पछ्याउदै १० वटा गुण मानेका छन् । यिनको गुणमान्यता र संख्यामा कुनै नयाँपन देखिदैन । यिनी अलंकारवादी आचार्य मानिन्छन् ।
३.४ वामनः
    ई. आठौं शताब्दीतिरका आचार्य वामन रीतिसिद्धान्तका संस्थापक मानिन्छन् । उनले ‘ रीति काव्यको आत्मा हो’ भन्दै रीतिवादको स्थापना गरेको देखिन्छ । वामन रीतिवादी भएतापनि गुण र अलंकारबीचको भिन्नतालाई पहिलोपटक प्रस्तुत गरेको पाइन्छ । उनले काव्यको शोभा उत्पन्न गर्ने धर्मलाई गुण भनिन्छ ’  (वामन, २०३४ ः १ ) भन्दै गुण र अलंकारबीचको पार्थक्यलाई समेत स्पष्ट पारेका छन् । उनले गुणलाई काव्यको आन्तरिक तत्त्वका रूपमा मानेको देखिन्छ । उनी गुणलाई नित्यधर्म र अलंकारलाई अनित्यधर्म मानेको पाइन्छ ।
    ‘केवल गुणले मात्र पनि काव्यको शोभा उत्पन्न गर्न सक्छन् । तर अलंकारले मात्र काव्यको शोभालाई उत्पन्न गर्न वा बढाउन सक्दैनन्  (वामन, २०३४ ः ३) भन्ने उनको स्पष्ट धारणा रहेको देखिन्छ । अतः वामन गुणलाई स्पष्ट रूपमा चिनाउने तथा काव्यको आन्तरिक तत्त्व मान्ने सफल आचार्य मानिन्छन् । उनले १० शब्द गुण र १० अर्थगुण गरी २० वटा गुण मानेको देखिन्छ ।    
३.५ अग्निपुराण ः
    कृष्णद्वैपायंन व्यासद्धारा द्वापरयुगमा लेखिएको भनिएको र आधुनिक भाषावैज्ञानिकहरूका मतमा इसाको नवौं शताब्दीतिरको मानिएको अग्निपुराणमा ‘ काव्यमा महत् सौन्दर्य उत्पन्न गर्ने वस्तुलाई गुण भनिन्छ ’  ( अग्निपुराण, २००४ ः ७५१ ) भन्ने परिभाषा गरी गुणलाई सौन्दर्योत्पादक धर्म वा तत्त्वका रूपमा लिएको पाइन्छ । अग्निपुराणमा ७ वटा शब्दगुण , ६ वटा अर्थगुण र ६ वटा उभयगुण गरी जम्मा १९ वटा गुणहरूको वर्णन गरिएको पाइन्छ ।
३.६ कुन्तक ः
     इसाको दशौं शताब्दीतिरका आचार्य कुन्तक ‘वक्रोक्ति सिद्धान्त्का प्रवर्तक मानिन्छन् । उनले गुण सम्बन्धी छुट्टै चर्चा नगरेर रीति÷मार्ग चर्चाका सन्दर्भमा गुण चर्चा गरेको पाइन्छ । उनले सुकुमार , विचित्र र मध्यम मार्गका प्रत्येकका ४ वटा विशिष्ट गुण र दुईवटा सामान्य गुण गरी ६ वटा गुण रहेको उल्लेख गरेको देखिन्छ  कुन्तकले अरूले जस्तै छुट्टै काव्यगुणको चर्चा नगरी गुणलाई मार्गका गुणका रूपमा विश्लेषण गरेको देखिन्छ । यो मत संस्कृत काव्यपरम्पराकै नयाँ मान्यताको रूपमा देखिएको छ ।

३.७ भोजराज ः
    एघारौं शताब्दीतिरका आचार्य भोजराजले ‘विना गुणको काव्य सुन्न वा पढ्न लायक हुँदैन’  ( रसगंगाधर, १९९७ः ३३ पृ. भूमिका) भन्दै काव्यमा अलंकारको भन्दा गुणसंयोजनको मुख्य भूमिका हुन्छ भनेको देखिन्छ । उनले वामनसम्मत १० गुणमा आप्mना १४ गुण थपेर २४ वटा गुण मानेको देखिन्छ ।
