Header Ads

वर्तमान समाजमा पुराणको आवश्यकता

मधुसूदन भट्टराई
उप–प्राध्यापक
१. पृष्ठभूमिः
वेदमा वर्णन भएका विषयहरूको विस्तृत रूप पुराणमा रहेको छ । त्यसैले विषयगत दृष्टिले पुराण र वेद एकै हुन भन्न सकिन्छ । परन्तु वेद र पुराणमा धेरै भिन्नता रहेको छ । वेद ऋषिमुनि तपस्वी र द्विज समुदायमा प्रतिष्ठित रहेको पाइन्छ भने पुराणहरू सबै जनमानस र नरनारीका लागि रहेको पाइन्छ । वेद ऋषि, मुनि, तपस्वी, साधकका लागि मात्र उपयोगी छ भने पुराण जो कोहीलाई पनि उपयोगी छ । पुराण मानवजीवनको मार्ग हो । त्यही मार्गबाट मानिसले आपूmलाई सन्मार्गमा लग्दछ । त्यसर्थ मानिसले पुराणको अध्ययन गर्नु पर्ने देखिन्छ वा पुराणको आवश्यकता वर्तमान समाजमा रहेको छ । पुराणले बताएका विषयवस्तु अनुसार नै मानव जीवनको कालचक्र देखिन्छ । यसलाई कपोलकल्पित नभनी आवश्यकताका रूपमा लिनु पर्ने हुन्छ । जुन पुराणमा नै भनेका विषयवस्तु अनुसार पुष्टि हुन आउँछन् ।
२. व्युत्पत्ति
पुराण शब्दको व्युत्पत्ति प्राचीन ग्रन्थहरूमा प्रशस्तै मात्रामा गरेको पाइन्छ । पुराणमा पुराण शब्दको व्युत्पत्तिको आधार पाणिनि, यास्क, तथा वेद पुराणमा उल्लेख भएकालाई नै मानिएको छ । जुनले प्रमाणित गरेका केही व्युत्पत्ति निम्न छन् ।
क. पाणिनि – पुरा भवम्
(सांयंचिरप्राह्वेप्रगेभ्यष्टयुट्युलौ तुट् च )
(पूर्वकालैक–सर्व–जरतपुराणनव केवला समानाधिकरणेन )
(पुराणप्रोक्तेषु ब्राहण कल्पेषु )
ख. यास्क – पुरा नवं भवति (निरुक्त ३।१९)
ग. वायुपुराण – यस्मात्पुरा ह्मनन्तीदं पुराणं तेन चोच्यते । निरुक्तमस्य यो वेद सर्वपापैः प्रमुच्यते ।। ४१.५५ ।।
घ. पद्म पुराण – पुरा परम्परा बष्टि पुराणं तेन तत् स्मृतम् ।। पद्म –५।२।५३
ङ. ब्रéाण्डपुराण – पुरा एतत् अभूत अर्थात्
यस्मात् पुरा ह्मभूचैतत् पुराणं तेन तत् स्मृतम् ।
निरूक्तमस्य यो वेद सर्वपापैः ..... (ब्रéाण्ड –१।१।१७३।।
च. ऋग्वेदं भगवोùध्येमि यजुर्वेदं सामवेदाथर्वणमितिहासपुराणं पञ्चमं वेदानां वेदम् । छान्दोग्यो..।।७।१।। )
यसरी पाणिनीले आप्mना तीन सूत्रबाट, यास्कले निरूक्तबाट ,पुराणले पद्यबाट र वेदले आप्mनो ऋचाबाट पुराणको व्युत्पत्ति गरेको पाइन्छ तर पुराणको व्युत्पत्ति माथि उल्लेख गरेको मात्र होइन सम्पूर्ण महापुराण, पुराण, उपपुराण र औपपुराणका अष्टादश संख्याले ७२ पुराणमा, ऋग्वेदको लगभग १८ ठाउँमा यसका अतिरिक्त अन्य विविध शास्त्रहरूमा पुराणको व्युत्पत्ति गरेको पाइन्छ । पाणिनिको भनाइमा प्राचीनकालमा जुन जीवित थियो, पद्मपुराणले जसले परम्पराको कामना गर्दछ , ब्रह्माण्डपुराणले प्राचीन कालमा यस्तो भयो , जस्ता विभिन्न व्युत्पत्ति पुराणवेदादिमा उपलव्ध छ । पाणिनीको व्याकरण, यास्को निरूक्त, व्यासका पुराण, अपौरूषेय वेदमा उल्लेख भएका