नेपाली कवितामा लय विधान
सह प्रा. वंशीधर कट्टेल
पिण्डेश्वर विद्यापिठ
नेपाली कवितामा लयात्मकता चार प्रकारको देखिएका छन् । विक्रमको
२० औं शताब्दीदेखि पद्यको प्रबलता पाइन्छ । २१ औं शताब्दीदेखि गद्य कविताको प्रारम्भ
भएको पाइन्छ । शताब्दीको सङ्क्रमण कालमा गद्य कविताका प्रथम
प्रयोक्ताका रूपमा गोपाल प्रसाद रिमाल देखापर्छन् । यद्यपि चेष्टा भने यसभन्दा पहिले
नै भैसकेको छ । मुख्यतया गद्य कविता लयात्मकतामा
समृद्ध भएको हुन्छ । लयमा पनि दुई भेद
देखिन्छन् :-
क) अनुशासित लय (ख) मुक्त लय ।
क) अनुशासित लय
अनुशासित लय भन्नाले लयको परिपाटी अनुसारको मात्रा बुझिन्छ तर
मुक्तलय अनुशासनदेखि नै मुक्त भएको हुन्छ । उन्मुक्त लय गद्य कवितादेखि सुरु हुन्छ
। अनुशासित लय दुई भागमा विभक्त छ :-
(क) वार्णिक (ख) मात्रिक
(क) वार्णिक लय
वार्णिक लय भन्नाले वर्ण वा अक्षरको आधारमा चलाएको अनुशासन पद्धति
बुझिन्छ । यहाँ मात्राको गणना हँदैन । अतः वार्णिक लयको सम्बन्ध लोकलयसँग हुन्छ । नेपाली
लोकलयमा जे जति साहित्य लेखिएका छन् ती सबै वार्णिक लयलाई अपनाएर लेखिएका छन् ।
उदाहरणको रूपमा देवकोटा द्वारा सृजित मुनामदन खण्डकाव्यलाई लिन सकिन्छ । वर्णको मात्रा
वास्ता गरिने हुँदा ह्रस्व दीर्घ संयुक्त मात्राको निर्वाह यसमा हँुदैन । यसलाई आजको
भाषामा झ्याउरे लय पनि भनिन्छ । प्रारम्भमा यसलाई
झ्याम्रे पनि भनिन्थ्यो । वार्णिक लयमा दुई पाउ हुन्छन् । एक पाउमा पूरा १६ अक्षर हुन्छन् भने दुई ठूला बिश्राम
यसमा देखिन्छन् । साना–साना यति भने क्रमशः ३+२=५,
३+२=५, र ३+३=६ अक्षरमा हुन्छन् । बालकृष्ण पोखरेलज्यूको भाषामा विर्की, दुर्वा, तिर्की दुर्वा, तिर्की, तिर्की वा पञ्जा, पञ्जा छक्का लोकलयको वार्णिक आकृति सङ्ख्या हो । लयात्मक
अनुशासनको अन्त्य सुगम क्षेत्र लोकलय हो । लोक छन्दमा थोरै अनुशासन र उन्मुकतता बढी हुन्छ ।
(ख) मात्रिक छन्द
मात्रिक छन्द प्रायः चार चरणमा देखापर्छन् भने लोक छन्द दुई
चरणमा । मात्रिक छन्दका चार पाउमध्ये समवृत्त र विषम वृत्त बराबर हुन्छन् । प्रत्येक पाउमा मात्राको महत्त्व हुन्छ । लघु गुरुको प्रयोग
हुन्छ । अक्षर धेरै थोरै र बराबर पनि हुन्छन् । तर मात्रा भने बराबर हुनुपर्छ । मात्रिक
छन्दको खास महत्त्व पनि मात्रामा नै रहन्छ । लिखित रूपमा मात्रा छन्दको प्रयोग नेपाली साहित्को माध्यमिक
कालमा बढेको पाइन्छ । यसपछि लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ आदि स्वच्छन्दतावादी कविहरू मात्रिक छन्दका प्रबल अनुयायी देखिन्छन्