३.८ जयदेव ः
    बाह्रौ शताब्दीतिरका आचार्य जयदेवले गुणको लक्षण नगरेरै गुणको आवश्यकता रहेको चर्चा गर्दै वामनका दश गुणमध्ये कान्तिलाई श्रृंगाररसमा र अर्थव्यक्तिलाई प्रसादगुणमा अन्तर्भाव गरी जम्मा ८ गुण मानेको पाइन्छ ।
३.९ जगन्नाथ ः
    इसाको सत्रौं शताब्दीतिरका आचार्य पं.जगन्नाथले केही पूर्वाचार्यहरूका कतिपय मान्यताहरूलाई खण्डन गर्दै गुणसम्बन्धी आप्mनो मान्यता प्रस्तुत गरेको देखिन्छ । उनका मतमा –“प्रयोजकता सम्बन्धद्वारा द्रुत्यादि चित्रवृत्तिहरू नै गुण हुन् , अर्थात् द्रुत्यादि चित्तवृत्तिहरूले जब रसादिका साथमा प्रयोजकता सम्बन्ध राख्दछन् तब तिनै चित्रवृत्तिहरू माधुयादि गुण बन्दछन् ’ ( द्रुति, दीप्ति र विकास यी तीनवटा चित्तवृत्तिहरू नै क्रमशः माधुर्य, ओज र प्रसाद गुण हुन् इत्यर्थ ः ) त्यसैले ‘रस मधुर छ ÷ हुन्छ’ यस्तो व्यवहार गरिन्छ ”  (जगन्नाथ, १९९७ः२२७ पृ.) यसरी जगन्नाथले गुणसम्बन्धी मान्यतालाई नवीन तरिकाले प्रस्तुत गरेको देखिन्छ । उनले वामनादि पूर्वाचार्यहरूका १० वटा गुणहरूलाई माधुर्य, ओज र प्रसादरूप तीनोटा गुणमा अन्तर्भाव गरी त्रिगुणवादलाई प्रस्तुत गरेको देखिन्छ ।
 भरतदेखि जगन्नाथ सम्मको उपर्युक्त आचार्यहरूले गुणलाई शब्दार्थमा आश्रित धर्म मानेको देखिन्छ ।
३.१० आनन्दवर्धन ः
    इसाको नवौं शताब्दीतिरका आचार्य आनन्दवर्धन ध्वनि सिद्धान्तका प्रवर्तक मानिन्छन् । उनले गुणलाई सर्वप्रथम रसाश्रित धर्म मान्दै “जसले रसादिरूप अङ्गीअर्थलाई अवलम्बन गर्दछन् शौयादिवत् तिनलाई गुण भनिन्छ । ” भन्दै गुणको परिभाषा गरेको देखिन्छ ।   ( आनन्दवर्धन , १९९२ ः २१६ पृ. ) उनका मतमा काव्याङ्गीभूत रसको उत्कर्ष वा सौन्दर्य बढाउने धर्म वा तत्त्वलाई गुण मानिएको पाइन्छ । उनले भामहमतको अनुशरण गरी माधुर्य, ओज र प्रसाद गरी तीनोटा मात्र गुण मानेको पाइन्छ ।
३.११ मम्मट ः
    इसाको एघारौं शताब्दीतिरका आचार्य मम्मट काव्यशास्त्रीहरूमध्ये सर्वाधिक चर्चित काव्यशास्त्री मानिन्छन् । उनले आप्mनो ग्रन्थमा ध्वनि एवं रसविरोधी मतहरूलाई तर्कसहित खण्डन गरी रस ध्वनिको स्थापना गरेको देखिन्छ । उनलाई ध्वनिप्रस्थापनपरमाचार्यका नामले पनि चिनिन्छ । मम्मटले आनन्दवर्धनको मतलाई स्वीकार गरी गुणलाई ‘रसाश्रित धर्म’ मानेको पाइन्छ र ‘आत्माका’ शौयादि धर्म भएजस्तै काव्यात्मभूत रसका अपरिहार्य एवं उत्कर्षाधायक धर्मलाई गुण भनिन्छ ”  (मम्मट , २०४२ः ३८० पृ.) भन्दै गुणको परिभाषा गरेको देखिन्छ । उनी गुणलाई रसधर्म मान्दछन् । उनले वामनसम्मत १० शब्दगुणलाई माधुर्य , ओज र प्रसाद तीन गुणभित्र अन्तर्भाव गरेको देखिन्छ भने १० अर्थगुणलाई गुण नै नमानेको देखिन्छ । ( मम्मट २०४२ ः ३८० पृ.) गुणका बारेमा विस्तृत चर्चा गर्ने मम्मट त्रिगुणवादका विश्लेषक, प्रचारक एवं सर्वोत्कृष्ट चिन्तकका रूपमा देखिएका छन् ।
