Header Ads

कथाकार जनकऋषि राईको सङ्क्षिप्त परिचय र साहित्यिक योगदान


विज्ञानकुमार भट्टराई
नेपाल संस्कृत विश्वविद्यालय
पिण्डेश्वर विद्यापीठ, धरान - १४



जनकऋषि राईको परिचय

 - जन्म  जन्म स्थान 
आफ्नो जन्मका सम्बन्धमा कथाकार जनकऋषि राई भन्दछन्   पिता लक्ष्मण  माता निर्मला राईका कोखबाट ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०३३ साल असार १० गतेका दिन पाछा दिखली गोत्री भएर जन्मिएको हुँ  साथै मेरो जन्मस्थानका बारेमा भन्नुपर्दा मेरो जन्म कोशी अञ्चलको सुनसरी जिल्लाको सुन्दर रमणीय शहर धरान नगरपालिका वडा नं. १७ रत्न चौक भन्ने ठाउँमा भएको हो  (जनकऋषि राईका अनुसार)
२ - शिक्षा दिक्षा
सुगम क्षेत्र सुनसरी जिल्लाको धरानमा जन्मिएकाले सानै अवस्थाबाट पढ्नलेख्न थालेका राईलाई ५ बर्षको अवस्थामा उनकी आमाले घरैमा अक्षरारम्भ गराउनु भएको हो । उनी भन्दछन् – सामान्य आर्थिक अवस्था भएपनि पढ्न भनेपछि खुुब रहर लागेर आयो । धरानस्थित श्री प्राथमिक विद्यालयको शिशु कक्षाको विद्यार्थीका रूपमा पाटी, खरी अनि पेन्सिल र कापि बोकेर म विद्यालय जान थालें । (जनकऋषि राईका अनुसार)
 यसरी पठनपाठन क्षेत्रमा लागेका राईले श्री पञ्चायत मा.वि. धरान–११ बाट वि.स. २०४८ सालमा तृतीय श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गरे । त्यस्तै गरेर महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट वि.सं. २०५२ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनको स्नातक तहका अध्ययन विविध कारणहरूले अपूर्ण रहेको पाइन्छ । (भेटवार्ता)
३ - बाल्यकाल 
बाल्यकालका सम्बन्धमा कथाकार राईको अनुभव यस्तो छ – मेरा साथीहरू थोरै भएकाले घरमै बसेर पिता तथा काकाकाकीका छोराछोरीसँग खेल्थे । बाल्यकालमा चञ्चले स्वभावको थिएँ, राम्रा राम्रा कथा तथा लोककथा अध्ययन गरी रमाइलो गर्दथें । यसरी जन्मस्थान (धरान)मा कहिले बाबा त कहिले आमासँग दिनरात सँगै बसेर मेरो बाल्यकाल बितेको थियो । (भेटवार्ता)
४ - पारिवारिक अवस्था 
राईको प्रारम्भिक घरायसी अवस्था सामान्य किसिमको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवाले पाारिवारिक जीवन सञ्चालनार्थ ठुलो परिश्रम गर्नु परेको देखिन्छ । बुवा एक प्रा.वि. शिक्षक हुनुहुन्यो । २०५६ सालमा बुवाको निधनले परिवारमा ठुलो भुइँचालो ल्याइदियो । राईका बुवाका एक दाज,ु एक भाइ, एक दिदी र एक बहिनी हुनुहुन्छ तथा राईका एक भाइ हुनुहुन्छ । राई हालसम्म अविवाहित छन् ।
५ - लेखन प्रेरणा
चलाख र तीक्ष्ण बुद्धिका धनी राई बाल्यावस्थादेखि नै कल्पनामा रम्ने, मिहिनेती र मिजासिलो स्वभावका देखिन्छन् । सानैदेखि साहित्यमा रुचि तथा पत्रपत्रिकाको अध्ययन गर्ने उनको सौख थियो । कथा लेखनको प्रेरणा अभिरुचि गराउने व्यक्तित्वहरूमा उनी गोपाल किराँती र वि. के. कोयुको सम्झना गर्ने राईको कथालेखन विशेष गरेर २०४६ सालको जनआन्दोलनपश्चात् प्रारम्भ भएको हो । यद्यपि उनले साहित्यिक लेखनको थालनी भने २०४५ बाट गरेका थिए । 