। देवकोटाको यात्री कविता यसको उदाहरण हो । यसका चरण चरणका मात्राको सङ्ख्या १६+१४, १६+१४ हुन्छ भने यति भने यत्र तत्र देखिन्छन् । मात्रिक छन्दको प्रयोगका प्रथम
र तृतीय चरणको मात्राको सङ्ख्या बराबर र दोस्रो र चारौँ चरणका मात्रको सङ्ख्या बराबर
हुन्छ । अक्षर वा वर्णको कम वेशीले केही गर्दैन । खाली मात्राको गणनामा चुक्नु हुँदैन
। लोक छन्दमा पनि परिष्कृत नमूना या बढी अनुशासन पूर्ण कुनै–कुनै रचना देखिन्छन् । कवि शिरोमणि लेखनाथ
पैड्यालको पिञ्जराको सुंगा परिष्कृत लोक छन्दको
नमूना हो । परिष्कृत लोक छन्दमा अनुशासनको मात्रा बढेको हुन्छ । संगीतको समृद्धिपनि
तीव्रतर छ तर अभिव्याक्तिको उन्मुखतता भने खुम्चिएको हुन्छ ।
वार्णिक र मात्रिक भेदपछि एउटा अर्को भेद देखिन्छ, जसलाई अनुशासनको चरम सीमा भनिन्छ–त्यो हो वर्णमात्रिक । अनुशासनको कडा बन्देज भएर पनि यसमा संगीतात्मकताको तीव्रताको
पर्वाह गरिएकै हुन्छ । जसलाई कविहरू शास्त्रीय
छन्द भन्छन् । गद्य कवितामा वर्ण वा मात्राको यति उति भन्ने सीमा हुँदैन वा अनुशासन
हुँदैन, त्यसैले गद्य कवितालाई उन्मुक्त लय पनि भनिन्छ । नेपाली कवितामा मात्रिक छन्दको लामो युग छैन । अरम्भमा यसको प्रयोग कथ्य
भाषामा हुन्थ्यो । आदिकवि भानुभक्त आचार्यदेखि कविशिरोमणि लेखनाथ पौड्याल सम्मका कवितामा
हामी कथ्य भाषामै मात्रिक छन्दको प्रयोग भएको पाउँछौঁ । भानुभक्तले मात्रिक छन्दको
प्रयोग गरे पनि लेख्य आधारलाई स्वीकार गरेका छैनन् । किन्तु लेखनाथसम्म आइपुग्दा कविता
व्याकरणिक नियमको दाम्लाले बाँधिएर अनुशासित बन्दछ । सर्वप्रथम वर्ण र मात्राको कडा
बन्धन, अनि व्याकरणद्वारा निर्देशित भाषालाई मात्र अङ्गालेर कविता लेख्नु धेरै कठिन कुरा
हो । यस किसिमको कविता मार्ग लेखनाथ पौड्याल जस्ता तीव्र प्रतिभाशाली कविका निम्ति
मात्रा अत्याज्य भयो, अन्य वर्गका कविका निम्ति त किन अत्याज्य हुन्थ्यो ? त्यसैले नेपाली कविताको इतिहासमा वर्णमात्रिक कविताको त्यति लामो इतिहास छैन ।
यसप्रकार नेपाली कवितामा लय मोटामोटी
रूपमा निम्नलिखित दुई प्रकारका देखिन आउँछन् ः (१) उन्मुक्त लय (२) अनुशासित
लय
(क) उनमुख लय गद्य कविताको लय हो । जागृत भएर पनि अनियमित (अ–अनुशासित ) रूपमा बनेको लय उन्मुक्त लय हो । लयात्मक तीव्रतालाई अङ्गालेर पनि अनुशासनको
बन्धनलाई अस्वीकार गर्नु गद्य कविताको विशेषता हो । नागबेलीपनलाई छोडेर तीव्रतम लयको
अडान अडानमा बग्न थालेको हुन्छ गद्य कविता । उपयुक्त लयमा पनि दुई भेद देखा पर्छन्ः (१) ठोस अनुशासनमा न बाधिएपनि
मात्रिक छन्दको निकटम भएको । (२) उन्मुक्त