३.१२ विश्वनाथ ः
    इसाको चोधौं शताब्दीतिरका आचार्य विश्वनाथ रसवादी आचार्य मानिन्छन्। उनले पनि गुणलाई ‘रसाश्रित धर्म’ मानेको देखिन्छ । उनले ‘शौर्यादि आत्माका धर्म भएझै काव्याङ्गीभूत रसका धर्मलाई गुण भनिन्छ’ भन्दै गुणको परिभाषा गरेको देखिन्छ ।  ( सा.द. २०६४ः ७३४ पृ. ) उनले पनि मम्मटले भैmं वामनसम्मत १० शब्दगुणलाई ३ गुणभित्र अन्तर्भाव गरी १० अर्थगुणलाई गुण नै नमानेको देखिन्छ । विश्वनाथ पनि त्रिगुणवादी मानिन्छन् ।
    यसरी भरतदेखि जगन्नाथ पर्यन्तका आचार्यहरूले कुनै न कुनै रूपमा गुणको चर्चा गरेको देखिन्छ । भरत, वामन, जगन्नाथ आदि आचार्यहरूले गुणलाई शब्द र अर्थमा आश्रित बाह्य धर्मका रूपमा चित्रण गरेको देखिन्छ भने आनन्दवर्धन, मम्मट आदि आचार्यहरूले काव्याङ्गीभूत रसमा आश्रित आन्तरिक तत्त्वका रूपमा चित्रण गरेको देखिन्छ । काव्य वा साहित्यका सन्दर्भमा प्राचीन मतभन्दा नवीन मत नै सर्वोयुक्त देखिन्छ अर्थात् गुण काव्याङ्गीभूत रसमा आश्रित अनिवार्य एवं आन्तरिक तत्त्व हुन् भन्नु उपर्युक्त देखिन्छ ।
४. गुण र अलंकारबीच भिन्नता÷ पार्थक्य ः
     भरतदेखि जगन्नाथ पर्यन्तका आचार्यहरूले कुनै न कुनै रूपमा गुण एवं अलंकारसम्बन्धी चर्चा गरेको देखिन्छ तर धेरैजसो आचार्यहरूले गुण र अलंकारको सम्बन्ध एवं गुणलंकारबीचको भिन्नता वा पार्थक्यका बारेमा मौनब्रत लिएको देखिन्छ । गुणालंकारबीचको भिन्नताका बारेमा सर्वप्रथम अचार्य वामनले प्रयक्ष वा परोक्षरूपमा विश्लेषण गरेको देखिन्छ । यहाँ केही मतलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।
४.१ वामन ः
    वामन गुण र अmङ्कारबीचको पार्थक्यलाई देखाउने प्रथम आचार्य हुन् । उनले ‘काव्यकोशोभालाई उत्पन्न गर्ने (जन्म दिने ) धर्मलाई गुण भनिन्छ भने गुणले उत्पन्न गरेको शोभालाई बढाउने तत्त्व÷धर्मलाई अलंकार भनिन्छ’  (वामन २०३४ः १) भन्दै गुणलाई काव्यशोभाको उत्पादकतत्त्व एवं अलंकारलाई काव्यशोभाको वर्धकतत्व मानेको देखिन्छ । त्यसैगरी उनले ‘गुणलाई काव्यको आन्त्रिक एवं नित्य धर्म मान्दै गुण विना काव्यसौन्दर्य रहन नसक्ने’ दावी समेत गरेको देखिन्छ भने अलंकारलाई काव्यको वाह्यतत्त्व एवं अनित्य धर्म मानेको देखिन्छ । त्यसैगरी उनले ‘केवल गुणले मात्र पनि काव्यको शोभालाई उत्पन्न गर्न सक्छन् तर अलंकारले मात्र काव्यको शोभालाई कदापि बढाउन सक्दैनन् ’  (वामन २०३४ ः ३ ) भन्दै गुणलाई काव्यको आन्तरिक तत्त्व एवं अलंकारलाई बाह्यतत्त्वको रूपमा प्रस्तुत गरेको देखिन्छ ।