व्युत्पत्ति निराधार छैनन् । सबै आफ्ना ठाउँमा उपयुक्त र सान्दर्भिक छन्, त्यसैले पुराणको व्युत्पत्ति यही नै हो भनेर किटान गर्न असम्भव छ वा यो व्युत्पत्ति नै उपयुक्त व्युत्पत्ति हो भन्न सक्ने अवस्था छैन । त्यसैले सबैमा उल्लेख भएका व्युत्पत्तिको आशय प्राचीनकालमा भएको वास्तविक तस्बिर भन्न सकिन्छ । अर्थात् पुरा, परम्परा, प्राचीन भएर पनि सदासर्वदा नयाँ रहनेलाई पुराण भन्न सकिन्छ जुनमा इतिहास मिश्रित अवश्य रहेको
हुन्छ ।
३. वेद र पुराणः
मानिस जति बुद्धिमान भए पनि भ्रमको सम्भावना सधैं रहन्छ । त्यसैले मानवले सिर्जना गरेका ग्रन्थ पढेर निभ्र्रान्त र पूर्ण हुन सक्दैन । वेद कुनै पनि मानवको रचना
होइन । ईश्वरको निश्वासबाट निस्किएको स्वर हो भनिन्छ । उक्त ईश्वरबाट सर्वप्रथम ब्रéाले ज्ञान प्राप्त गरे । ब्रéावाट ऋषिमुनि तपस्वीमा ज्ञान प्राप्त भयो अनि गुरुशिष्य परम्पराका माध्यमद्वारा मानव समुदायमा ज्ञान आइपुगेको हो । त्यसैले वेदलाई ज्ञानको साधन भनिन्छ । प्राचीनकालमा द्विजबालकहरूले उपनयसंस्कारपछि ब्रéचर्यपूर्वक गुरुका गृहमा रहेर लामो समयसम्म वेदको अध्ययन गर्दथे । वेदको अर्थलाई जान्नको लागि शिक्षा–कल्प–व्याकरण, निरूक्त–ज्यौतिष–छन्द आदि छ शास्त्रको अध्ययन गर्दथे । त्यही त्याग, तपस्या, साधना र निरन्तरको अभ्यासले वेदको वास्तविक अर्थ खुल्दथ्यो । अतः निष्काम भावनापूर्वकको वैदिक अनुष्ठानले अन्तःकरण निर्मल हुन्छ त्यही निर्मलतामा वास्तविक ब्रéज्ञान लुकेको हुन्छ त्यसको अभावमा वेदको ज्ञान गर्न सकिदैन महाभाष्यकार पतञ्जलिमुनिको भनाई यहाँ सान्दर्भिक देखिन्छ –“ब्राéणेन निष्कारणं षडङ्को वेदोध्येयो ज्ञेयश्च ।” व्यास , वाल्मीकि जस्ता महर्षिहरूले अलौकिक तपस्या गरेर ईश्वरको अनुकम्पा पाएर वा वेदको वास्तविक ज्ञान पाएर जनसाधारणका लागि पुराण रामायण महाभारतादिको सिर्जना गरेका हुन । वेदको गूढ अर्थ ईश्वरमा निहित छ । ईश्वर भनौं वा वेद भनौं त्यो एउटै हो । भनिएको पनि छ –
इतिहासपुराणाभ्यां वेदं समुपबृंहयेत् ।
सम्पूर्ण ज्ञानको साधन ईश्वरमा लुकेको हुन्छ । ईश्वरको साधनाबाट मात्र मानिसले ज्ञान प्राप्त गर्दछन् । वेद त्यसैले सबैका लागि सुलभ छैन पुराणका माध्यमद्वारा वेदमा पुग्न सकिन्छ । पुराणमा मानवोपयोगी सम्पूर्ण कुराहरूको सविस्तार वर्णन छ ।
विस्तराय च वेदानां स्वयं नारायण प्रभु स् ।
व्यासरूपेण कृतवान् पुराणानि महीतले ।। पुराणार्णवे ।।
४. पौराणिक विषय
