कविसमयप्रसिद्धि
नन्दन भट्टराई
उप प्राध्यापक
वाल्मीकि विद्यापीठ
१. विषयप्रवेश
अपार यो काव्यसंसारको प्रजापति
अर्थात् सृष्टिकर्ता केवल कवि हुन् । आफ्नो रुचि अनुसार काव्यसंसारको
सृष्टि गर्नमा उनी सर्वथा स्वतन्त्र छन् । कविप्रजापतिको साँचोमा ढलिसकेपछि यथार्थ
प्रजापति अर्थात् ब्रह्माजीको सुखदुःखात्मक सृष्टिसंसार पनि कविको रुचि अनुरूप
परिवर्तित हुन्छ र विलक्षण स्वरूप धारण गर्दछ । यस सम्बन्धमा भनिएको पनि छ –
अपारे काव्यसंसारे कविरेव प्रजापतिः
।
यथास्मै रोचते विश्वं तथेदं परिवर्तते
।।
यस्तो विलक्षण कविकर्म अर्थात्
काव्यको निर्माण पद्धतिमा कविले सर्वप्रथम पदार्थको निगूढ विचित्रभाव एवं सूक्ष्मस्वरूपको
अवलोकन गर्दछ । अनि त्यसलाई आफ्नो दिव्य भावनामा रंगाएर अपूर्व प्रतिभाद्वारा समुचित
ललित पदावलीले सजाउँदै दिव्यवाणीमा प्रवाहित गर्दछ । यस सन्दर्भमा ‘जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि’ भन्ने लोकोक्ति प्रसिद्ध नै छ
। यसरी दिव्य वाणीमा प्रवाहित कविको सृष्टि नियतिकृतनियमले रहित, ëादैकमयी, अनन्यपरतन्त्रा र नवरसरुचिरा हुनाले विधाताको सृष्टिभन्दा उत्कृष्ट
हुन्छ । यस्तो लोकोत्तरवर्णनानिपुणकविकर्मको निषेवणबाट कवि एवं सह्दयलाई यश, आनन्द एवं हितोपदेशको प्राप्ति भएर काव्यको प्रयोजन सिद्ध हुन्छ । सद्यःपरनिर्वृति
एवं उपदेश (रामादिवत् वर्तितव्यं न रावणादिवत् इत्यादि) को सिद्धिकालाई काव्य चमत्कारी
एवं नित्य नवीन अर्थ उद्भावन गर्ने हुनुपर्दछ । त्यसैले नवनवोन्मेषशालिनी प्रज्ञाद्वारा
अपूर्व चमत्कारिवस्तुवर्णनमा समर्थ कविको इतिवृत्तमात्रको निर्वहणमा कुनै प्रयोजन हुँदैन
। यस अर्थमा, वाच्य र वाचकको रसादिविषयक औचित्यले संयोजन गर्नु नै महाकविको
मुख्य कर्म हुन आउँछ -
वाच्यानां वाचकानां च यदौचित्येन
योजनम् ।
रसादिविषयेणैतत् कर्म मुख्यं
महाकवेः ।।
त्यसैले सर्वात्मना रसादिमा तात्पर्य
भएको कविको इच्छानुकूल रसाङ्कता प्राप्त गर्न नसक्ने त्यस्तो कुनै वस्तु संसारमा छैन
भनिन्छ । उपर्युक्त प्रयोजन सिद्धिका लागि कविले नाना प्रकारका उपायहरू अपनाउँदै काव्यलाई
रमणीय बनाउँछ । काव्यलाई सह्दयह्दयावर्जक बनाउने क्रममा कविले कहीँ वस्तुको यथावत्रूपमा, कहीँ अन्यथारूपमा अनि कहीँ अपूर्वरूपमा वर्णन गर्दछ । यस सम्बन्धमा कविका आÇनै परम्परा, नियम र मान्यता छन् । यही परम्परा,
मान्यता एवं नियमको सीमाभित्र
कविको वाणीले विलास गर्दछ । काव्यरचनामा कविका यही सीमा, मान्यता, परम्परा अथवा सिद्धान्तलाई काव्यशास्त्रमा कविसमयप्रसिद्धि भनिन्छ ।
कविसमयप्रसिद्धिको ज्ञानले उत्कृष्ट
काव्यरचना गर्नमा कविलाई एवं त्यसको रसास्वादन गर्नमा सह्दयलाई अपूर्व सहयोग प्राप्त
हुन्छ । त्यसैले कवि सह्दय दुवैका लागि परमावश्यक भएको यस्तो महत्त्वपूर्ण कविसमयप्रसिद्धिका