४.२ आनन्दवर्धन ः
    आचार्य आनन्दवर्धनले वामनले जस्तै गुणालंकारवीचको पार्थक्यलाई स्पष्ट र विस्तृत रूपमा विश्लेषण नगरेपनि गुण र अलंकारको परिभाषा गर्ने क्रममा यी दुई बीचको भिन्नतालाई स्पष्ट रूपमा प्रस्तुत गरेको देखिन्छ ।
उनले ‘शौयादि आत्माका धर्म भए झैं’ काव्यात्मभूत रसादिरूप अङ्गीअर्थलाई अवलम्बन गर्ने धर्मलाई गुण भनिन्छ भने शरीरका कटककुण्डलादि अलंकार जस्तै काव्यका वाच्यवाचकरूप अङ्गमा रहने धर्म वा तत्त्वलाई अलंकार भनिन्छ’  (आनन्दवर्धन, १९९२ः २१६ पृ.) भन्दै गुणलाई काव्यको आन्तरिक धर्म (रसधर्म ) र अलंकारलाई बाह्य धर्म मानेको देखिन्छ ।
४.३ मम्मट ः
    आचार्य मम्मटले “आत्माका शौर्यादि धर्मजस्तै काव्यात्मभूत रसका अपरिहार्य एवं उत्कर्षाधायक धर्मलाई गुण भनिन्छ भने काव्यात्मभूत रसलाई शब्द र अर्थरूप अङ्गद्धारा शरीरीलाई कटककुण्डलादि अलंकारले जस्तै उपमा अनुप्रासाद्विद्धारा कहिलेकाहीं उपकार गर्ने ÷सुशोभित गर्ने तत्त्वलाई अलंकार भनिन्छ ”  (मम्मट २०४२ ः ३८० –८१ ) भन्दै गुण एवं अलंकारको परिभाषाका माध्यमबाट गुण र अलंकारबीचको पार्थक्यलाई स्पष्ट पारिसकेपछि पनि पुनः पूर्वाचार्यको मतलाई खण्डन गर्दै पुनः “गुणहरू काव्यात्मभूत रसमा समवाय सम्बन्धले रहन्छन् भने अलंकारहरू संयोग सम्बन्धले रहन्छन् ( मम्मट २०४२) भन्दै गुणलाई काव्यात्मभूत रसका आत्मधर्म एवं नित्यधर्म तथा अलंकारलाई शब्दार्थ धर्म ÷ अङ्गधर्म तथा अनित्य धर्म मानेको देखिन्छ ।
४.४ विश्वनाथ ः
    आचार्य विश्वनाथले , ‘शौर्यादि आत्माका धर्म भए भैmं काव्याङ्गीभूत रसका धर्मलाई गुण भनिन्छ भने कटककुण्डलादिद्वारा शरीरीको शोभा बढाएभैंm उपमादिद्वारा शब्द र अर्थकोे शोभा बढाएर रसको उपकार गर्ने अस्थिर धर्मलाई अलंकार भनिन्छ ।   ( विश्वनाथ, २०६४ः ७३४, ७६४ ) भन्दै गुणलाई रसका आन्तरिक वा आत्मधर्म र अलंकारलाई बाह्य वा अस्थिरधर्म मानेको देखिन्छ ।
    यसरी वामन, आनन्दवर्धन मम्मट र विश्वनाथको गुण र अलंकारबीचको पार्थक्यलाई देखाउँदै गुणलाई काव्यको आन्तरिक एवं अनिवार्य धर्म मानेको देखिन्छ भने अलंकारलाई काव्यको बाह्य एवं ऐच्छिक अस्थिरधर्म मानेको देखिन्छ । वामनले गुणलाई आन्तरिक एवं काव्यको अनिवार्य धर्म मानेता पनि रसधर्म नमानी शव्दार्थ धर्म नै मानेको देखिन्छ भने अन्य आचार्यहरूले गुणलाई रसधर्म नै मानेको देखिन्छ , जुन सर्वोपयुक्त मानिदै आएको छ ।