पुराणको महत्व विभिन्न दृष्टिबाट बुझिन्छ । वेद, ब्रह्मा र पुराणमा अन्तरसम्बन्ध छ । वेद ईश्वरीय रूप हो भने ब्रह्मा दृश्यरूप हुन् । ब्रह्मा पछि पुराणको जन्म भयो जसमा सृष्टि प्रक्रियादेखि मृत्यु हुँदै मोक्षपर्यन्तको वर्णन छ । पुराणहरू मानवोपयोगी ग्रन्थ हुन । मानवको जीवनमा आवश्यक हुने सम्पूर्ण पक्षको वर्णन पुराणमैं अन्तनिर्हित छ । पुराणमा धार्मिकता, सामाजिकता, राजनीति, इतिहास, तीर्थ, भूगोल आदि सबै पक्षको गूढ रहस्य रहेको छ । पुराणमा उल्लेख नभएका कुरा सायद अन्यत्र छैनन् । वेदले निर्देश गरेका र पुराणमा व्याख्या भएका विषयलाई केवल मन्त्रसंग जोडेर हेर्ने गरिएको छ । त्यसरी हेरिएता पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पुराण भन्दा भिन्न मानवजीवन रहेको छैन । पुराणमा वर्णन भएका विभिन्न कथाहरूले समाजलाई व्यवस्थित बनाउँदै आएका हुन् । महर्षि दधिची, राजा शिव, मोरध्वजका कथा र घटनाहरूले समाजमा उपकारको भावना सिर्जना गरेका छन् । सत्यवादी हरिश्चन्द्र र महाराज युधिष्ठिरका चरित्रगाथाले सत्यनिष्ठाको वातावरण बनाएका छन् । बलि र कर्णको उपाख्यानले दानको महिमालाई विस्तार गरेका छन् । वशिष्ठ, अगस्त्य, च्यवन जस्ताको कथाले अद्रोहको मार्गलाई प्रतिस्थापित गरेका छन् । अनसूया, सतीसीता, सावित्री, दमयन्ती, नर्मदा, सुकन्या र सुलोचना जस्ता सतीहरूको आख्यानले पवित्र आचरण र पतिव्रता धर्मको सञ्चार गरेका छन् । यसरी सामाजिक साङ्ग्लोको रूपमा पुराण प्राचीनकालदेखि नै रहँदै आएको छ । यसले ज्ञान विज्ञानको क्षेत्रलाई व्यापक वा विस्तृत बनाउंदै आएको कुरा सबैमा विदितै छ । सत्यं वदः धर्म चर जस्ता उपदेशात्मक वाक्यद्वारा समाजलाई व्यवस्थित गर्दै आएको सत्य जति लुकाउन खोजे पनि लुक्न सक्दैन । पुराण केवल वेदको वर्णन मात्र होइन , यसमा मानवजीवनमा आइपर्ने सम्पूर्ण पक्षको विवेचना र विश्लेषण रहेको छ –
      सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि च । वंशानुचरितं चैव पुराणं पञ्च लक्षणम् ।।
पुराणमा यिनै पाँच लक्षणलाई सन्निवेश गरिएको छ । धर्म, अर्थ, काम, मोक्ष चार पुरूषार्थ नै पुराणको वास्तविकता हो । यिनै चार पुरूषार्थ नै मानवजीवनका लागि अनिवार्य तत्व हुन । महर्षि वेदव्यासले अष्टादश महापुराणलाई एउटै श्लोकद्वारा पुष्टि गरेका छन् ।
     अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम । परोपकार स् पुण्याय पापाय परपीडनम् ।।
पुराणमा यदि दृढ निष्ठाको खोजी गर्ने हो भने मर्यादा पुरूषोत्तम भगवान रामको आदर्श चरित्र र जीवन वैशिष्ट्यले आजको मानव जीवनलाई ठूलो शिक्षा दिएको छ । जनमतको ख्याल गर्दै आप्mनी परमप्रीया धर्मपत्नी सती सााध्वी सीतालाई परित्याग गरेको वर्णन, पैतृक अनुशासनको आदर्शलाई स्थापित गराउनका लागि चक्रवर्ती साम्राज्यलाई सहर्ष त्याग गर्ने राम जस्ताको चरित्र आज पाउन मुस्किल छ । सदाचारको स्थापनाका लागि दूराचारी अधिनायकवादी चरित्र भएको रावणलाई मार्ने राम जस्ता सत्पुरूषको गाथा पुराणमैं वर्णित छ । यस्तो नैतिक, सामाजिक, चारित्रिक, धार्मिक, व्यवहारिक आदर्श भएको नीतिमूलक ग्रन्थ आज पाउँन सकिंदैन । भनिन्छ रामराज्यको शासन व्यवस्था र चरित्र भूमण्डलमा अव कदापि उपलब्ध हुने छैन । रामराज्यको शासनव्यवस्थालाई स्वयं व्यासले यसरी उल्लेख गरेका छन् । –न पुत्रमरणं कोचिद्रामे राज्यं प्रशासति ।