सम्बन्धमा अलङ्गारशेखर एवं साहित्यदर्पण ग्रन्थका आधारमा विवेचना गर्नु यस लेखको मुख्य
उद्देश्य रहेको छ ।
२. कविसमयप्रसिद्धिको परिभाषा
कविहरूको समय अर्थात् सम्प्रदायका
आÇनै नियम, कानून र मान्यता छन् जसबाट उनीहरू निर्देशित हुन्छन् र काव्यको
रचना गर्छन् । यी मान्यताहरू कुनै वास्तविक यथार्थपरक छन् भने कुनै अवास्तविक÷काल्पनिक छन् । यी मान्यताहरू कविका परम्परामा अत्यन्तै महत्त्वपूर्ण मानिएका छन्
र आदर्शकविले यिनको पालना गर्नै पर्दछ । यही कविकुलका प्रसिद्ध सिद्धान्त, मान्यता वा प्रचलनलाई ‘कविसमय प्रसिद्धिः’ वा ‘कविसमयख्यातानि’ भनिन्छ । यही सिद्धान्त अनुसार कविले कहीँ लोकमा नभएका वस्तुको पनि वास्तविक रूपमा
वर्णन गर्दछ, कहीँ वास्तविक वस्तुको पनि वर्णन गर्दैन र कहीँ नियमपूर्वक तोकेर
वस्तुको वर्णन गर्दछ ।
३. अलङ्गारशेखरोक्त कविसमयप्रसिद्धि
केशव मिश्र वेदान्त, न्याय आदि विद्याका साथै अलङ्गारशास्त्रका समेत पारंगत, मैथिल ब्राéण हुन् । यिनको समय ईसवीय १६ औं शतक मानिएको छ । काव्यकारहरूको
हितका निमित्त आफूले रचना गरेका सात वटा ग्रन्थहरू तर्कशास्त्रका धुरन्धर पण्डितहरूले
मात्र बुझ्न सक्ने भएकाले यौवनमदालसा वधूको पादारविन्दमा लगाइएको पाउजेबको छमछमझैँ
मधुरध्वनिले मनोहर यो अलंकारशेखरग्रन्थ सह्दयी राजा माणिक्य चन्द्रको आदेश अनुसार रचना गरिएको हो भनेर उनले भनेका छन् । यो अलङ्गारशेखर
अत्यन्त प्रसिद्ध काव्यलक्षण ग्रन्थ हो । यसमा २२ मरीचि छन् । यिनले अलङ्गारशेखरको
१६ औं मरीचिमा कविसम्प्रदायका सम्बन्धमा विशद विवेचना गरेका छन् । अलङ्गारशेखरमा अलङ्गारसूत्रकार
शौद्धोदनि रचित कारिका रूप सूत्रहरूलाई मूलरूपमा संग्रहित गरेर तिनमा आफूले वृत्ति
रचेका छन् भन्ने मान्यता छ । उनले आफ्नो लक्षण ग्रन्थमा कवि सम्प्रदायका
सम्बन्धमा विशदरूपमा चर्चा गरेका छन् । उनको भनाईअनुसार ‘असत्को निबन्धन, सत्को पनि अनिबन्धन र नियमको पुरस्कार’ यही त्रिविध कवि सम्प्रदाय हो
–
‘असतोऽपि निबन्धेन सतामप्यनिबन्धनात्
।
नियमस्य पुरस्कारात् सम्प्रदायस्त्रिधा
कवेः ।’
३.१ असतोऽपि निबन्धनम् - (लोकमा नभएका
वस्तुको पनि वर्णन)
कविले लोकमा अविद्यमान वस्तुको पनि वर्णन आफ्नो काव्यमा गर्दछ । जस अनुसार - जुनसुकै पर्वतमा पनि रत्न पाइन्छ, अल्प जलाशयमा पनि हाँसहरू हुन्छन्, जलमा चञ्चलता (अमान्द्य) हुन्छ
। आकाशगङ्का र नदीहरूमा कमल आदि पाइन्छ । अन्धकारको मुष्टिग्राहृयता र सूचिभेद्यता
हुन्छ । कीर्ति र पुण्य आदिमा शुक्लता एवं अकीर्ति र पाप आदिमा कृष्णता हुन्छ । प्रतापमा
रक्तता र उष्णता हुन्छ भने क्रोध र अनुरागमा रातोपन हुन्छ । च्याखुराले ज्योत्स्ना
(जून) पान गर्छ अनि सबै जलमा शैवाल (झ्याउ) हुन्छ । सत्स्त्रीको गण्डूष (कुल्ला)बाट