५. काव्यमा गुणको स्थान ः
    भरतदेखि जगन्ननाथ पर्यन्तका विद्वान्हरूले गुणको लक्षण एवं संख्याका बारेमा आ–आप्mना मतहरू प्रस्तुत गरेको देखिन्छ । त्यसैगरी काव्यमा गुणको स्थान वा महत्व के छ भन्ने सन्दर्भमा पनि केही विद्वानहरू बोलेको देखिन्छ । आचार्य वामन एवं भोजले यस सन्दर्भमा अधिक स्पष्ट गरेको देखिन्छ । आचार्य वामनले “काव्य युवतीको रूपसमान हुन्छ । किनभने जसरी युवतीको रूप शील एवं पातिब्रत्य आदि असल गुण तथा सुन्दर अलंकारहरूद्धारा सुशोभित हुन्छ त्यसैगरी काव्य पनि माधुर्यादि गुण एवं उपमादि अलंकारहरूद्धारा सुशोभित हुन्छ त्यसैगरी काव्य पनि यौवन विहीन नायिकाको शरीरसमान हुन्छ , जसमा सुन्दर आभूषण पनि अप्रिय देखिन्छन् भन्दै काव्यमा गुणको महत्वपूर्ण स्थान रहेको पुष्टि गरेको देखिन्छ ।   ( रसगंगाधर १९९७ः ३३पृ. भूमिका ) त्यसैगरी अर्का आचार्य भोजले अलंकारयुक्त भएर पनि गुणहीन काव्य श्रवणयोग्य हुँदैन, गुण र अलंकारको योगमध्ये गुणको योग प्रधान हुन्छ”  (रसगंगाधर १९९७ः ३३ पृ.भूमिका ) भन्दै काव्यमा गुणको स्थान अलंकारको भन्दा बढी भएको जनाएको पाइन्छ ।
    त्यसैगरी आचार्य आनन्दवर्धन मम्मट र विश्वनाथले पनि गुणलाई काव्यात्मभूत रसका अभिन्न अङ्गका रूपमा स्वीकारेको देखिन्छ ।
    यथार्थमा भन्नुपर्दा काव्यमा गुणको योग अपरिहार्य नै मानिन्छ , किनभने बिना गुण रसोत्कर्ष हुंदैन र बिनारस काव्य बन्न सक्दैन । त्यसैले सत्काव्य वा सुन्दर काव्यका लागि गुण–योग अनिवार्य मानिन्छ । अतः काव्यमा गुणको स्थान रसकै हाराहारी रहेको देखिन्छ ।
६. गुण संख्या ः
     भरतदेखि जगन्नाथ पर्यन्तका सबै आचार्यहरूले काव्यमा गुणको आवश्यकता र महत्वपूर्ण स्थान रहेको बताएता पनि गुणसंख्याका बारेमा भने उनीहरूबीच भिन्न भिन्न मतहरू रहेको देखिन्छ । कसैले १० वटा गुण मानेको दखिन्छ भने कसैले २० त कसैले २४ वा १९ । त्यसैगरी कसैले ३ गुण मानेको देखिन्छ । गुणप्रवर्तक आचार्य भरतले श्लेष,प्रसाद, समता, समाधि , माधुर्य,ओज, सुकुमारता, अर्थव्यक्ति, उदारता र कान्ति गरी १० गुण मानेको देखिन्छ ।   (भरत २०३२ ः १३१८ पृ.)
    त्यसैगरी आचार्य भामहले गुणको परिभाषा नगरीकनै ‘माधुर्य,ओज र प्रसाद’ गरी तीनोटा गुण मानेको देखिन्छ ।   (भामह २०१९ः२९ पृ.)
    त्यसैगरी आचार्य दण्डीले भरतमतकै अनुशरण गरी भरतले उल्लेख गरेका ‘श्लेष–प्रसाद’ आदि दशओटा गुण मानेको देखिन्छ ।   (दण्डी, २०२८ः ३७ पृ.)