६ - आर्थिक स्थिति 
सामान्य आर्थिक स्थिति भएका नरबहादुर राईका साहिला छोराका जेठा नातिका रूपमा जन्मन पुगेका राईको आर्थिक अवस्था पनि सामान्य नै रहेको देखिन्छ । यिनको प्रारम्भिक अवस्थामा बुवाको प्रा.वि. को शिक्षक पदको सानो आम्दानीले घर चलेको देखिन्छ । राईको उमेर २३ बर्षको हुँदा पितालाई गुमाउनु पर्दा उनले झन् आर्थिक दुरवस्था ब्यहोर्नुपर्यो । २०५२ सालबाट न्युज टाइम्स नामक साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादकमा रही काम गर्न थालेपछि उनले घरमा आर्थिक सहयोग पुर्याउन थाले । हाल धरान – ११ मा रहेको सोलिङ नामकोे सुकुम्बासी टोलमा सामान्य किसिमको घर बनाएर बसोबास गर्ने राई हाल मध्यमवर्गीय सुखी जीवन बाँचिरहेका छन् । (भेटवार्ता)
७ - शारीरिक संरचना र स्वभाव 
साहित्यकार राई गँहुगोरो वर्णका मझौले कदका, ५ फुट ३ इन्च उचाई र ६० के.जी.को हाराहारी तौल भएका व्यक्ति देखिन्छन् । पुष्ट छाती, चिप्लो ललाट, तेजिला आँखा, सामान्य नाक, छोटो कपाल भएका उनी शारीरिक संरचनाका दृष्टिले अलि होचा लाग्दछन् । सुन्दर मुखमण्डल भएका उनी बाठा र फर्स्याइला छन् । घमण्डीपन नभएका, सबैसँग ठट्टा गर्न रुचाउने, मृदुभाषी राई जोसँग पनि छिटो परिचित बन्न पुग्दछन् । प्रायः सबै प्रकारका कपडामा सजिने उनी विशेष गरी सर्ट, पेन्टमा सुन्दर लाग्दछन् । सादा जीवन उच्च विचार भएका राई सधैं विभिन्न पत्रपत्रिका पढ्न र चिन्तन कार्यका व्यस्त रहन्छन् ।
व्यक्तिगत र व्यवहारिक समस्यालाई कदापि समस्याको रूपमा नलिने राई राष्ट्रिय, अन्तराष्ट्रिय र मानवीय समस्याहरूप्रति चिन्तनशील देखिन्छन् । जीवनमा आउने उतारचढाव नीयमित आकस्मिकता झै लाग्न थालेको, भएका, भइरहेका र अब हुने घटनाहरूले अताल्ली हाल्नुपर्ने गरी प्रभाव नपार्ने ठान्दछन् । भ्रमण गर्न डकुमेन्ट्री र नाटक हेर्न मनपराउने राई आफू कथाकारिताका क्षेत्रमा सामाजिक यथार्थवादी तथा जातीय कथाकारका रूपमा परिचित हुने कुरामा विश्वास गर्दछन् ।
 ८ - साङ्गठनिक सेवा
 साहित्यलेखनका क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत कथाकार राईको उल्लेखनीय योगदान रहेको देखिन्छ । वि.सं. २०५२ सालमा न्युज टाइम्सको कार्यकारी सम्पादक भई काम गर्न थालेका राई समाजमा रहेका कुरीति, विकृति र विसङ्गति हटाई समाजमा क्रान्तिकारी सुधार चाहन्छन् तथा मानव, समाज र राष्ट्रको सेवालाई सबैभन्दा ठुलो पुण्यकर्म मान्दछन् । त्यसै गरी उनको किरात राई पत्रकार सङ्घको केन्द्रीय उपाध्यक्ष (२०६६) पदमा रही पत्रकारिताका क्षेत्रमा पनि भिन्न पहिचान निर्माण भएको देखिन्छ । नेपाल पत्रकार महासङ्घको पूर्वाञ्चल क्षेत्रीय समितिको सल्लाहकारका रूपमा पनि उनी हाल कार्यरत छन् । हालसम्म निम्नानुसारका सामाजिक तथा साहित्यिक क्षेत्रमा उनको संलग्नता रहेको देखिन्छ –
*        न्युज टाइम्सको कार्यकारी सम्पादक
*        किरात राई पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष
*        नेपाल पत्रकार महासङ्घको पूर्वाञ्चल क्षेत्रीय समितिको सल्लाहकार
 यी बाहेक अन्य विभिन्न समिति तथा उपसमितिहरूमा आबद्ध रहेर कथाकार राई समयसमयमा विविध सामाजिक सेवाका क्षेत्रमा संलग्न रहेको देखिन्छ ।
९ - शैक्षिक सेवा  : - कथाकार जनकऋषि राईले वि.सं. २०४८ सालमा एस्.एल्.सी. उत्तीर्ण भए लगत्तै आफूले अध्ययन गरेको प्रा.वि धरानस्थित श्री प्राथमिक विद्यालयमा एकडेढ बर्ष स्वयंसेवक शिक्षकका रूपमा प्रौढशिक्षाअन्तर्गत अध्यापन गराईको थाहा हुन्छ ।
१० - राजनैतिक चिन्तन
 साहित्यकार समाजको एक सचेत र बौद्धिक वर्गमा पर्दछ । उसले समाजका हरेक विकृति, विसङ्गति आदिको प्रतिरोध गर्दै राष्ट्र र समाजलाई अग्रगामी दिशातर्फ डोर्याउने कार्य गर्दछ । सचेत प्राणि स्वभावैले स्वेच्छिक राजनीतिक धारबाट पनि आफू बगिरहेको हुन्छ ।
          साहित्यकारको कलम पनि देशमा देखापरेका विभिन्न राजनैतिक मोडहरूसँगै हेरफेर हँुदै क्रियाशील रहन्छ । जसले गर्दा साहित्य र राजनीतिका बीचमा निकट सम्बन्ध रहेको देखिन्छ । राईले आफ्ना कथामा राजनैतिक गन्ध पस्न नदिए पनि उनमा प्रजातान्त्रिक समाजवादी विचारधाराको चिन्तन प्राप्त हुन्छ । तर उनका आफ्ना रचनामा भने जातीय चिन्तन र यौन मनोविज्ञानको स्पष्ट प्रभाव देख्न सकिन्छ । राजनीति जीवनमा आवश्यक भएपनि उनले राजनैतिक पदमा रहेर काम गर्ने रुचि देखाएको पाइँदैन ।
 राजनैतिक रूपमा निकै खारिएका चिन्तनशील व्यक्तित्व राई नेतृत्व तहका राजनैतिक कार्यकर्ताहरूसँग राष्टिय अखण्डता र जनताका पक्षमा लड्न आग्रह गर्दछन् । मूलुकको राजनैतिक चिन्तन, सत्ताकेन्द्रित र सुविधाभोगी प्रवुत्तितिर उन्मुख हुदै गइरहेको तात्कालिक राजनैतिक व्यक्तित्वहरूको आचरण र प्रवृत्तिमा आमूल परिवर्तन हुनु आवश्यक छ भन्ने उनको अभिमत छ ।

११ - साहित्यिक योगदान 
११.१. कथाकारिता 
कथाकारिताको क्षेत्रमा पनि उनको कलम सफलतापूर्वक अगाडि बढेको देखिन्छ । आफ्नो कथाकारितामा उनले सामाजिक, राजनैतिक, प्रशासनिक आदि क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिका साथै जातीय र सांस्कृतिक पक्षको उल्लेख गर्दै त्यसले सामाजिक जनमानसमा पार्ने प्रभावका बारेमा सशक्त रूपले विश्लेषण गरेको पाइन्छ । वि.सं. २०५५ सालबाट देखापरको यिनको कथालेखन निम्नानुसार विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै अगाडि बढेको देखिन्छ ।
*        बस्तीभित्र –(२०५५) गुम्बज, साहित्यिक त्रैमासिक 
*        एउटा भेट– विजयपुरगढी मासिक
*        एउटा कथा नेपाल समाचारपत्र, सौगात
*        चिठी
*        जागिर – निश्चल मासिक वर्ष १ अङ्क १,२०५९
*        मुन्छमीको पूर्वकथा – इटाँ साहित्यिक पत्रिका, वर्ष९, अङ्क १, २०५९
*        झ्याल –गोरखा सैनिक आवाज वर्ष ११– अङ्क ८,२०५९
*        कुमार मामा– मुग्लान मासिक,वर्ष १ सङ्खया– ७ सेम्टेम्बर २००२
*        रिक्सा नं.२०५– गोरखा सैनिक आवाज, वर्ष १२,अङ्क १,२०६०