केसर र पादप्रहारबाट अशोक पुष्पित हुन्छ । मासान्तरमा (अन्यऋतुमा) पनि फूलहरू फुल्छन्
अनि स्त्रीहरूको रोमावलि र त्रिवलि हुन्छ ।
३.२ सतामप्यनिबन्धनम् - (वास्तविक वस्तुको
पनि वर्णन नगर्नु)
त्यसैगरी कविले लोकमा विद्यमान, वास्तविक वस्तुको पनि वर्णन गर्दैन । जसअनुसार - वसन्तऋतुमा मालती पुष्प (चमेली÷जाई) हुँदैन अनि चन्दनवृक्षमा फल र पुष्प लाग्दैन । कामीहरूको दन्तमा र कुन्दपुष्पको
कोपिलामा रक्तता हुन्छ । नारीहरूको श्यामता र स्तनपात हुँदैन, भएमा लज्जास्पद मानिन्छ ।
३.३ नियमस्य पुरस्कारः - (नियमपूर्वक
वर्णन)
कविले काव्यरचना गर्दा कहीँ नियमपूर्वक
अर्थात् तोकेरै वस्तुको वर्णन गर्दछ जसअनुसार कुनै वस्तु कुनै स्थान विशेष वा काल विशेषमा
मात्र उपलब्ध मानिन्छ । यस सम्बन्धमा भनिएको छ - हिमालयमा मात्रै भूर्जत्वक् अर्थात्
भूर्जपत्र पाइन्छ भने चन्दन मलयाचलमा मात्रै उपलब्ध हुन्छ । हेमन्त र शिशिरबाहेक सर्वदा
कमल पाइन्छ । पुष्प, जल छत्र, वस्त्र, ध्वज, चामर, हंस, हार, बक (बकुल्ला) र भस्मको सामान्य ग्रहणमा शुक्लता हुन्छ । शैल, वृक्ष, मेघ, समुद्र, वीरुध (विरुवा), भिल्ल, असुर, धूप, पङ्ग (हिलो) र केशमा कृष्णता
हुन्छ । धातु, माणिक्य, जपापुष्प, रत्न, सूर्य, पद्म, पल्लव (पालुवा), बन्धूक पुष्प, दाडिम अनि नङमा लौहित्य अर्थात्
रातोपन हुन्छ । शालि (धान), मण्डूक (भ्यागुतो), वल्कल (वोक्रा) अनि परागमा पीतता
अर्थात् पहेँलोपन हुन्छ । त्यसैगरी वर्षाकालमा मात्र मयूरको प्रौढि अर्थात् नृत्यादि
विलास र वसन्तमा मात्र पिकध्वनि अर्थात् कोइलीको कुहूकुहू सुनिन्छ ।
४. साहित्यदर्पणोक्त कविसमयख्यातानि
विश्वनाथकविराज, उत्कलदेशीय नारायण दासका नाति, महाकवि चन्द्रशेखरका छोरा हुन् । यिनको समय १४ औं शतक
मानिएको छ । यिनले आलङ्गारिक चक्रवर्ती, सान्धिविग्रहिक, महापात्र, चतुर्दशभाषावार¬विलासिनीभुजंगम, कविराज इत्यादि उपाधि धारण गरेकाले यी नानाशास्त्रका प्रकाण्ड विद्वान् कवि एवं
अनेक शास्त्रका रचयिता तथा सर्वाधिकार सम्पन्न मन्त्री वा अमात्य हुन् भन्ने बुझिन्छ
। राघवविलास आदि अनेक काव्यकृति एवं महाकाव्यका रचयिता यिनको साहित्यदर्पण नामक प्रसिद्ध
सर्वाङ्क परिपूर्ण काव्यलक्षण ग्रन्थ छ । साहित्यदर्पणमा १० परिच्छेद छन् जहाँ काव्यतत्त्वहरूका
बारेमा विस्तृत विवेचना गरिएको छ । संस्कृत साहित्यका अध्येताहरूमाझ साहित्यदर्पणग्रन्थ
अत्यन्तै लोकप्रिय छ ।
काव्यलाई चमत्कारी बनाउनमा हेतुभूत
यी मान्यतालाई विश्वनाथ कविराजले आÇनो साहित्यदर्पण
नामक प्रसिद्ध काव्यलक्षण ग्रन्थको सप्तम परिच्छेदमा - ‘कविसमयख्यातानि’ भनेर वर्णन गरेका छन् । उनले कविको समय अर्थात् सिद्धान्तमा
प्रख्यात भएका वस्तुहरूको वर्णन गर्दा ‘ख्याति विरुद्धता’ अर्थात् लौकिक प्रसिद्धिविरुद्धता दोष नभएर गुण बन्दछ भनेका छन् -‘कवीनां समये ख्याते गुणः ख्यातिविरुद्धता ।’