    त्यसैगरी आचार्य वामनले ‘श्लेष, प्रसाद, समता, माधुर्य, सुकुमारता, अर्थव्यक्ति, उदारता, ओज, कान्ति र समाधि ’ नामका १० शब्दगुण र १० अर्थगुण गरी २० वटा गुण मानेको देखिन्छ ।   ( वामन , २०३४ः ४ पृ.)
     अर्थस्य च व्यक्तिरूदारता च कान्तिश्च काव्यार्थगुणा दशैने ।। भरत,ना.शा.,१६।९६   
 त्यसैगरी व्यासद्धारा रचित अग्निपुराणमा ‘श्लेष, लालित्य, गाम्भीर्य, सौकुमार्य,उदारता , सती र यौगिकी’ गरी ७ वटा अर्थगुण एवं ‘प्रसाद, सौभाग्य,यथासंख्य, उदारता, पाक र राग गरी ६ वटा उभयगुण गरी जम्मा १९ वटा गुणहरू मानिएको पाइन्छ ।  ( अ.पु. २००४ः ७५१)
    त्यसैगरी आचार्य कुन्तकले ‘माधुर्य,प्रसाद,लावण्य र आधिजात्य’ ४ वटा (मार्गका) विशिष्ट गुण एवं ओचित्य रसौभाग्य दुइवटा सामान्य गुण गरी मार्गका ६ वटा गुणहरू भएको बताएकोपाइन्छ । (वक्रोक्तिजीवित ,२०५५ः५१ पृ.भूमिका )
    त्यसैगरी आचार्य भोजराजले वामनसम्मत १० गुणका अतिरिक्त उदात्तता, ऊर्तितता, प्रेयान्, सुशव्दता, सूक्ष्मता, गम्भीरता, विस्तर, संक्षेप, संमितत्त्व, भाविक, गति ,रीति, उक्ति र प्रौढि’ १४ भेद सहित जम्मा २४ वटा गुण मानेको देखिन्छ ।  ( रसगङ्गाधर, १९९७ः३२ पृ.भू.)
    त्यसैगरी आचार्य आनन्दवर्धनले ‘माधुर्य, ओजर प्रसाद’ गरी तीनोटा गुण मानेको पाइन्छ । (आनन्दवर्धन , १९९२ः२१७ ) ।
    त्यसैगरी आचार्य मम्मटले पनि माधुर्य ,ओज र प्रसाद गरी ३ ओटा मात्र गुण मानेको पाइन्छ ।  ( मम्मट ः ३८८ पृ.) ३३ । उनले वामनसम्मत १० शब्दगुणलाई उपर्युक्त तीनगुणभित्र अन्तर्भाव गरेको पाइन्छ ( मम्मट, २०४२ः३९१ पृ.) भने दश अर्थगुणलाई गुणाभाव मानेको पाइन्छ । त्यसैगरी आचार्य विश्वनाथले पनि ‘माधुर्य, ओज र प्रसाद’ गरी तीनोटा मात्र गुण मोनको देखिन्छ ।  ( विश्वनाथ, २०६४ः७३५पृ.) त्यसैगरी आचार्य जयदेवले भरतका दशगुणमध्ये कान्तिलाई श्रङ्गार रसमा र अर्थव्यक्तिलाई प्रसाद गुणमा अन्तर्भाव गरी जम्मा आठवटा गुण मानेको देखिन्छ ।  ( जयदेव २०३२ ः ७६–८२) त्यसैगरी आचार्य पं. जगन्नाथले पनि १० शब्दगुण लाई ‘माधुर्य, ओज र प्रसादगुणमा अन्तर्भाव गरी १० अर्थगुणलाई गुणाभाव मानेको देखिन्छ । अतः उनले पनि मम्मटकै त्रिगुणवादलाई स्वीकारेको देखिन्छ । (जगन्नाथ, १९९७ः २५५ पृ.) यसरी आचार्य भरतदेखि जगन्नाथपर्यन्तका आचार्यहरूका मतहरूलाई अध्ययन गर्दा गुणसंख्या २४ सम्म पुगेको देखिन्छ तापनि मम्मटादिद्वारा वर्णन गरिएका तीनओटा गुणहरूलाई मान्नु नै सर्वोपयुक्त देखिन्छ ।