(पूर्णतः लयात्मक नियमितता देखि पृथक) लयात्मक अनुशासनको परिपाटीलाई
नअङ्गाल्दा नअङ्गाल्दै पनि मात्रिक छन्दको नजीक नजीक पुगेका । जसमा देवकोटा र रिमालका
कवितालाई लिन सकिन्छ । रिमालका कवितामा लयात्मक अनुशासनको पूर्ण पालन भएको पाइँदैन
तर मात्रिक छन्दको नजिक नजिक पुगेका देखिन्छन् भने देवकोटाका कतिपय कविता पनि यस्तै
यस्तै किसिमका रहेका छन् ।
गद्य र पद्यको सीमाक्षेत्र कविता हो । गद्यात्मकतातिर
उन्मुख गद्य कविता र पद्यात्मकतातिर उन्मुख पद्य कविता वा मात्रिक छन्दका निकटवर्ती
अथवा लयात्मक उन्मुक्ततालाई अङ्गालेर पनि पद्यात्मकतातिर उन्मुख भयो भने त्यो पद्यात्मक
र लयात्मकतालाई अङ्गालेर पनि गद्यात्मकातिर झुकाब भएको कविता गद्य कविता हो । वर्णको
अनुशासन पद्यात्मक अनुशासनको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । मुनामदन जस्ता काव्यहरू
यसै अन्तर्गत पर्छन् । यिनमा लयात्मक नियमितता वर्र्णमा आधारित हुन्छ । मात्रिक छन्दमा
चाहि मात्राको सङ्ख्याको आधारमा लयको नियमितता हुन्छ । वर्णको निर्वाह हुँदैन । साधारण
र परिष्कृत गरी दुई भेदमा विभाजित मात्रिक छन्द मध्ये परिष्कृत बढी अनुशासित हुन्छ, जस्तो पिञ्जराको सुँगा । साधारणमा चाहिँ यात्री कवितालाई लिन सकिन्छ । कवितामा
देखिने अर्को लय विशिष्ट लय पनि हो । यसका दुई भेदमध्ये एउटामा अभिव्यक्तिको उन्मुक्तता
(स्वच्छन्दता र सहजता) र सङ्गीतात्मकताको न्यूनता गद्य कविता पर्छ भने अर्कोमा चाहिँ
सङ्गीतात्मकताको समृद्धता र अभिव्यक्तिको न्यूनता, जसमा वर्णमात्रिक छन्द पर्छ ।
प्रतिभा सम्पन्न कविले गद्यमा पनि तीव्र सङ्गीतात्मकता भर्न सक्छ र पद्यमा पनि अभिव्यक्तिको
प्रखरता प्रदान गर्न सक्छ । गद्य कवितामा अभिव्यक्तिको स्वच्छन्दता छ भने पद्य वर्णमात्रिक
छन्दमा अभिव्यक्ति गर्ने सीमा हुन्छ । अनुशासित लयमा अनुभूतिलाई सहज अभिव्यक्त गर्न
कम सम्भावना देखिन्छ । तर व्यवहारमा भने प्रतिभाशाली कविले अनुशासित लयमा पनि मुक्त
कण्ठले अभिव्यक्ति गरिरहेकै हुन्छ ।
सन्दर्भग्रन्थहरू
– उपाध्याय, प्रा. केशवप्रसाद विचार र व्याख्या, साझा प्रकाशन २०४०, ललितपुर ।
– त्रिपाठी, प्रा. डा. वासुदेव, सह प्रा. दैवज्ञराज न्यौपाने, सह प्रा. केशव सुवेदी, नेपाली कविता भाग १, साझा प्रकाशन (सातौँ संस्करण) २०६४, ललितपुर (सह सम्पादन) ।
– राकेश, डा. रामदयाल नेपाली कविता ः विभिन्न
आयाम, साझा प्रकाशन ललितपुर (प्रथम संस्करण) २०४४ ।
– जोशी, कुमारबहादुर, कविता चर्चा, साझा प्रकाशन (प्रथम संस्करण) २०४० ।
प्रतिक्रिया व्यक्त गर्नुहोस्