विश्वनाथले सङ्कलन गरेका ‘कविसमयख्यातानि’ यसप्रकार छन् -
(क) ‘मालिन्यं व्योम्नि पापे’ – आकाश र पापमा मालिन्य छ ।
आकाश र पाप यद्यपि रूपरहित वस्तु हुन् तर कवि सम्प्रदायमा यिनलाई मलिन मानिएको
छ र कृष्णवर्ण स्वीकार गरिएको छ । जस्तो - ‘कटाहतलमलिनमाकाशम्’,
‘अमान्धकारोपममुग्रपापम्’ ।
(ख) ‘यशसि धवलता वण्र्यते हासकीत्र्योः’– यश,
हास र कीर्तिमा धवलता
छ ।
यश, हास र कीर्ति पनि रूपरहित नै छन् तर यिनलाई सेतो मानिएको छ । जस्तो - ‘हनूमदाद्यैर्यशसा-मया पुनद्र्विषां हसैर्दूतपथः सितीकृतः’, ‘नलः सितच्छत्रितकीर्तिमण्डलः’ । ‘यशः कीर्तिः समज्ञा च’ भनेर अमरकोशमा ‘यश र कीर्ति’ लाई पर्यायवाची मानेता पनि ‘खड्गादिप्रभवाकीर्तिर्विद्यादिप्रभवं
यशः’ भन्ने वचन पाइन्छ । त्यस्तै दुर्यश र दुष्कीर्तिलाई कालो मानिएको छ ।
(ग) ‘रक्तौ च क्रोधरागौ’– क्रोध र रागमा रक्तता छ ।
रूपरहित भावनात्मक क्रोध र राग
(अनुराग) रातो मानिन्छन् । जस्तो - ‘सरागया स्रुतघनघर्मतोयया’, सन्ध्यारागसमं स रागनिवहम्’,
‘शोणं वीक्ष्यमुखम्’ ।
(घ) ‘सरिदुदधिगतं पङ्कजेन्दीवरादि’ – नदी र समुद्रहरूमा पङ्कज, इन्दीवर आदि पाइन्छ ।
बगेको पानीमा र विशेष गरी समुद्र
आदिमा कमल आदिको संभावना नै नभए पनि नदी र समुद्रहरूमा राता, नीला कमल एवं शैवाल पाइन्छ भनेर वर्णन गरिन्छ । जस्तो - ‘पद्मैरनन्वितवधूमुखद्युत - निम्नगाः ।’
(ङ) ‘तोयाधारेऽखिलेऽपि प्रसरति च मरालादिकः पक्षिसंघो ।’– सम्पूर्ण जलाशयहरूमा मरालादि
(हाँस आदि) पक्षीसमूहको सञ्चार हुन्छ ।
हरेक जलाधारमा हाँस आदि पक्षीसमूहको
अस्तित्व हुँदैन तथापि यिनको आवागमन एवं क्रीडाको वर्णन गरिन्छ । जस्तो -
‘चुकूज कूले कलहंसमण्डली ।’
(च) ‘ज्योत्स्ना पेया चकोरैः’– चकोरले ज्योत्स्नापान गर्दछ ।
चन्द्रज्योत्स्ना अर्थात् जून
पान गर्ने वस्तु होइन, तथापि च्याखुराले जून पिउँछ भनेर वर्णन गरिन्छ । जस्तो
- ‘अपि ममैष चकोरशिशुर्मुने ।’
(छ) ‘जलधरसमये मानसं यान्ति हंसाः’– वर्षाकालमा राजहंस मानसरोवर जान्छन् ।
वर्षाऋतुको प्रारम्भ भएपछि राजहंस
दक्षिणको निवास छाडेर उत्तरी हिमालय पार गर्दै मानसरोवर जान्छन् भन्ने मान्यता छ र
सोही अनुरूप वर्णन गरिन्छ । जस्तो-
‘मानसोत्काः - सम्पत्स्यन्ते नभसि
भवतो राजहंसाः सहायाः ।’
(ज) ‘पादाघातादशोकं विकसति वकुलं योषितामास्यमद्यैः’– सुन्दरी युवतिहरूको पादप्रहारले अशोक एवं मुखमद्यले वकुल फुल्दछ ।
मस्ततरुनीले लातहानेमा अशोकवृक्षमा
फूल फुल्छ र उनीहरूले मद्यले कुल्ला गरेमा वकुल फुल्छ भन्ने मान्यता छ । जस्तो - ‘सर्वाशोकतरूणां प्रथमं सूचितवसन्तविभवानाम् ।
निर्वृत्तदोहदेऽस्मिन् संक्रान्तानीव कुसुमानि ।।’
त्यस्तै - ‘वकुलं विषकाम योषिताम् ।’
त्यस्तै - ‘तत्पादाहतिमन्तरेण भवतः पुष्पोद्गमोऽयं कुतः ?’