७. गुणका प्रकारहरू ः
    पूर्वीय काव्यशास्त्रको अध्ययन गर्दा गुणको आविष्कार आचार्य भरतले गरेको देखिन्छ । उनले दोषको अभावलाई गुण मान्दै काव्यमा यसको आवश्यकता रहेको बताएको पाइन्छ । उनले काव्यमा श्लेषादि १० गुणहरू हुनुपर्ने बताएको देखिन्छ । त्यसपछि भामहहुँदै जगन्नाथ पर्यन्तका आचार्यहरूले गुणको आवश्यकता रहेको चर्चा गर्दै गुणसंख्या चौबीसवटा सम्म पु¥याएको देखिन्छ । मम्मट आदि आचार्यहरूले तीनवटा मात्र गुणलाई मान्नु उपयुक्त रहेको बताएका छन् । अतः यहाँ तिनै तीनओटा गुणको परिचय दिनु उपयुक्त देखिन्छ ।
७.१ माधुर्यगुण ः
    “चित्रद्रवीभावको कारण एवं श्रंगाररसमा रहने आनन्दस्व रूपलाई माधुर्य गुण भनिन्छ । यो सामान्यतया संयोग श्रंगाररसमा रहन्छ भने करणरस,विप्रलम्भ श्रंगार एवं शान्तरसमा पनि रहन्छ”  (मम्मट ः २०४२ ः ३८८ ) यस गुणमा शिरमा आप्mनो पञ्चमवर्णले युक्त, टवर्गलाई छोडेर स्पर्श वर्णले युक्त, हरर रकार र णवर्गले युक्त एवं समास रहित वा अल्पसमासले युक्त वर्णहरू रहेको हुन्छन् ( मम्मट ः २०४२ ः ३९३ )
जस्तै ः कामं प्रिया न सुलभा मनस्तु तद्भावदर्शनायासि ।
    अकृतार्थेऽपि मनसिजे रतिमुभयप्रार्थना कुरूते ।। ( सा.द.२०६४ ः ४४३)
अथवा
यो मट्टीमा अकुशल कलाकारको मूर्ति रून्छ ।
हाँसी हिंड्छन् पथिक अरूको दर्दको आज सुन्छ ।।
मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ ।
एउटै सरल कृतिमा पूर्ण संसारदेऊ  ।।      (घिमिरे ,२०५४ः २५२ पृ.)
७.२ ओजगुण ः
    चित्रको विस्ताररूप दीप्तिको जनकलाई ओजगुण भनिन्छ । यो मुख्यतया वीररसमा रहन्छ भने वीभत्स र रौद्र रसमा यसको आधिक्य रहन्छ ”  (मम्मट ः २०४२ ३८९ ) यसमा कवर्ग र गवर्गका साथमा खवर्ग र घवर्गका वर्ण, दायाँ, बायाँ वा तल–माथि रेफले मुक्त ,णवर्ण रहित टवर्गले युक्त , रा–ष वर्णले युक्त , दीर्घसमास एवं कठिन संघटना रहेको हुन्छ (मम्मट ः २०४२ ः ३९४) जस्तै ः
 चञ्चद्भुजभ्रमितचण्डगढाभिघातसम्चूर्णितोरूयुगलस्य सुयोधनस्य
 स्त्यानावनद्धधनशोणितशोणपाणिरूत्तंसयिष्यति कचांस्तव देवि ।
भीम ।। सा.द. २०६४ः४३६ पृ.)