यसरी नै दीर्घायु मार्कण्डेय, राजा दिलीपको पवित्र चरित्र र गोभक्तको आदर्श पुराणमै पाइन्छ । यस्ता विविध चरित्रको मन्दाकिनी भएको ग्रन्थ विश्वसाहित्यमै पाउन दुर्लभ छ ।
५. पुराणका मुख्य विषय
पुराणमा आस्तिक दर्शनको सिद्धान्तलाई निरूपण गरिएको छ । सांख्य योग, वेदान्त दर्शनलाई त पुराणमा बिशेषरूपले विवेचना गरिएको छ । व्याकरण, साहित्य, छन्द, ज्यौतिष, निरूक्त, शिक्षा, कल्प, आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद, स्थापत्यवेद, राजनीति, समाज, धर्माङ्क आदिको विषयवस्तु पुराणमैं रहेको छ । त्यसैले पुराण विश्व साहित्यको विश्वकोष हो भन्दा अत्युक्ति हुदै्रन । लौकिक विषयवस्तु मात्र नभएर पारलौकिक मार्गको सही निर्देश गरेको शास्त्र यदि खोज्ने हो भने त्यो पुराण नै हो । आधुनिक वैज्ञानिकहरूका लागि चतुर्दश लोक, त्यहाँ बस्नेहरूको आयु , आहार, विहार र त्यहाँ भएको कालमानको निश्चित वर्णन पुराणमैं उपलब्ध छ ।
६. पुराणका साधन
 मानवजीवनको प्रमुख लक्ष्य भनेको भगवत् प्राप्ति हो । भगवत् प्राप्तिका साधन पुराणमा नै छन् । निष्काम कर्म, स्वर्ग प्राप्तिका मार्ग पुराणमा छन् । पुराणमा ज्ञान, कर्म र भक्तिको पूर्ण वर्णन पाइन्छ । आबाल, वृद्ध नरनारीको समान लाभ पुराणमा पाइन्छ । पुराणमा अद्भूत औषधी र समस्या समाधानको वर्णन छ । सांसारिक ताप भएका प्राणीलाई प्रबोध, अन्धकारमा गएकालाई प्रकाश, पथभ्रष्टलाई कर्मज्ञान, पापीलाई पापनाशका साधन, नीतिविशारदका लागि नीति, भक्तलाई भक्ति, भ्रान्तहरूलाई सन्मार्ग, निराशहरूलाई आशाज्योति, शोकसन्तप्तलाई शान्ति , ज्ञानीलाई ज्ञान, जस्ता विभिन्न उपायहरू पुराणमा छन् । पुराणमा नभएको कुरा अन्यत्र पाउन सकिदैन ।
७. निष्कर्ष
पुरा नवं भवति इति पुराणम् यो पुराणको व्युत्पत्तिले नै सिद्ध गरिसकेको छ । यसमा पुरानो होइन युगानुकूलका विषयवस्तु छन् । ज्ञान, कर्म, भक्ति, विश्वास, यज्ञ, दान, तप, यम, नियम, संयम, सेवा, दया, दाक्षिण्य, वर्णाश्रमधर्म, पुरुषधर्म, मानवधर्म, सदाचार, सदुपदेश जस्ता कुराहरू पुराणबाट सिर्जना भएका हुन् । यिनी कहिल्यै पुराना हुंदैनन् । भुगोल, सृष्टिक्रम, प्रलय जस्ता विषय पनि पुराणमा छन् । यिनै नियम र विधि अनुसार सांसारिक चक्र चलिरहेको छ । जन्म, मरण, मोक्ष जस्ता पुराणले बताएका विषयवस्तु अनुसार नै मानवजीवनका अतिरिक्त सिंगो संसार क्रियाशील भएको हुँदा पुराणको अध्ययनको आवश्यकता वर्तमानकालमा अति नै छ ।
Powered by Blogger.