          यिनै कथाहरू राईले ‘बस्तीभित्र’ नामक कथा सङ्ग्रहमा वि.सं. २०६६ सालमा प्रकाशित गरिसकेका छन् । उनले यस कथा सङ्ग्रहमा मझौला खालका जम्मा १३ वटा कथाहरूलाई सङ्कलन गरेका छन् । उनको यस सङ्ग्रहभित्रको ‘एउटा भेट’ कथा पेन नेपाल नामक बेलायती संस्थाले अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशित समेत गरेको छ । 
यिनका प्रारम्भिक कथाका तुलनामा पछिल्ला कथामा बढी चिन्तनशील देखिन्छन् । यिनी प्रसिद्ध कथाकारहरू एन्टोन चेकप, खलिल जिब्रान, वी. पी. कोइराला, भवानी भिक्षु आदिको कथाकारिताबाट आफू प्रभावित भएको स्वीकार गर्दछन् । जसको परिणाम बस्तीभित्र कथा सङ्ग्रहमा पनि प्रष्ट देख्न सकिन्छ । उनले यी कथामा वर्गीय समानता ,आर्थिक क्रान्ति, जातीय र सांस्कृतिक सवालका पक्षमा समेत कलम उठाएका छन् ।
राईका कथागत विशेषताहरूलाई बुदागत रूपमा निम्नानुसार देखाउन सकिन्छ –
        चरित्र प्रधान कथाकार
        यथार्थपरक सामाजिक घटना विवरण 
        द्वन्द्वको प्रबलता
        झिनो (सामान्य) कथावस्तु
        स्वैर कल्पनाको यथार्थपरक प्रयोग 
        लेखक स्वयं ‘म’ पात्रका रूपमा उपस्थिति हुनु
        भुत, भविष्य र वर्तमान घटनाको सूत्रात्मक प्रयोग
        जातीयताका सवालमा सचेतता
        नारी र पुरुषका माझमा देखिने रतिरागात्मकताको चित्रण
        मानिसका दमित, अतृप्त र असन्तुष्ट भावनाहरूको चित्रण
        ग्रन्थिका रूपमा रहेका अव्यक्त यौन कुण्ठाको अभिव्यक्ति
११.२. कविव्यक्तित्व
राईले कविता क्षेत्रबाटै साहित्यलेखनको थालनी गरेका हुन् । उनी कथाकारिताका क्षेत्रमा पछिमात्र समाविष्ट भएका हुन् । उनको कवितालेखन २०४४ सालतिर फुटकर कविताका रूपमा स्थानीय पत्रपत्रिकामा प्रकाशित भई प्रारम्भ भएको हो । तर पुस्तकाकार रूपमा आजसम्म यिनले सिर्जना गरेका कविताको सँगालो भने प्रकाशित भएको छैन ।
क्रान्ति र चेतनाका उदीयमान कवि राईका कवितामा सामाजिक विकृति र विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य प्रहार गरिएको हुन्छ ।  यिनका प्रारम्भिक चरणका कवितामा प्राकृतिक विषयवस्तु र राष्ट्रियता अभिव्यक्त हुन्थ्यो । कवितालेखनको उत्तरवर्ती चरणमा मानवीय मूल्य र मान्यता, सामाजिक, सांस्कृतिक चेत तथा विकृति एवं विसंङ्गतिहरू प्रतिको विद्रोही दृष्टिकोण प्राप्त हुन्छ । लयात्मक गद्यमा कलात्मक विम्ब र आख्यानीकृत प्रतीकको प्रयोग गर्दै कविता लेख्ने राईका कवितामा देशप्रेम, देशभक्ति, विग्रँदो राजनैतिक परिस्थिति प्रति चिन्ता र चेतनाले ओतप्रोत यिनको कवि व्यक्तित्व प्रस्फुटित भएको छ ।
११.३. पत्रकारिता 