(झ) ‘यूनामङ्केषु हाराः’– युवा युवतिको अंगमा हार हुन्छ ।
युवा एवं युवतिको अङ्कमा हार
(मोती आदिका माला) वर्णन गरिन्छ । जस्तो - ‘आमुक्तमुक्तालतमस्य वक्षः ।’
(ञ) ‘स्फुटति च ह्दयं विप्रयोगश्च
तापैः’– युवायुवतिको ह्दय विरहको तापले फाट्छ ।
वियोगको प्रचण्ड सन्तापले युवा
युवतिको ह्दय फाट्छ अर्थात् छिया छिया हुन्छ भनेर वर्णन गरिन्छ । जस्तो- ‘हा हा देवि स्फुटति ह्दयम् ।’
(ट) मौर्वी रोलम्बमाला धनुरथ विशिखाः
कौसुमाः पुष्पकेतोः’ – कामदेवको धनु र बाण फूलको हुन्छ अनि ताँदो भ्रमरपंक्तिको
हुन्छ ।
कामदेवलाई पुष्पधन्वा, कुसुमशर भनेर उनको धनु र बाण पुष्पनिर्मित एवं प्रत्यञ्चा भ्रमरपंक्तिको मानिएको
छ । जस्तो - ‘अलिपंक्तिरनेकशस्त्वया गुणकृत्ये धनुषो नियोजिता ।’
त्यस्तै - ‘तव कुसुमशरत्वं शीतरश्मित्वमिन्दोः ।’
(ठ) भिन्नं स्यादस्य बाणैर्युवजनह्दयं
स्त्रीकटाक्षेण तद्वत् –कामदेवको बाणप्रहारले र स्त्रीको कटाक्षपातले युवकहरूको
ह्दय विदीर्ण हुन्छ ।
कामदेवको बाण लाग्नाले र कामिनीहरूको
कर्कें नजरले युवकहरूको ह्दय छिया छिया हुन्छ । जस्तो –
फलस्तनस्थानविदीर्णरागीद्विषच्छुकास्यस्मरकिंशुकाशुगाम्
।
(ड) अì्यम्भोजं निशायां विकसति कुमुदम् – दिनमा कमल र रातमा कुमुद फुल्छ
।
कमल र कुमुदको विकास दिन र रात
दुवैमा देखिएता पनि कमल केवल दिनमा र कुमुद केवल रातमा फुलेको वर्णन गरिन्छ । जस्तो
– कुमुदान्येव शशाङ्गः सविता बोधयति
पङ्गजान्येव ।
(ढ) चन्द्रिका शुक्लपक्षे – शुक्लपक्षमा चन्द्रिका हुन्छ ।
शुक्लपक्षको सवै भागमा जून नलागे पनि र कृष्णपक्षमा पनि जून देखिएता पनि केवल शुक्लपक्षमा
जून लाग्छ भनेर वर्णन गरिन्छ । जस्तो - शुक्लं हि पक्षं समुपैति चन्द्रिका ।
(ण) मेघध्वानेषु नृत्यं भवति च शिखिनाम्
–मेघगर्जनमा मयूरहरूको नृत्य हुन्छ ।
मयूरको नाच अरु समयमा पनि संभव
भएता पनि मेघको गर्जनमा मात्र मयूर नाच्छ भनेर वर्णन गरिन्छ । जस्तो - प्रवृत्तनृत्यं कुलमद्य बर्हिणाम् ।
(त) नाप्यशोके फलं स्यात्– अशोकवृक्षमा फल लाग्दैन ।
अशोकवृक्षमा फलको उत्पत्ति भएता
पनि फल लाग्दैन भनेर वर्णन गरिन्छ ।
(थ) न स्याज्जातिर्वसन्ते –वसन्तमा जाई हुँदैन ।
वसन्तऋतुमा जातिपुष्प अर्थात्
जाई ढकमक्क फुलेता पनि कविको वर्णनमा जाई फुलेको देखाइँदैन ।
(द) न च कुसुमफले गन्धसारद्रुमाणाम् – सुगन्धित चन्दन आदिको वृक्षमा फल र फूल लाग्दैन ।