अथवा
छप्काई शत्रुलाई छपछप खुकुरी धार हाम्रो कुँडिन्न ।
गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न ।
नेपाली वीर तातोरष्त छ कहित्यै शक्ति गल्दैन हाम्रो । 
आप्mनै सत्मा उठेको ध्वजपट कहित्यै हेर ढल्दैन हाम्रो ।। ( घिमिरे २०५४ः २४१)
७.३ प्रसादगुण ः
    शुकेको दाउरामा आगो र सफा कपडामा पानी तुरुन्तै व्याप्त भएभैmं जहाँ सुन्ने वित्तिकै चित्रमा व्याप्त हुन्छ अर्थात् सुन्ने वित्तिकै अर्थप्रतीति हुन्छ त्यहाँ प्रसाद गुण हुन्छ र यो सबै रस र रचनामा रहन्छ ।  ( मम्मट ः २०४२ ः ३९०)
जस्तै ः
सूचीमुखेन सकृदेव कृतब्रणस्त्वं मुक्ताकलापः तुठसि स्तनयोः प्रियायाः
बाणैः स्मरस्य शतशो विनिकृत्तमर्मा स्वप्नेऽपि तां कथमहंन विलोकयामि ।
(सा.द.२०६४ ः७४०)
अथवा
    हातका मैला सुनका थैला के गर्नु धनले ।
    साग र सिस्नु खाएको बेस आनन्दी मनले ।। ( देवकोटा , २०६५ ः २)
८. निष्कर्ष ः
    यसरी पूर्वीय साहित्यमा आचार्य भरतदेखि प्रारम्भ भई विभिन्न विद्वान्हरूद्धारा परिष्कृत र विकसित हुँदै गुणपरम्परा आजसम्म गतिशील अवस्थामा अगाडि बढिरहेको देखिन्छ । आचार्यहरूबीच संख्याको विषयमा एक मत नदेखिए पनि काव्यमा यसको आवश्यकता सम्बन्धी धारणामा भने एक मत नै देखिन्छ । समय ज्ञान र रूचिअनुसार ३ देखि २४ सम्म गुणको संख्या पुगेको देखिएता पनि आधुनिक युगमा आएर मम्मट सम्मत तीनओटा गुणहरूलाई नै बढी प्राथमिकता दिइदै आएको पाइन्छ र यो नै उपयुक्त देखिन्छ । साहित्यमा गुण एक अनिवार्य तत्त्वका रूपमा देखिएको छ । गुणविना रस सम्भव नहुने र रसविना काव्यत्व नरहने भएको हुँदा काव्यमा यसको महत्वपूर्ण स्थान रहेको कुरा स्वतः स्पष्ट हुन्छ । अथांत् बिनागुण काव्यको परिकल्पना पनि गर्नसकिंदैन । गुण नभएको काव्य चिनी÷मिश्री ििबनाको सरबत वा नुनविनाको तरकारी जसतै हुन्छ । अतः गुण काव्यको आवश्यकता धर्म÷तत्व मात्रै नभएर अनिवार्य तत्त्व ठहर्छ । अतः काव्यमा गुणको स्थान महत्वपूर्ण मानिन्छ ।। इति ।।
९. सन्दर्भग्रन्थ ः
१.    आनन्दवर्धन, (१९९९२) ,ध्वन्यालोक, वाराणसी, चौखम्बा विद्याभवन
२.     कुन्तक (२०५५) वक्रोक्तिजीवित, वाराणसी , चौ.सं. संस्थान
३.     जगन्नाथ (१९९७) रसगङ्गाधर , वाराणसी, चौं विद्याभवन
४.    जयदेव (२०३२) चन्द्रालोक, वाराणसी, चौ. संस्कृत सिरिज अफिस
५.    दण्डी (२०२८) काव्यादर्श, वाराणसी, चौ. चौ. विद्याभवन
६.    देवकोटा, लक्ष्मीप्रसार (२०६५) , मुनामदन ललितपुर,साझा प्रकाशन
७.    भरत, (२०३२) , नाटेयशास्त्र –२, वाराणसी काशी हि.नि. विद्यालय संस्कृतसाहित्यानुसन्धान समिति ,
८.    भामह(२०१९) काव्यालङ्कार , पटना, विहार राष्ट्रभाषा परिषद्
९.     मम्मट (२०४२) , काव्यप्रकाश, वाराणसी ज्ञानमण्डल लिमिटेड ,
१०.    वामन, (२०३४) ,काव्यालङ्कारसूत्रवृत्ति, वाराणसी, चौ. अमरभारती प्रकाशन
११.    विश्वनाथ, २०६४) साहित्यदर्पण,वाराणसी , चौ. कृष्णदास अकादमी
१२.    वेदव्यास, (२००४) ई. अग्निपुराण, दिल्ली , चौखम्बा संस्कृत प्रतिष्ठान
१३.    शर्मा, मोहनराज (संपा.),(२०६६), नेपाली कविता, नाटक र इतिहास,काठमाण्डौं नवीन प्रकाशन
१४.    त्रिपाठी, वासुदेव (संपा.) , नेपाली कविता, भाग ४
Powered by Blogger.