जनकऋषि राई पत्रकारिता क्षेत्रमा पनि सफल पत्रकारका रूपमा देखापरेका छन् । उनले २०५२ सालमा न्युज टाइम्स साप्ताहिक पत्रिकामा पनि कार्यकारी सम्पादक भई कार्य गरेको पाइन्छ । विचार प्रधान ‘नामसामु’ पत्रिकामा पनि कार्यकारी सम्पादक भई पत्रकारिता क्षेत्रमा योगदान पनि पुर्याए । गोरखा सैनिक आवाज मासिक पत्रिकाको सह–सम्पादक पनि भए । पत्रकारिताकै माध्यमबाट विभिन्न विद्युतीय सञ्चार माध्यम सप्तकोशी एफ्.एम्. इटहरीमा नयाँ नेपाल र सङ्घीय नेपाल नामक रेडियो कार्यक्रम तथा स्टार एफ्.एम्. धरानमा ‘नवजीवन’ कार्यक्रमका प्रस्तोता पनि भए । वर्तमान समयमा नेपाल पत्रकार महासङ्घको पूर्वाञ्चल क्षेत्रीय समितिको सल्लाहकारका रूपमा संलग्न रहेका छन् ।
११.४. प्रकाशित कृति 
वि.सं. २०४४ सालदेखि नै कविता लेखनबाट साहित्यिक क्षेत्रमा कलम चलाउने राईका हालसम्म २०६६मा प्रकाशित ‘बस्तीभित्र’ कथा सङ्ग्रहले मात्र कृतिको रूप धारण गरेको छ ।
११.५. सम्मान तथा पुरस्कार 
आधुनिक नेपाली साहित्यको समसामयिक धाराभित्र कथाकार राईले दह्रिलो कदम चाल्नुका साथै यसको जगमा बलियो इँटा थप्ने काम गरेका छन् । विशेष गरेर कथा क्षेत्रमा कलम चलाउने कथाकार राईलाई अझ तदारुकताका साथ अगाडी बढ्न सक्ने हौसला प्रदान गर्दै विभिन्न सङ्घसंस्था र साहित्यिक प्रतिष्ठानहरूले सम्मान तथा पुरस्कार प्रदान गरेको देखिन्छ । उनले प्राप्त गरेका पुरस्कारहरूको विवरण निम्नानुसार छ  : -
        उत्कृष्ट पत्रकार २०५७, गोरखा भुतपूर्व सैनिक सङ्घ, सुनसरी 
        राष्ट्रव्यापी कथा प्रतियोगिता २०५८ मा तेस्रो (पेन नेपाल, काठमाडौं)
        बढी पुस्तक अध्ययन पुरस्कार २०५८, (एल रोइ पुस्तकालय, धरान)
        विशेष पत्रकारिता सम्मान, २०५९ (किराती जागरण सभा, सुनसरी)
        युवा प्रतिभा २०६० (विमल स्मुति,पुस्तकालय धरान, सुनसरी)
        सम्मान–२०६२ (लोकतान्त्रिक श्रष्टाहरूको संयुक्त मञ्च नेपाल, सुनसरी)
        कदर पत्र – २०६६ (किरात राई यायोक्खा केन्द्रीय समिति काठमाण्डौ)
        सम्मान पत्र– २०६६ (लालीगुराँस क्लब धरान)
        सम्मान पत्र – (नौलो एकता युवा समूह र सुनौलो विहानी युवा जमात धरान –११)
यस अतिरिक्त पनि उनले विभिन्न सम्मान तथा पुरस्कारहरू प्रशस्त रूपमा प्राप्त गरिसकेका छन् ।
११.६. निष्कर्ष 
 प्रस्तुत यस अध्यायका विभिन्न शीर्षक तथा उपशीर्षकहरूमा राईका व्यक्तित्व र कृतित्वका साथै उनले पुर्याएको योगदान र अवस्थाको चर्चा गरिएको छ । सामान्य आर्थिक स्थिति, बालककाल तथा युवाजीवन, सार्वजानिक कार्यहरूमा व्यस्तता आदिबाट केही समय निकाली नेपाली साहित्यको कथा विधामा आफूले सकेको योगदान दिनुभएको छ । नारी र पुरुषभित्र उठेका मनोभावना, जातीय तथा सांस्कृतिक, भौगोलिक आदि क्षेत्रमा कथाको उठान राम्ररी गरिएको छ । स्वैरकल्पनामूलक स्वतन्त्र लेखनका माध्यमबाट विद्यमान समाजका सामाजिक यथार्थको चित्रण गर्दै गाउँघरमा देखापरेका विकृति, विसङ्गति, कुसंस्कार आदिका विरुद्धमा आवाज उठाइएको पाइन्छ । उनले सरल सहज भाषाशैलीका माध्यमबाट भौगोलिक, जातीय, तथा मानिसभित्र भएको मनोभावना पन्छाउदै पूर्वीय तथा पाश्चात्य वाङ्मयको अनुसरण गरेको पाइन्छ । मौलिकता, सूक्ष्म अध्ययन र विश्लेषणमूलक लेखन आदि उनको समग्र साहित्यिक विशेषता हो ।
Powered by Blogger.