गन्धसारवृक्ष अर्थात् वास्ना
आउने चन्दन आदिको वृक्षमा फलपुष्पोद्गमको वर्णन गरिँदैन ।
एवं रीतिले अन्य कवि सम्प्रदायगत कुराहरू कालिदास
आदि महाकविका प्रबन्धबाट अनुसन्धान गर्नुपर्दछ भन्दै विश्वनाथले कवि सम्प्रदायको प्रचलित
मान्यता सम्बन्धी प्रकरण टुंग्याएका छन् -
‘इत्याद्युन्नेयमन्यत् कविसमयगतं
सत्कवीनां प्रबन्धे ।’
५. उपसंहार
उपर्युक्त विवेचनाबाट अपार काव्यसंसारका
एक मात्र प्रजापति कविले काव्यसृष्टिका आफ्नै परम्परा र मान्यता भित्र रहेर
काव्यरचना गर्दछ भन्ने स्पष्ट हुन्छ । कविकुलका यी मान्यता र सिद्धान्त नै कविसमयप्रसिद्धि
वा कविसमयख्यातानिका रूपमा प्रसिद्ध छ र आदर्श काव्य रचनाका लागि कविले यिनको पालना
गर्नुपर्छ भन्ने पनि छर्लङ्क हुन्छ । अविद्यमान वस्तुको निबन्धन, विद्यमानको पनि अनिबन्धन र नियमको पुरस्काररूपी त्रिविध कविसम्प्रदायको पालनाले
काव्यमा चमत्कार उत्पन्न हुने अनि रमणीय काव्यको अनुशीलनबाट काव्यको प्रयोजन सम्पन्न
हुने भएकाले कविसम्प्रदायका उपर्युक्त मान्यताहरूलाई कविकुलले अङ्कीकार गरेको हो ।
निष्कर्षमा, कविसमयप्रसिद्धिको सम्यक ज्ञानबाट सर्वगुणसम्पन्न काव्यको रचना
एवं रसास्वादनमा कवि एवं सह्दय दुवैलाई महत्त्वपूर्ण सहयोग पुग्ने कुरामा दुई मत छैन
। कवि सम्प्रदायको उपर्युक्त यही मान्यतालाई आत्मसात् गर्दै दशरूपककार धनञ्जयले सुन्दर
वा घृणित, उदार अथवा नीच, उग्र वा प्रसन्न, गम्भीर अथवा विकृत कुनै पनि ढंगको
कुनै पनि वस्तु संसारमा छैन, जसलाई कविको भावना प्राप्त भएपछि, रसभावलाई प्राप्त गर्न नसकोस् भन्दै काव्यको विलक्षणतालाई काव्यात्मकरूपमा यसरी
प्रतिपादन गरेका छन् -
‘रम्यं जुगुप्सितमुदारमथापि नीच -
मुग्रं प्रसादि गहनं विकृतं च
वस्तु ।
यद्वाप्यवस्तु कविभावकभाव्यमानं
तन्नास्ति यन्न रसभावमुपैति लोके
।।’
सन्दर्भग्रन्थ सूची
- आनन्दवर्धन, ध्वन्यालोक, वाराणसी स् ज्ञानमण्डल लिमिटेड, वि.सं. २०१९ ।
- धनञ्जय, दशरूपक, च.सं., वाराणसी स् चौखम्बा विद्या भवन, वि.सं. २०२९ ।
- मिश्रः, केशवः, अलङ्कारशेखरः, काव्यमाला ५०, मुम्बई स् निर्णयसागर प्रेस, इ.सं. १८९५ ।
- विश्वनाथ, साहित्यदर्पण (तृतीय खण्ड), सम्पा. प्रो. योगेश्वरदत्त शर्मा, दिल्ली स् नाग पब्लिसर्स, इ.सं. २००० ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्